Monday, January 20, 2025
घरसमाचारसल्बलाए रक्तचन्दन तस्कर

सल्बलाए रक्तचन्दन तस्कर

६ माघ, काठमाडौं । लामो अन्तरालपछि गएको मंगलबार प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट चार क्वीन्टल ३१ किलो बराबरको अवैध रक्तचन्दन बरामद गर्‍यो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दनसहित सिन्धुपाल्चोकका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिना र काठमाडौंको कलंकीका ४१ वर्षीय रमेश थापालाई समेत नियन्त्रणमा लियो ।

माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेदेखि शान्तिकालका सुरुवाती वर्षहरूमा दिनहुँजसो तस्करीका रक्तचन्दन बरामद हुन्थे । पछिल्लो १० वर्षयता भने अवैध रक्तचन्दन बरामद हुने क्रम ह्वात्तै घटेको थियो ।

यस्तोमा हालै काठमाडौंमा समातिएको रक्तचन्दन परिणामका हिसाबले यो वर्षको सबैभन्दा उच्च हो । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी विश्व अधिकारीका अनुसार, प्रहरीले बरामद गरेको यो रक्तचन्दनको अन्दाजी बजार मूल्य ६६ लाख ३९ हजार ९८६ रुपैयाँ पर्न आउँछ ।

प्रहरीले यसअघि गत वर्ष १४ असोज २०८० मा कपिलवस्तुबाट ६ क्वीन्टल ६३ किलो १५० ग्राम रक्तचन्दन बरामद गरेको थियो । अन्दाजी १ करोड ६३ हजार रुपैयाँ बजार मूल्य पर्ने रक्तचन्दन बरामद गर्दा प्रहरीले ८ जनालाई समातेको थियो ।

कपिलवस्तु प्रहरीले लु. २च १६३९ नम्बरको जीप र ना. ५ख ७३८२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर रक्तचन्दन बरामद गरेको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, पछिल्लो पाँच वर्षमा काठमाडौं र कपिलवस्तुभन्दा अघि ८ भदौ २०८० मा रसुवामा १५० ग्राम र १९ मंसिर २०७७ मा ललितपुरमा २२ किलो ६६ ग्राम रक्तचन्दन बरामद भएको थियो ।

यो पृष्ठभूमिका आधारमा पछिल्लो समय बरामद रक्तचन्दनलाई ठूलो परिणाममध्येको मान्नुपर्ने अनुसन्धान अधिकृतहरू बताउँछन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार, पेप्सीकोलाबाट बरामद रक्तचन्दन जुटको बोरामा १२/१३ वटा पोका पारेर ल्याइएको थियो ।

‘वीरगञ्जको नाकाबाट अवैध रक्तचन्दन नेपाल प्रवेश गराएको हुनसक्ने प्रारम्भिक सोधपुछमा खुलेको छ,’ उनले भने, ‘बोराको माथिपट्टी पनि केही सामानहरू राखेर लुकाएर ल्याएको हुनसक्ने देखिन्छ ।’

अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार, रक्तचन्दनसहित पक्राउ परेकामध्ये रमेश थापाको रक्तचन्दन कारोबारमा प्रत्यक्ष संलग्नता खुलेको छ ।

‘उनी लामो समय भारतमा बसेको देखिन्छ, त्यहीँ छँदा चिनजान भएको रक्तचन्दन कारोबारीले उनलाई सामान पठाएको देखिन्छ,’ उनले भने, ‘थापालाई काठमाडौंसम्म सामान ल्याएर तोकिएको व्यक्तिलाई हस्तान्तरण गरेवापत करिब ६ लाख रुपैयाँ दिने सहमति गरिएको देखिन्छ ।’

प्रहरीका अनुसार, पक्राउ पर्नुभन्दा १० दिन पहिल्यै उनले काठमाडौंमा रक्तचन्दन ल्याइसकेका थिए । तर, आपसमा भएको विवादका कारण थापाले पेप्सिकोला बस्ने तिमल्सिनाको घरमा रक्तचन्दन भण्डारण गरेर राखेको हुनसक्ने देखिएको आचार्य बताउँछन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको रक्तचन्दन ।

‘तिमल्सिनासँग उनको लेनदेन पनि रहेछ, त्यो सामान बुझाएपछि पैसा आउने र बल्ल आफूले चुक्ता गर्न सक्ने भनेकाले घरमा राख्न दिएको थापाले प्रारम्भिक बयानमा भनेका छन्,’ उनले भने, ‘थापाले भनेअनुसार त्यो सामान चिनियाँ नागरिकलाई बुझाउने जिम्मेवारी उनलाई रहेछ ।’

प्रहरीका अनुसार, आर्थिक कारोबारमा समस्या परेपछि केही वर्षअघि थापा भारततिर भागेका थिए । त्यसक्रममा उनी रक्तचन्दनको अवैध कारोबार गर्नेहरूसँग नजिकिएका थिए । तर, काठमाडौं फर्किँदा फेरि लेनदेनकै विवाद हुँदा रक्तचन्दन कारोबारको सूचना प्रहरीसम्म पुग्यो र उनी हिरासतमा पुगेका छन् ।

प्रारम्भिक बयानमा खुलेअनुसार, भारतीय धनीले रक्तचन्दनवापत पैसा पाइसकेका थिए भने चिनियाँले काठमाडौंबाट सामान लिने भनिएको थियो । भारतदेखि नेपालसम्मको भरियाको भूमिकामा थापा थिए ।

दक्षिण भारतमा सामुन्द्रिक सतहबाट एक हजार मिटरसम्मको उचाइमा रक्तचन्दन पाइन्छ भने धार्मिक महत्वका कारण चीनमा यसको बढी प्रयोग हुने गरेको छ । वनस्पतिविज्ञ डा. मित्र पाठकका अनुसार, चीनमा फर्निचर निर्माणका लागि समेत रक्तचन्दन प्रयोग हुने गर्छ ।

‘चीनमा घरमा रक्तचन्दनको फर्निचर हुनुलाई शानको रूपमा लिइन्छ,’ उनी भन्छन्, ‘यो दुर्लभ भएकाले पनि बढी मूल्य पर्ने हो ।’ चीनमा रक्तचन्दनलाई छिङ वंशको पालामा अत्यधिक महत्व दिइएको इतिहास छ भने त्यसबेलाका सम्राटहरूले प्रयोग गर्ने रक्तचन्दनको कुर्सीलाई अहिले पनि बेइजिङको ‘हल अफ सुप्रिम हार्मोनी’मा राखिएको छ ।

कतिपय चिनियाँहरूले रक्तचन्दनलाई औषधीय गुण भएको वस्तु मान्छन् भने चीनका बौद्ध धर्मावलम्बीहरूले ग्रन्थ पढ्ने टेबल बनाउनलाई पनि रक्तचन्दन प्रयोग गर्ने गर्छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक उत्तमराज सुवेदीका अनुसार, रक्तचन्दन भारतमा पाइने र यसको खपत चीनमा हुने भएकाले नेपाल त्यहाँसम्म पुर्‍याउन रुटका रूपमा मात्र प्रयोग हुने गर्छ ।

माओवादी द्वन्द्वको समयमा राजमार्गमा प्रहरी जाँच एकदमै कम भयो, सुरक्षा निकाय खुम्चिएको अवस्थामा रक्तचन्दन तस्करी उत्कर्षमा पुग्यो

‘नेपालमा रक्तचन्दनको खासै प्रयोग हुँदैन, यसको बजार चीन नै हो,’ उनी भन्छन्, ‘द्वन्द्वको समयमा नेपालबाट रक्तचन्दनको तस्करी उत्कर्षमा थियो ।’

पछिल्लो दशकमा रक्तचन्दन तस्करहरूप्रति प्रहरीको बढ्दो नजर, नेपाल रुट प्रयोग गर्दा हुने जोखिमसँगै पास गराउन लाग्ने लगानी बढेकाले यसमा संलग्नले बंगलादेश, भुटान वा अन्य रुट प्रयोग गरेको हुनसक्ने उनको विश्लेषण छ ।

प्रहरी अधिकृतहरूका अनुसार, द्वन्द्व उत्कर्षमा पुगेका बेला कतिपय माओवादी लडाकुहरू समेत रक्तचन्दन कारोबारमा संलग्न देखिएका थिए ।

‘खासमा जतिबेला रक्तचन्दनको तस्करी एकदमै उत्कर्षमा थियो, त्यतिबेलासम्म प्रहरीदेखि धेरैलाई रक्तचन्दन के हो भन्ने नै थाहा थिएन,’ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘अझ द्वन्द्वको समयमा सडकमा धेरै प्रहरी जाँच पनि हुन्थेन, सुरक्षा निकाय खुम्चिएको अवस्थामा तस्करी एकदमै मौलाएको थियो ।’

यस्तो स्थितिमा कुनै बेला गृह प्रशासनको नेतृत्वदेखि प्रहरी अधिकृतहरू समेतको संलग्नतामा तस्करी भएको जानकारहरू बताउँछन् ।

‘कुनै बेला गणेश लामा, सत्यमान लामा लगायत गुण्डागर्दीमा संलग्न व्यक्तिहरूले रक्तचन्दनका गाडीहरू एस्कर्ट नै गरेर सीमा नाकासम्म पुर्‍याउँथे,’ एक अनुसन्धान अधिकृत सम्झन्छन्, ‘सुरुमा यसमा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) सँग आबद्ध व्यक्तिहरू जोडिएका थिए ।’

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि रक्तचन्दन कारोबारमा अन्य राजनीतिक दल पनि जोडिन थालेको ती अधिकृत बताउँछन् । रक्तचन्दन कारोबारीको नेक्सस प्रहरी र राजनीतिक दलसम्म मात्र सीमित थिएन ।

एकपटक चीनसँग सीमा क्षेत्रमा पर्ने धुन्चेमा कार्यरत् नेपाली सेनाका एक प्रमुख सेनानी रक्तचन्दन कारोबारीलाई सहयोग गरेको आरोपमा जंगीअड्डाबाट काराबाहीमा परेका थिए ।

२०६८ सालमा रक्तचन्दन कारोबारको मामला अपहरण र फिरौती असुलीसँग  पनि जोडिएको थियो । प्रहरीका अनुसार, भक्तपुरका नेत्रबहादुर श्रेष्ठ रक्तचन्दन कारोबारको विवादमा अपहरित भएका थिए । पछि आरोपी पक्राउ परेका बेला एउटा समूहले रक्तचन्दन लुकाएपछि अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको भेटिएको थियो ।

‘राजनीतिक नेतृत्वको बुझाइ पनि कस्तो थियो भने कतिपय खुलेआम नेपालमा न खपत न उत्पादन छ, बजार पनि चीन नै भएकाले किन रोक्नु पर्‍यो भन्थे,’ पूर्वएआईजी भण्डारी भन्छन्, ‘यस्तोमा यो तस्करीसँगै अन्तरदेशीय अपराध, गुण्डागर्दी लगायतका कुराहरू पनि जोडिएर आउँछन् भन्ने बुझाउनै समय लाग्यो ।’

वन तथा भूसंरक्षण विभागका अनुसार, नेपालमा पहिलो पटक ७ साउन २०६२ मा सिन्धुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले रक्तचन्दन बरामद गरेको थियो । त्यसयता २०७१ सालसम्ममा २ लाख ४७ हजार ४८ केजी रक्तचन्दन बरामद भएको तथ्यांक छ ।

‘२०७१ सालयता भने रक्तचन्दनको बरामदी स्वात्तै घटेको छ, सानो सानो परिणाममा कहिले तेल बनाएर त कहिले फर्निचरका सामान बनाएर तस्करी गर्ने कोशिश भएको भेटिएको थियो,’ पूर्वएआईजी सुवेदी भन्छन्, ‘यसले तस्करहरूले रक्तचन्दन लैजान वैकल्पिक माध्यम परीक्षण गरिरहेको हो कि भन्ने देखाउँथ्यो ।’

तस्करहरूले सिन्धुपाल्चोक, गोरखा, देलखा लगायतका जिल्लाका पुराना सीमा नाकालाई प्रयोग गरेर तस्करी गर्ने प्रयाससमेत गरेका थिए ।

२०७४ को चैतमा काठमाडौं प्रहरीले दिल्लीबाट काठमाडौं आएको टुरिस्ट बसमा फल्स बटम बनाएर ल्याएको ११ किलो रक्तचन्दन बरामद गरेको थियो ।

‘बझाङ, मुस्ताङ लगायतका क्षेत्रमा पनि रक्तचन्दन समातिएको सुनिएको हो, जसले उनीहरूको नजर नेपालका ऐतिहासिक नाकाहरूमा थियो,’ पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘पछि ती नाकामा पनि प्रहरीको नजर बढेपछि तस्करीमा संलग्नहरूले जोखिम महसुस गरेको हुनसक्छन् ।’

नेपाल १८ जुन १९७५  मै ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)’को पक्ष राष्ट्र बनिसकेको थियो ।

रक्तचन्दन साइटिसको अनुसूची २ मा सूचीकृत वनस्पति थियो । अनुसूची २ मा ‘लोप हुने स्थितिमा पुगी नसकेको तर तिनको व्यापारलाई समयमा नियमन र नियन्त्रण नगर्दा निकट भविष्यमा लोप हुनसक्ने’ प्रजातिलाई समावेश गरिएको छ ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुंगानाका अनुसार, यस्ता वनस्पतीलाई उत्पति मुलुकको प्रमाणपत्र बिना अन्तरदेशीय ओसारपसार गर्न बन्देज छ । साइटिसको अनुसूची २ मा सम्बन्धित राष्ट्रको वैज्ञानिक निकायले त्यस्ता प्रजातिको निकासीबाट अस्तित्वमा खतरा छैन भनेको अवस्थामा मात्र इजाजत दिन सकिने भनिएको छ ।

‘भारतमा रक्तचन्दन इजाजतबिनै आउने हुँदा रक्तचन्दनको कारोबार प्रतिबन्धित हो,’ ढुंगाना थप्छन् ।

जानकारहरूका अनुसार, रक्तचन्दन बरामद हुने क्रम बढेसँगै यसबारे सर्वत्र प्रचार हुन थाल्यो, त्यसक्रममा जिल्ला–जिल्लामा प्रहरी युनिटहरूले कारबाही अघि बढाए ।

‘त्यसपछि रक्तचन्दन कारोबारीले नेपालको रुटलाई कम गर्न थालेको हाम्रो विश्लेषण हो,’ एक प्रहरी अधिकृत भन्छन्, ‘रक्तचन्दनको काम कम हुन थालेपछि यसको नेक्ससमा संलग्न नेपाली व्यक्तिहरू सुन तस्करीमा समेत जोडिन थालेका थिए ।’

यद्यपि, एक दशकपछि अहिले तस्करहरू पुनः नेपाली रुटबाट चीनसम्म रक्तचन्दन पुर्‍याउन सकिन्छ कि भनेर प्रयास गर्न थालेका छन् । यस्तोमा अहिले देखापरेका संकेतहरूलाई सुरक्षा संयन्त्रले गम्भीर रूपमा लिनुपर्ने जानकारहरू बताउँछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -