Tuesday, January 7, 2025
घरसमाचारनिजी क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिन्छ :...

निजी क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीजि क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताउनु भएको छ । पोखरामा बिहीबार देखि सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ को उद्घाटन गर्दै उहाँले कोभिड पछि देशको खस्कँदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने बताउनु भएको हो । 

नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा नीजि क्षेत्र सँगको साझेदारीमा पर्यटनको क्षेत्रमा सरकारले काम गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उहाँले बताउनु भयो । समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो । पोखरा क्षेत्रमा आयोजना हुने मेला र महोत्सवले यस क्षेत्रको आर्थिक अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउने गरेको उहाँको भनाई थियो । विभिन्न उद्देश्यले आयोजना हुने मेला तथा महोत्सवले स्थानीय उत्पादन र स्थानीय उद्योग व्यापारको प्रबद्र्धन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । 

लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखराको डाडाँनाकमा उक्त महोत्सव सुरु भएको हो । महोत्सवमा विभिन्न व्यापारिक ३ सय ३६ वटा स्टलहरू रहेको संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताउनु भयो । आउँदो माघ १ गते सम्म सञ्चालन हुने महोत्सवको उद्घाटनको अवसरमा बिहीबार विभिन्न जनजातिहरूको भेषभुषामा झाकी सहित र्‍याली प्रदर्शन गरिएको थियो ।  

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवमा २ लाख ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ भने करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जनाउनु भयो । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने आयोजकले जनाएको छ । 

सङ्घले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उहाँको भनाई थियो । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरूको प्रदर्शनी एवं बिक्री गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न महोत्सवले थप मद्दत पुग्ने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले बताउनु भयो । राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरू महोत्सवमा हुदैछन । 

रत्यौली गीत प्रस्तुती, ख्याति प्राप्त कलाकारहरूबाट दैनिक प्रस्तुती, सुगम सङ्गीत, लाइभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरूको रुपमा प्रस्तुती हुदैछन् । महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिँदै आएको र उत्पादक र उपभोक्ताहरूलाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्नु भएको छ । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -