Wednesday, January 8, 2025
घरसमाचारसबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ

सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको बताउनुभएको छ । 

लमजुङ बेँसीसहर नगरपालिका–७ मा तमु ल्होसार २०८१ का अवसरमा तमु ह्युल छोंज धीं लमजुङको आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले २०६२÷६३ सालको आन्दोलनपछि नयाँ संविधान निर्माण गर्दै मुलुकलाई धर्म निरपेक्ष राज्य बनाएको बताउनुभयो । सबैले एक अर्काको धर्म संस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

मन्त्री गुरुङले सहकारीको वर्गीकरण हुनुपर्ने उल्लेख गर्दै सहकारी नियमनकारी बनाएर सरकार अघि बढ्ने बताउनुभयो । सहकारीले निश्चित ठाउँमा मात्रै कारोबार गर्न पाउनेगरी नियमनकारी गठन गरेर तोक्ने उहाँको भनाइ थियो । स्थानीय तहमा सञ्चालन गर्ने, स्थानीय तहमा दर्ता, प्रदेशमा सञ्चालन हुने प्रदेशमा र केन्द्रमा सञ्चालन हुने सहकारी केन्द्रमा दर्ता भएर मात्रै सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो । 

सहकारीमा दोषी देखिए जो कोहीलाई पनि कानुनी कारबाही हुने मन्त्री गुरुङले बताउनुभयो । संविधान संशोधन प्रमुख ठूला दलहरूको सहमतिमा हुने सरकार प्रवक्तासमेत रहनुभएका उहाँले बताउनुभयो । गाउँगाउँमा सबै जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कार्यमा सरकार लागिपरेको उहाँको भनाइ थियो । 

सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्ने उल्लेख गर्दै मन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्न सकेमा देशको अरबौँ रुपैयाँ राजस्व बचत हुने बताउनुभयो । 

नेपालमा हुलाक टिकटसमेत आफ्नो प्रेसमा छाप्न सकिएको अवस्था नरहेको भन्दै मन्त्री गुरुङले वर्तमान सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर आफ्नै प्रेस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।  

प्रेस सञ्चालनमा देखिएका समस्या र अवरोधहरूलाई समाधान गरेर सरकारले यसलाई छिट्टै प्रक्रियामा लैजाने मन्त्री गुरुङले बताउनुभयो । प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेमा हुलाक टिकट, लेबल–स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र, राहदानी, बैङ्क नोट छाप्न विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । नेपालीका लागि आवश्यक छपाइसँग जोडिएका सबै नेपालमै हुने गरी प्रेस सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले यस्ता चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउने बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -