५ पुस, काठमाडौं । पछिल्लो एक महिनामा सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण साढे २५ अर्ब रुपैयाँले घटेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत कात्तिकको तुलनामा मंसिरमा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो महिना (कात्तिक) सम्म २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ थियो ।
एक महिनामै सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा ६२ अर्ब ४५ करोड बराबर खर्च गरेको छ । ऋण प्राप्तिभन्दा भुक्तानी बढी हुँदा यस महिना सार्वजनिक ऋण आकार घटेको कार्यालयको तथ्यांकले देखाएको छ ।
मंसिर मसान्तसम्म १ खर्ब ७० अर्ब ५९ करोड बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी भएको छ । कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा–ब्याज तिर्न १ खर्ब ८ अर्ब १४ करोड खर्च भएको थियो । मंसिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको तथ्यांक छ ।
मंसिर मसान्तसम्मको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपातमा ४३.६९ प्रतिशत कायम हुन पुगेको देखिन्छ । कात्तिक मसान्तसम्म जीडीपी अनुपातमा सार्वजनिक ऋण ४४.१४ प्रतिशतमा उक्लिएको थियो । मंसिरसम्म आन्तरिक ऋण जीडीपीको २१.३४ प्रतिशत र वाह्य ऋण जीडीपी अनुपातमा २२.३५ प्रतिशत छ ।
कति पुग्यो सार्वजनिक ऋण ? (मंसिर मसान्तसम्म)
- आन्तरिक ऋण : १२ खर्ब १७ अर्ब ६६ करोड
- वाह्य ऋण : १२ खर्ब ७४ अर्ब ७४ करोड
- कुल : २४ खर्ब ९२ अर्ब ४१ करोड
- पाँच महिनामा थपियो ५८ अर्ब ३१ करोड
चालु आव पहिलो पाँच महिनामा सार्वजनिक ऋण ५८ अर्ब ३१ करोड रुपैयाँ थप भएको छ । २०८०÷८१ को अन्त्यसम्म सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो । यसबीच सरकारले १ खर्ब ९२ अर्ब २९ करोड नयाँ ऋण लिएको छ ।
उक्त अवधिमा १ खर्ब ४४ अर्ब बराबर साँवा भुक्तानी भएको छ । विनिमय दरमा आएको परिवर्तनबाट १० अर्ब ५७ करोड रुपैयाँ दायित्व थपिएको छ । यस प्रकार चालु आव पहिलो पाँच महिनामा ५८ अर्ब ३१ करोड सार्वजनिक ऋण थप भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाएको छ । आन्तरिक ऋण भुक्तानीमा भने १ खर्ब २७ अर्ब २४ करोड खर्च भएको छ । अर्थात्, ऋण तिर्न पुनः ऋण उठाउनुपर्ने बाध्यता दोहोरिएको छ ।
यस अवधिमा वाह्य ऋण २८ अर्ब २९ करोड रुपैयाँ प्राप्त भएको छ । वाह्य ऋण भुक्तानीमा भने १७ अर्ब ३१ करोड खर्च भएको देखिएको छ । विनिमय दरमा आएको परिवर्तनका कारण वाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएको कार्यालयले जनाएको छ ।
चालु आव सरकारले ५ खर्ब ४७ अर्ब बराबर ऋण लिने लक्ष्य राखेको छ । जसमा आन्तरिक ऋण लक्ष्य ३ खर्ब ३० अर्ब र वाह्य ऋण लक्ष्य २ खर्ब १७ अर्ब छ । मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड अर्थात् लक्ष्यको ३५.१५ प्रतिशत उठाइसकिएको छ ।
उठेको मध्ये आन्तरिक ऋण लक्ष्यको ४९.७० प्रतिशत र वाह्य ऋण १३.०४ प्रतिशत छ । लक्ष्य अनुसार सार्वजनिक ऋण उठाउन बाँकी सात महिनामा सरकारले ३ खर्ब ५४ अर्ब उठाउनु पर्छ ।
चिन्ता ऋण भुक्तानीमा बढ्दो खर्च
सार्वजनिक ऋण भुक्तानीमा भइरहेको ठूलो खर्चले सरकारलाई भने स्रोत व्यवस्थापनमा ठूलो चाप परेको देखिन्छ । सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा पाँच महिना अवधिमै १ खर्ब ७० अर्ब ५९ करोड खर्च गरिसकेको छ ।
यस वर्ष ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । जुन पूँजीगत खर्च लक्ष्यभन्दा पनि बढी हो । पाँच महिनामा आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड र ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड खर्च भएको छ ।
यस अवधिमा वाह्य ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३१ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ ।
यसवर्ष कुन महिना कति लिइयो सार्वजनिक ऋण ?
- साउन : ४५ अर्ब ५९ करोड
- भदौ : ६० अर्ब ४७ करोड
- असोज : ३१ अर्ब ४ करोड
- कात्तिक : ३३ अर्ब ९६ करोड
- मंसिर : २१ अर्ब २३ करोड