२०८२ बैशाख ६ गते, शनिबार ०४:०६

oplus_2

जनकपुरधाम । नेपालको ऊर्जा क्षेत्रको विकासमा एशियाली विकास बैङ्कले गरेको योगदानबाट सञ्चालित रहेको विभिन्न योजनाहरूको फोटो सहितको प्रदर्शनी जनकपुरधाममा आजबाट शुरु भएको छ । 

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा शुरु भएको फोटो प्रदर्शनी ६ दिनसम्म चल्नेछ । फोटो जर्नालिष्ट क्लबको आयोजनामा शुरु भएको फोटो प्रदर्शनीमा नेपालको विद्युत् विकासमा एशियाली विकास बैङ्कले गरेको लगानीबाट सञ्चालनमा रहेको विभिन्न योजनाहरू र विद्युत् विकासले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा परेको सकारात्मक प्रभावहरू सहितको विषय समेटिएको फोटोहरू प्रदर्शनी स्थलमा राखिएको हो । 

फोटो प्रदर्शनीको उद्घाटन गर्दै मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले एशियाली विकास बैङ्कले नेपालका विद्युत् क्षेत्रको विकासमा गरेको लगानीका कारणले मुलुकको आर्थिक तथा सामाजिक विकासमा ठूलो मद्दत पुगेको बताउनु भयो । 

उहाँले मुलुकमा अहिले ९८ प्रतिशत भू–भागमा विद्युत् सेवा विस्तार भएपछि जनताको जनजीवन सहज बन्नुको मुलुकको आर्थिक विकासमा योगदान पुगेको बताउनु भयो । अर्थमन्त्री यादवले एशियाली विकास बैङ्क नेपालको प्रमुख आर्थिक साझेदार संस्था भएकाले मुलुकको अन्य क्षेत्रको विकासमा पनि ठूलो योगदान रहेको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरधामको शहरी विकासमा एशियाली विकास बैङ्कको ठूलो योगदान रहेको बताउँदै जनकपुरधामको शहरी विद्युतीकरणको सुधार तथा खानेपानीको समस्या समाधानका लागि लगानी गर्न आग्रह गर्नु भयो ।  

एशियाली विकास बैङ्कका अर्थ विद् यान हेन्सनले नेपालको विद्युत् विकास तथा वितरणमा एशियाली विकास बैङ्कले ठूलो लगानी गरेका कारणले नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो मद्दत पुगेको बताउनु भयो । 

उहाँले मधेश प्रदेशमा विद्युतको सुधारका लागि हेटौडा–ढल्केवर प्रसारणलाईको विस्तार तथा सुधारका लागि बैङ्कले लगानी गरेको बताउँदै यसले गरिबी निवारणमा मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । 

फोटो जर्नालिष्ट क्लबका अध्यक्ष द्वारिका काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले नेपालको विद्युत् सहित अन्य क्षेत्रको विकासमा एशियाली विकास बैङ्कको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्