कांग्रेस सहमहामन्त्री जीवन परियार र एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी
१२ मंसिर, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी तालमेलको प्रयास गरेका छन् । यसका लागि केन्द्रीय नेताहरू नै स्थानीय तहमा पुगेर छलफल अघि बढाएका हुन् ।
चुनावी तालमेलको प्रयास गर्न नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र नेकपा एमालेका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी सर्केगाड गाउँपालिकामा पुगेका हुन् । परियार र बोगटीले स्थानीय नेताहरूसमेतको उपस्थितिमा बुधबार बिहान छलफल गरेका थिए । तर, कसरी तालमेल गर्ने भन्ने ठोस निर्णय भने भएको छैन ।
गाउँपालिकाको उपाध्यक्षका लागि सात जना उम्मेदवार छन् । कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाँचा बुढा उम्मेदवार छन् । रामशरा खड्का र नरेश शाही स्वतन्त्र उम्मेदवार छन् ।
कांग्रेस र एमाले दुवैले एक अर्कोको उम्मेदवार फिर्ता हुनुपर्ने माग राखेको छ । बुधबार बिहान यही विषयमा रहेर छलफल गरे पनि ठोस निर्णय हुन नसकेको हो ।
सर्केगाडमा ठूलो दल भएकोले आफूहरूको उम्मेदवारलाई एमालेले सहयोग गर्नुपर्ने कांग्रेस नेताहरूको तर्क छ । तर, एमालेले कांग्रेसको प्रस्ताव स्वीकार गर्न मानेको छैन ।
संविधान सभा सदस्य समेत रहेकी नेपाली कांग्रेसकी नेतृ रीता शाही तालमेलको विषयमा दुवै पार्टीका नेताहरू छलफल चलिरहको बताउँछिन् । उनका अनुसार दुवै पार्टीको केन्द्रले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्ने तयारी छ ।
एमाले नेताहरू पनि छलफल चलिरहेको बताउँछन् । गाउँपालिका अध्यक्षमा कांग्रेस रहेकाले उपाध्यक्षका लागि एमालेलाई छोड्नुपर्ने एमाले नेताहरूको तर्क छ । हाल गाउँपालिका अध्यक्षमा कांग्रेसबाट निर्वाचित ठानबहादुर रोकाया छन् ।
२०७९ सालमा कांग्रेस र माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए । त्यसबेला गठबन्धनबाट कांग्रेसका रोकाया अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्ष कार्कीको गत भदौ ४ गते सुर्खेतबाट नेपालगन्जका लागि छुटेको गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
यस्तो छ जनमत
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाएका थिए । एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी थिइन् ।
अध्यक्षमा कांग्रेसका रोकाया ३ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत पाएकी थिइन् ।
आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जितेका थिए ।
२०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो ।
त्यसबेला १ हजार ९ सय २० मतका साथ माओवादीका कृष्ण रोकाय विजयी हुँदा कांग्रेसका मंगलबहादुर शाही पराजित भएका थिए । शाहीले १ हजार ७ सय ७५ मत प्राप्त गरेका थिए ।
२०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा हुँदै आएको छ ।
(हुम्लाबाट नरजन तामाङको सहयोगमा)