काठमाडौंस्थित राहदानी विभागमा सेवा लिन पुगेका सेवाग्राहीहरू
९ मंसिर, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका, ढिकुरपोखरीका श्रीहरि पौडेल राहदानीका लागि फोटो खिचाएर निवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय पुगे । प्रशासन पुगेपछिमात्रै उनलाई थाहा भयो, सबै काम रोकिएको रहेछ ।
त्यहीँ पुगेपछि मात्रै उनले सिस्मले काम गरेकोबारे जानकारी पाए । यसबारे समयमै जानकारी नहुँदा आफू प्रशासन कार्यालयसम्म पुग्न परेको पौडेलको गुनासो छ।
उनले थाहा पाए, सिस्टमले काम नगरेको भन्दै राहदानीका सबै काम रोकिएको रहेछ । समयै सूचना नपाउँदा जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु परेको गुनासो उनको थियो ।
पौडेलजस्तै अन्य केही सेवाग्राही आइतबार राहदानीसँग सम्बन्धित विभिन्न कामका लागि पुगेका थिए । तर, केन्द्रीय विभागबाटै भएको सर्भर डाउनको समस्या कास्कीमा पनि उस्तै थियो ।
आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत लगिएको थियो । जतिबेला जिप्रका पनि निषेधित क्षेत्रभित्रै पर्यो । निषेधित क्षेत्रबाहिरै सवारी साधन रोकेर बल्लतल्ल प्रशासन कार्यालय पुगेका सेवाग्राहीले सास्ती खेप्नपरेको भन्दै दुःखेसो पोखेका छन् ।
राहदानी विभागबाटै सिस्टम नचलेको सूचना जारी भएको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीले भने वेबसाइटमा सूचना राखेको छैन । कार्यालयका सूचना अधिकारी शिव लम्सालका अनुसार विभागले निकालेको सूचना कार्यालयमा टाँसिएको छ । तर, त्यो सार्वजनिक नहुँदा सेवाग्राहीले दु:ख पाएको हुन सक्ने बताउँदै अब बेवसाइटमा पनि राखिने उनको भनाइ छ ।
राहदानीका लागि अनलाइन फारम फरेर फोटो खिचाउन र विद्युतीय हस्ताक्षर गरेर पेश गर्न सेवाग्राही प्रशासन कार्यालय पुग्छन् । विभागकै कारण कास्कीमा पनि राहदानी वितरणदेखि फोटो खिचाउनेसम्मका सबै काम ठप्प भएको प्रमुख जिल्ला अधिकारी भरतमणि ढकालले बताए ।
विभागले १० गतेभित्र सबै समस्या समाधान गर्ने बताएकाले छिटै समस्या हल हुने ढकालले बताए । सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले विभागको सिस्टममा समस्या आएका कारण राहदानी वितरण रोकिएको र खुल्नासाथ क्रमश वितरण हुने जानकारी अनलाइनखबरलाई दिए ।
कात्तिकमा मात्र २ हजार २२४ राहदानी काठमाडौंबाट छापिएर कास्की प्रशासन आइपुगेका छन् । जसमध्ये अहिलेसम्म १ हजार ६६३ राहदानी वितरण भइसकेको छ भने अझै ४ सय ५१ वटा राहदानी वितरण गर्न बाँकी छ ।
मंसिरमा भने राहदानी छपाइ भएर आएको छैन । पछिल्लो समय राहदानीका लागि पेश गरेको ७ देखि बढीमा १० दिनसम्म छापिएर आइपुग्ने प्रशासनले जनाएको छ ।