९ मंसिर, काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । केही जिल्लामा त मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
आयोगका अनुसार २ लाख ५९ हजार मतपत्र छापिएको छ । मतपत्र छाप्ने काम शनिबार सम्पन्न भएको छ ।
उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको छ । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् ।
सेतो रङको पृष्ठभूमिमा रातो रंगका अक्षर र चुनाव चिह्न मतपत्रमा प्रयोग गरिएको छ । उम्मेदवार संख्याको आधारमा प्रत्येक पालिकामा चुनाव चिह्नको संख्या फरक-फरक छन् ।
कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् । सबैभन्दा माथिल्लो लहरमा क्रमशः नेकपा एमालेको, नेपाली कांग्रेसको, माओवादी केन्द्रको र राप्रपाका चुनाव चिह्न छन् ।
सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षको चुनावको लागि तयार पारिएको मतपत्रमा छन् । त्यहाँ माओवादी र एमाले-काग्रेस गठबन्धनको मात्रै प्रतिस्पर्धामा भएकोले दुईवटा चिह्नमात्रै छन् । त्यहाँको मतपत्रमा रुख र हसियाँ हथौडा चिह्नमात्रै छ । कांग्रेससँग तालमेल गरेको एमाले रुख चिह्नमा चुनाव लडेको छ ।
४१ पदका लागि ३७६ जना उम्मेदवार उपनिर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।
उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।
ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।
यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।