८ मंसिर, काठमाडौं । जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीच संवाद विषयक दुइदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य शाश्वतसभा नेपाल, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल तथा श्री चैतन्य शास्वत संस्था पश्चिम बङ्गाल भारतको आयोजना र अक्षरा स्कुलको सहआयोजना सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई हाम्रो अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा प्रदान गर्ने हुने विश्वास व्यक्त गरे । ‘वेदान्त दर्शनले जीवनलाई एक दिव्य र आध्यात्मिक अभिव्यक्ति मान्दै यसको शाश्वत दृष्टिकोण एकअर्काका पूरक एवं यिनको बीचको समन्वयले जीवनको गहिरो रहस्यलाई उजागर गर्छ । यस सम्मलनले यस कार्यमा थप मद्दत पुर्याउने विश्वास छ’, नगरप्रमुख कार्कीले भने ।
अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले सनातन संस्कृतिभित्रका अनुकरणीय विषयलाई विज्ञानसँग जोडेर चिन्तन र मनन् गर्ने प्रमुख उद्देश्यका साथ सम्मेलन सुरु भएको बताइन् । उनले नयाँ पुस्तामा सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नहुँदा हाम्रो पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएको जिकिर पनि गरिन् ।
नयाँ पुस्तामा मूर्तिको पूजा गरेर मात्रै हुँदैन, आफूभित्रको ब्रम्हको पहिचान गरेर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको भट्टराईको भनाइ थियो । ‘संस्कारयुक्त शिक्षाको दर्शनलाई सिकाइसँग जोडेर लैजान आवश्यक छ । यसका लागि हामीले विगत १५ वर्षदेखि प्रयास गरिरहेका छौँ । हाम्रो देश नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमिमा अध्यात्म र विज्ञानलाई जोडेर लैजान सम्मेलनले ऊर्जा थपेको छ’, उनले भने ।
सम्मेलनमा डा भक्ति निष्काम सन्त महाराजले जैविक र रासायनिक प्रक्रियाको आधारमा जीवनको उत्पत्ति र विकास भएको सन्दर्भ उल्लेख गर्दै प्राकृतिक चयन र अनुकूलन, डार्बिनको विकासवादी सिद्धान्त, उत्परिवर्तनको सिद्धान्तलगायत विभिन्न सिद्धान्तले यसको पुष्टी गरेको बताए ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, श्रीलङ्कालगायत विभिन्न राष्ट्रका ३० जनाभन्दा बढी प्रतिष्ठित वैज्ञानिक र आध्यात्मिक चिन्तक एवं विज्ञ प्राध्यापकले कार्यपत्र प्रस्तुत गर्ने र सहभागीबीच आवश्यक छलफल गरी निष्कर्ष निकाल्ने कार्यतालिका छ ।