काठमाडौं । अभिनेता विजय बराल यतिबेला सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को सफलताको सेलिब्रेसनमा ब्यस्त छन् । पहिलो लिड फिल्मको रुपमा यसले उनलाई अनपेक्षित सफलता दिलाएको छ ।
‘पूर्णबहादुरको सारंगी’को जादुमयी सफलतापछि उनी तत्काल अर्को फिल्म गरिहाल्ने पक्षमा छैनन् । कम्तीमा केही समय उनी फिल्म होइन, नाटकमा ब्यस्त हुनेछन् । ‘मलाई केही समय रिचार्जका लागि समय आवश्यक छ । यसका लागि मेरो रुट मण्डला थिएटरमा नाटकमा ब्यस्त हुन्छु । केही समय फिल्म गर्दिन’ अनलाइनखबरसँग उनले भने ।
यो फिल्मको सफलतापछि अब के हुन्छ भनेर आफूले तत्काल नसोचिसकेको उनले बताए । सम्भवतः उनी आगामी दिनमा कसरी अघि बढ्ने र कस्ता फिल्म गर्ने भनेर योजना बनाउने तयारीमा छन् । यसका लागि उनी केही महिना फिल्मबाट विश्राम लिन चाहन्छन् ।
‘केही समय नाटकमा ब्यस्त हुन्छु । यसका लागि ३–४, ४–५, ५–६ महिना लाग्न सक्छ । त्यतिञ्जेल नाटकमा समय दिन्छु’ उनले भने । उनले आगामी फिल्ममा पारिश्रमिकमा समेत वृद्धि गर्ने बताए ।
नाजिरले निर्देशन गर्ने नाटक ‘हरि हजुरबा’मा उनी ब्यस्त हुनेछन् । यसमा नाजिर र विजयको अभिनय हुनेछ । यसको निर्माण दयाहाङ राईले गर्नेछन् । मंसिर मध्यदेखि पुस मध्यसम्म मञ्चन हुने यो नाटकको रिहर्सल केही दिनमा सुरु हुने नाजिरले बताए ।