सर्लाही । जिल्लाको बरहथवा बजारमा रहेको किराना पसलमा गएराति भएको आगलागीबाट ठूलो क्षति भएको छ ।
बरहथवा नगरपालिका–७ मा नरेश साहले सञ्चालन गर्दै आएको किराना पसलमा आगलागी भएको हो । आगलागीबाट झण्डै तीन करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार नरेशले किसुन दासको घरमा भाडामा लिई पसल सञ्चालन गर्दै आएका थिए ।
दासको घरमा आगलागी हुँदा त्यस घरमा नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल,सरोज राउत कुर्मीको कपडा सिलाउने टेलर र विजय दासको आलु भण्डारमा ठूलो क्षति भएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी, र हरिवन नगरपालिकाबाट लगिएको दमकलको सहयोगमा आगो निभाइएको थियो । राति ११ बजेबाट सल्केको आगो निभाउन झण्डै २ घण्टा लागेको प्रहरीले जनाएको छ ।
प्रनाउ थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री स्टोर गरेर राखिएकाले आगलागीबाट उक्त पसलमा बढी क्षति पुगेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।