वीरगंज/ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त राखी सवारी दुर्घटना न्यूनिकरणमा तदारुकताका साथ अघि बढ्नु पर्ने ट्राफिक प्रहरी व्यवसायिक जिम्मेवारी भन्दा अवैध असुली अभियानमा संलग्न भएपछि पर्सा जिल्लामा सवारी चालकहरु आतंकित बन्न पुगेका छन् ।
खासगरी ड्राइपोर्ट, परवानीपुर, गण्डक, पावरहाउस र नयाँ बसपार्क क्षेत्रमा ट्राफिक प्रहरी बिटका प्रमुखहरुको आतंकका कारण सवारी चालकहरु आतंकित भएका छन् भने यी क्षेत्रमा ट्राफिक व्यवस्थापन सहि ढंगले नगरिंदा सवारी दुर्घटना बढ्दै गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै प्राप्त पछिल्लो तथ्याङ्कअनुसार दशैं अवधिमा मात्र अर्थात २०८१ असोज १७ गते घटस्थापना देखि कार्तिक १ गते पूर्णीमा सम्म १५ दिनको अवधिमा मात्र पर्सामा ट्रक ट्यांकर २, टिपर १, बस १, जिप १, ट्याक्टर १, मो.सा. ३२, टेम्पो,४ साईकल ३ गरी ३१ वटा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भयो भने ५ जना गम्भीर घाइते भए । त्यस्तै ५१ जना घाइते भएका छन् ।
यत्ति मात्र नभई चालु आर्थिक वर्षको तीन महिना भित्र कमजोर ट्राफिक व्यवस्थापनका कारण पर्सा जिल्लामा भएको २५४ वटा सवारी दुर्घटनामा परी आठ जना पुरुष एक महिला र एक बालिका गरी १० जनाले अकालमै ज्यान गुमाएका छन् भने १६ जना सख्तसहित २८८ जना घाइते भए ।
तर ड्राइपोर्ट, परवानीपुर जस्ता ठूला सवारी साधन चल्ने सडक खण्ड लगायत दैनिक हजारौँ गाडीको ओहोर दोहोर हुने गण्डक पावर हाउस र बसपार्कमा खटिएका ट्राफिक प्रहरीका इन्चार्जहरुले चालकहरुलाई अनेक बहाना र दुःख दिई अवैध असुली गर्ने गरेको स्वयं चालकहरुले बताउने गरेका छन् ।
सबभन्दा बढी मालबाहक १६ चक्के गाडी निस्किने ड्राइपोर्ट जहाँ एकीकृत जाँच चौकीबाट ओभरलोड गरेर भारतीय सवारीहरु विभिन्न उद्योग तर्फ लाग्छन् तिनीहरुसँग सो क्षेत्रमा रहेका ट्राफिक प्रहरीले स्वयं र बिचौलीयामार्फत अनावश्यक दुःख दिई अवैध रकम लिने गरेको र भारतीय सवारी चालकहरुले गुनासो गरेका छन् । त्यस्तै परवानीपुरस्थित ट्राफिक प्रहरीले समेत विभिन्न उद्योगबाट निस्किने सवारी साधनबाट ओभरलोडको बहानामा पैसा असुल्ने गरेको चालकहरुको गुनासो रहेको छ ।
वीरगंजको ड्राइपोर्टमा यतिबेला ट्राफिक प्रहरीका सहायक निरीक्षक राम सहाय यादव छन् भने परवानीपुरमा प्रहरी नायब निरीक्षक भीम बोहरा कार्यरत छन् । त्यस्तै गण्डकमा ट्राफिक प्रहरी सहायक निरीक्षक वीर बहादुर यादव छन् भने बसपार्कमा प्रसनि बलराम चौधरी छन् ।
ट्राफिक प्रहरी सहायक निरीक्षक राम सहाय यादव असुली धन्दामा पारंगत हासिल गरेकाले आफ्नो माथिल्ला दर्जाका हाकिमलाई मिलाएर पटक पटक कमाउ अड्डा मानिएको ड्राइपोर्ट र परवानीपुरमा इन्चार्ज पाउँदै आएका छन् । त्यस्तै बसपार्कमा रहेका असइ बलराम चौधरी यसअघि ड्राइपोर्टमा रहँदा त्यस्तै असुली अभियान संचालन गरेको विभिन्न संचारमाध्यममा समाचार आएपनि पैसा खुवाएर कारवाहीबाट जोगिएको उनले आफ्ना निकटतम व्यक्तिहरुलाई भन्दै हिंडेको सुनिन्छ ।
ट्राफिक प्रहरी कार्यालयमै अर्का बदनाम प्रहरी सहायक निरीक्षक छन् लालबाबु सहनी । सहनी केही वर्ष अघि वीरगंजमा हुँदा यातायात कार्यालयको लाइसेन्स सेटिङ्गमा पैसा खाएको समातिएपछि निलम्बित भएका थिए । निलम्बन फुकुवापछि प्रसनि सहनी केही समय जिल्ला बाहिर बसेर हाल फेरी पनि ट्राफिक प्रहरी कार्यालय पर्सामै आएर यातायात कार्यालयमा हुने लाइसेन्सको ट्रायलमा सेटिङ्ग मिलाउने जिम्मेवारी हासिल गरेको बताइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा केही समय अघि मात्र इन्चार्ज बनि आएका इमान्दार छविका ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टलाई समेत बदनाम गर्ने गरी ड्राइपोर्टका प्रसनि यादव, परवानीपुरका प्रनानि बोहरा, गण्डकका यादव, बसपार्कका चौधरी र जिल्लामै बसेर लाइसेन्स ट्रायल कब्जा गरेका सहनीको कृयाकलापबारे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रनि भट्ट बेखबर हुनुले पनि अनेक प्रश्न उब्जिएको छ ।