Saturday, January 18, 2025
घरक्राइम चेकरङ्गशालाको स्तरोन्नत्तिकालागि सबै पक्षको सहकार्य आवश्यक: मन्त्री यादव

रङ्गशालाको स्तरोन्नत्तिकालागि सबै पक्षको सहकार्य आवश्यक: मन्त्री यादव

वीरगंज/सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले नारायणी रङ्गशालाको स्तरोन्नति कार्यलाई प्रभावकारी बनाउन स्थानीय र सङ्घीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

आइतबार रङ्गशालाको अनुगमन भ्रमणका क्रममा मन्त्री यादवले युवा प्रतिभाहरूको विकास र खेलकुदको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवर्द्धन गर्नका लागि खेल पूर्वाधारलाई समयमै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

मन्त्री यादवले अनुगमनका क्रममा पर्सा क्रिकेट सङ्घ र अध्यक्ष मनिष सिंहको निरन्तर प्रयासको उच्च प्रशंसा गर्नुहुँदै क्रिकेट र अन्य खेलकुदलाई प्रवर्द्धन गर्न गरिरहेको योगदानको कदर गर्नुभयो । उहाँले भन्नुभयो, “नारायणी रङ्गशालाको विकासमा मनिषजी र पर्सा क्रिकेट सङ्घको भूमिका महत्त्वपूर्ण छ । आगामी दिनमा सरकारले थप सहयोग र स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध छ ।”

मन्त्री यादवले नारायणी रङ्गशालाको स्तरोन्नतिमा मुख्य अवरोध बनेको मुआब्जा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । केही दिन अघि मात्रै मन्त्री यादवले खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेट गरी मुआब्जा विषय छिटो टुङ्ग्याउन आग्रह गर्नुभएको थियो ।

“रङ्गशालाको प्रगति रोकिएको कारण केवल निर्माण मात्र होइन, यससँग सम्बन्धित प्रशासनिक अवरोधहरूलाई पनि समयमै समाधान गर्न जरुरी छ,” मन्त्री यादवले भन्नुभयो ।

उहाँले नारायणी रङ्गशालाको मुद्दालाई सांसदमार्फत बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको कुरा पनि स्मरण गराउनुभयो । “खेलकुद क्षेत्रको विकासले युवाहरूमा आशा र अवसर सिर्जना गर्ने भएकाले यो आयोजना छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध छ,” उहाँले थप्नुभयो ।

वीरगंज महानगर प्रमुख राजेशमान सिंहले नारायणी रङ्गशालाको विकासलाई वीरगञ्जको खेलकुद इतिहासको महत्त्वपूर्ण परिवर्तनको रूपमा व्याख्या गर्नुभयो । उहाँले रङ्गशालाको स्तरोन्नतिले क्रिकेट र अन्य खेलहरूका लागि उत्कृष्ट मञ्च तयार पार्नाका साथै स्थानीय अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले पनि अनुगमन भ्रमणपछि नारायणी रङ्गशालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न सक्ने क्षमताको विकास गर्न र स्थानीय युवाहरूको खेलकुद भविष्य निर्माण गर्न अहिलेसम्मको प्रगति महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मन्त्रालय र स्थानीय निकायबिच समन्वय र निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

मन्त्री यादवको भ्रमणले नारायणी रङ्गशालाको स्तरोन्नति कार्यलाई थप गति दिने र स्थानीय तथा सङ्घीय सरकारबिचको सहकार्य बलियो बनाउने अपेक्षा गरिएको छ । परियोजनाले वीरगञ्जलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको केन्द्रका रूपमा स्थापित गर्ने र स्थानीय युवाहरूको प्रतिभा उजागर गर्न ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -