बाँके । नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा आज भक्तजनले यक्ष र मोक्ष प्राप्तिको आशामा जिब्रो छेड्ने अनुष्ठान गरेका छन्।
बडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषहरूले देवी बागेश्वरीलाई आफ्नो भाकल पूरा गराउन वा भाकल पूरा भएपछि धन्यवाद स्वरूप यो विशेष पूजा विधि गरेका हुन्।

मन्दिरका मुल पुरोहित महन्त चन्द्रनाथ योगीका अनुसार, परापूर्वकालदेखि नै भक्तजनले देवीलाई जिब्रो छेडेर या काटेर चढाउने चलन रहिआएको हो। उहाँले भन्नुभयो, “पहिले भक्तजनले देवीलाई जिब्रो काटेर चढाउँथे, तर हाल उनीहरू जिब्रो छेडेर मात्रै दर्शन गर्ने प्रचलन रहेको छ।”

देवी बागेश्वरीको मन्दिरमा पशु बली चढाउने परम्परा कायम रहेको बताउँदै महन्त योगीले भन्नुभयो, “केही भक्तजनले आफ्नै रगत देवीलाई चढाउने उद्देश्यले जिब्रो छेड्ने गर्छन्।”
नवरात्रको व्रत बसेका पुरुषहरू नवमीको दिन मन्दिरमा तिखो त्रिशूलको प्रयोग गरी आफ्नो जिब्रो छेड्ने गर्दछन्।

हरेक वर्ष सयौँ भक्तजनले यो अनुष्ठान गर्ने गरेको बताइएको छ। बडा दसैँ र चैते दसैँको समयमा जिब्रो छेड्ने यो चलनले घरमा दुःख र बिमारी नलाग्ने, सम्पत्तिको रक्षा हुने र यश तथा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

