कञ्चनपुर/नेपाल बुद्धिचाल महासंघको वार्षिक कार्यक्रम अन्तर्गत प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा कार्तिक ५, ६ र ७ गते हुने भएको छ।
काठमाडौं स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिताका विजेता खेलाडीले राष्ट्रिय ब्लिट्ज उपाधि सहित नगद २० हजार हात पार्ने छन्। उपविजेताले नगद १४ हजार, तृतीयले ९ हजार, चौथोले ६ हजार, पाँचौले ४ हजार र छैटौं देखि दशौं स्थानमा रहने खेलाडीले समान नगद २-२ हजार पुरस्कार प्राप्त गर्ने छन्।
स्पर्धामा उत्कृष्ट महिला खेलाडीले ५ हजार, ३ हजार र २ हजार हात पार्नेछन्। अन्य उत्कृष्ट विधा सहित ब्लिट्ज स्पर्धामा कूल ८३ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको छ। द्रुतगतिमा खेलिने ब्लिट्ज खेलको लागि खेलाडीले ३ मिनेट पाउने छन् भने प्रत्येक चाल बापत थप २ सेकेण्ड थपिदै जानेछ। खेल ९ चरणको हुनेछ।
यसैगरी विश्व बुद्धिचाल महासंघ (फिडे) र एशियन चेस फेडेरेशनको तत्त्वावधानमा सञ्चालन हुने दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताका विजेता खेलाडीले उपाधि संगसँगै नगद ३० हजार प्राप्त गर्नेछन् । खेलको उपविजेताले नगद २० हजार, तृतीयले १४ हजार, चौथो हुनेले ९ हजार, पाँचले ६ हजार र बाकी दशौं स्थान सम्म रहने प्रत्येक खेलाडीले ४-४ हजार पुरस्कार प्राप्त गर्नेछन्।
राष्ट्रिय र्यापिड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुने ३ जना महिला खेलाडीले क्रमश: ७ हजार, ५ हजार , ३ हजार सहित उत्कृष्ट स्थानीय, उत्कृष्ट ५५ वर्ष माथिका भेट्रान, रेटिङ १७ सय मुनि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट जुनियर वर्ष १२, १४,१६ सबै व्यक्तिगत विधाका खेलाडीलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ।
र्यापिड स्पर्धामा कूल नगद १ लाख ३१ हजार ५ सय प्रदान गरिनेछ। मध्यम गतिमा खेलिने र्यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छन् भने प्रत्येक चालमा १० सेकेण्ड थपिनेछ। खेल जम्मा ९ चरणको हुनेछ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले विभिन्न आधिकारिक राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्ने क्रममा ब्लिट्ज र र्यापिड राष्ट्रिय स्पर्धाको सम्पूर्ण जिम्मेवारी काठमाडौं स्पोर्ट्स एकेडेमीलाई प्रदान गरेको बताए।
तेश्रो राष्ट्रब्यापी नेकोस फिडे रेटिङ बुद्धिचाल
काठमाडौं स्पोर्ट्स एकेडेमी तथा राष्ट्रिय बुद्धिचाल संघ नेपालको संयुक्त आयोजनामा तेस्रो पटक नेकोस फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता – २०८१ हुने भएको छ। यस प्रतियोगितामा सहभागी शीर्ष २५ खेलाडीहरुले कूल २ लाख ५५ हजार नगद पुरस्कारका लागि कडा प्रतिस्पर्धा गर्नु पर्नेछ।
सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता पूर्व शुरु हुने नेकोस राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक नारायण दास गमालले प्रस विज्ञप्ति जारी गरि जानकारी गराएका छन्।
पूर्व उपाध्यक्ष समेत रहेका नारायणदास गमालले ४५ औं हंगेरि चेस ओलम्पियाडमा छनौट भएर सहभागी जनाउन विमुख ५ पुरुष तथा ५ महिला खेलाडीहरुको लागि नि:शुल्क दर्ता सहित आवास तथा खानाको सुविधा दिने घोषणा गरेका छन्।
संयोजक गमालले प्रतियोगितामा सहभागी शीर्ष २५ खेलाडी कूल २ लाख ५५ हजार नगद पुरस्कारका लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने बताए। जसमा प्रथम हुनेले ६० हजार, द्वितीयले ४० हजार, तेस्रोले २० हजमर, चौथोले १५ हजार, पाँचौले १० हजार र छैटौं देखि दशौं हुने प्रत्येकले ७-७ हजार नगद प्राप्त गर्नेछन्। ब्यक्तिगत विभिन्न ९ विधाका उत्कृष्ट प्रतिस्पर्धिले ५ -५ हजार पुरस्कार पाउने छन्।
यस्तै राष्ट्रिय दोश्रो संस्करणका र्यापिड विजेता शीर्ष ३ खेलाडी र महिला विजेता, वर्तमान ब्लिज र र्यापिड फिडे उच्च रेटिङ पुरुष तथा महिला चेस खेलाडीलाई पनि समान सुविधा प्रदान गरिएको अवगत गराएका छन्।
विगत लामो समय पश्चात् पुन: कार्तिक ३ गते देखि ७ गते सम्म सञ्चालन हुने तेस्रो नेकोस राष्ट्र ब्यापि चेस प्रतियोगिताको क्लासिकल खेल १ घण्टा ३० सेकेण्ड इन्क्रिजमेण्ट समयको हुनेछ। स्वीस मानेजर प्रयोग गरिने ९ चरणको क्लासिकल खेलमा डाइरेक्ट इन्काउन्टर, बुछोल्ज कट वान र टु, मोष्ट गेम वोन टाइब्रेक नियम लागु गरिने प्रमुख अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिले जानकारी गराएका छन्।