नेपालगञ्ज । सडकमा छाडा छोडिएका पशुचौपायाको बिगबिगीले दुर्घटनाको जोखिम बढाएपछि नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्येक शनिबार सडकमा छाडा छोडिएका पशुचौपायालाई काञ्जीहाउस पुर्याउन थालेको छ ।
शनिवारको दिन नगरका विभिन्न सडकमा छरिएर रहेका पशुचौपायालाई एकत्रित गरेर काञ्जीहाउस पुर्याउने गरेका छन् । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याउने गरेको छ । यो शनिवार पनि ५८ वटा पशुचौपायालाई काञ्जीहाउस लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार गाई तथा बाच्छा बाच्छी ३४, १५ वटा घोडा र ९ वटा बाख्रालाई काञ्जीहाउस पुर्याइएको छ ।
घरधनीले आफ्नो पशुहरू सडकमै छोडिदिने र खुला सीमा नाकाका कारण पनि नेपालगञ्जका सडकमा छाडा पशुचौपायाको सङ्ख्या उल्लेख्य हुने गरेको छ । छाडा पशुका कारण साना ठूला दुर्घटना भइरहेका हुन्छन् । कतिले ज्यानै गुमाउनुपरेको अवस्था छ भने कति घाइते हुने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आआफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्नुभएको छ । नगर प्रमुख विष्टले पशुचौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिँदै आउनुभएको छ । तर, छाडा छोड्ने प्रवृत्ति रोकिएको छैन ।