चितवन । बुटवल लुम्बिनी एफसी गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २–० ले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो ।
बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो ।
बुटवलले खेलको ५३औँ मिनेटमा एमानुयल बोएटेङको आत्मघाती गोलमा अग्रता लिएको थियो । उनको ब्याक पासमा गोलकिपर प्रमिजय गच्छादार झुक्किँदा बलले जाली चुम्यो । अतिरिक्त समयको अन्तिम मिनेटमा आयुष घलानले गोल गरेपछि बुटवल २–० ले विजयी भयो ।
बुटवलका कप्तान एरिक बिष्ट म्यान अफ दि म्याच भए । बुटवलले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजयीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि विभागीय टोलीहरू नेपाल पुलिस क्लब काठमाडौँ र एपिएफ फुटबल क्लब काठमाडौँ भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् ।
बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।