Monday, January 13, 2025
घरसमाचारअर्थतन्त्र चलायमान बनाउन क्रियाशील छौं, त्यसको एउटा अंश सेयर बजार हो

अर्थतन्त्र चलायमान बनाउन क्रियाशील छौं, त्यसको एउटा अंश सेयर बजार हो

विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि नेपालको सेयरबजारमा ‘बुल’ सुरु भएको छ । तर, अर्थतन्त्रका अन्य क्षेत्रमा भने त्यस किसिमको उत्साह देखिएको छैन । नयाँ सरकार फेरिएसँगै जनतामा रहेको निराशा चिर्ने घोषणा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले गरेका थिए, तर सरकारबाट पाउने सेवामा पनि खासै सुधार छैन ।

यही सन्दर्भमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अनलाइनखबरका जनार्दन बरालअच्युत पुरीले सोधेका छन्, ‘तपाईं सेयरबजारको बुलमा रमाएर अन्य क्षेत्रको सुधारतिर लाग्नुभएन भन्ने आरोप छ नि ?’

अर्थमन्त्री पौडेलसँग गरिएको विस्तृत कुराकानी :

तपाईं अर्थमन्त्री भएपछि सेयर बजारले सकारात्मक ‘मुभ’ गरिरहेको छ । सेयर बजारको ‘बुल’ लाई कतिपयले ‘विष्णुबुल’ समेत भन्ने गर्छन् । यसलाई कसरी लिनुहुन्छ ?

सेयर बजारमा एउटा सकारात्मक लक्षण देखिएका छन् । यसका पछाडि मुख्यरूपले दुइटा कारण देख्छु । एउटा तुलनात्मक रूपले बलियो सरकार बनेको छ । प्रधानमन्त्रीज्यू बलियो नेताका रूपमा हुनुहुन्छ । उहाँको दह्रो नेतृत्व प्राप्त भएको छ । यो सरकारले अब देशका आर्थिक क्षेत्रका समस्या समाधान गर्न सक्छ भन्ने आम मानिसहरूमा विश्वास छ । सेयर बजारको वृद्धि सरकारप्रतिको विश्वास र भरोसाका रूपमा म लिन्छु । सँगै अर्थतन्त्र चलायमान बनाउन हामीले पछिल्ला दिनमा जे जस्ता प्रयास गरेका छौं, त्यसप्रति पनि आम लगानीकर्तामा सकारात्मक प्रभाव परेको मैले महसुस गरेको छु ।

कतिपयले अर्थमन्त्री सेयर बजारको बुलमा रमाइरहेको भन्दै आलोचना पनि गर्छन्, यसमा तपाईंको धारणा के छ ?

यसमा रमाउने त प्रश्न नै भएन । स्वाभाविक रूपमा हामीले अर्थतन्त्रका सबै क्षेत्रमा यथोचित ध्यानदृष्टि दिएका छौं । समस्याहरू केलाउन, विश्लेषण गर्ने र समाधान खोज्ने काममा केन्द्रित भएका छौं ।

सेयर बजारमा अवाञ्छित क्रियाकलापले स्थान पाउनु हुँदैन । कर्नरिङ, इन्साइड ट्रेडिङ, सामाजिक सञ्जालमा फेक ग्रुपबाट हुने मिसलिडलाई निरुत्साहित गर्नुपर्छ । यस्ता पक्षमा गम्भीरतापूर्वक काम गर्न मैले भनिरहेको छु ।

खासगरी उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी वृद्धितर्फ हाम्रो ध्यान केन्द्रित छ । वर्तमान अवस्थामा गर्न सकिने काम के हुन्, त्यसतर्फ काम गरिरहेका छौं । हामी समग्र अर्थतन्त्र चलायमान बनाउने दिशातर्फ नै क्रियाशील छौं । त्यसको एउटा अंश नै सेयर बजार हो ।

अरू क्षेत्रमा पनि केही सकारात्मक संकेत देखिएका छन् । गत वर्ष साउन महिनाको राजस्वको तुलनामा यस वर्ष २० प्रतिशतले राजस्व संकलन बढेको छ । यद्यपि, म यसमा चित्त बुझाएर बस्ने पक्षमा छैन ।

त्यसैगरी घरजग्गा कारोबारमा सुधार भएको संकेत देखिएको छ । पूँजीगत खर्च समेत साउनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । उत्पादनका विभिन्न क्षेत्रमा एक प्रकारको आशा, भरोसा र विश्वास बढ्दै गएको छ । निजी क्षेत्र उत्साहित हुँदै गएको छ ।

अर्थतन्त्रका धेरै सूचक विगतदेखि नै कमजोर र निराशाजनक छन् । सेयर बजारमा अहिले जस्तो उत्साह देखिएको छ, खाद्यान्न, तरकारी बजारमा यस्तै उत्साह कहिले देख्न पाइन्छ ?

खाद्यान्न, तरकारी तथा अन्य उपभोग्य वस्तुमा समेत यो उत्साह क्रमशः बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । यसमा हामीले अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय गर्दै प्रभावकारी प्रयास पनि गरिरहेका छौं । आम उपभोक्तालाई सरल, सुलभ मूल्यमा सामान उपलब्ध गराउने, बजार चलायमान बनाउने दिशामै हाम्रो ध्यान केन्द्रित भएको छ ।

सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । अरू सूचक कमजोर नै रहेको अवस्थामा सेयर बजारमा दैनिक ३० अर्बको कारोबार भइरहेको छ । यो पैसा कहाँबाट आइरहेको होला ?

कसरी आयो भन्ने त हाम्रो प्रणालीले नै देखाइरहेको छ । हिजो दुविधा थियो, आशंका थियो, लगानी डुब्छ कि भन्ने चिन्ता थियो । अहिले बलियो सरकार बनेको छ । सरकारप्रतिको भरोसा बढेको छ । सरकारले लिएका नीतिहरूका कारण मानिसमा भरोसा बढेको हो । यो पूँजी यहीँ नै थियो, यहीँबाटै परिचालित भएको हो ।

बढिरहेको सेयर बजारमा सधैं सचेत हुनुपर्ने विषय साना लगानीकर्ताबारे हो । उनीहरूको लगानी सधैं जोखिममा रहन्छ । सामाजिक सञ्जालमा फैलिरहने भ्रमले समेत उनीहरूलाई असर गर्छ । त्यसकारण सेयर बजारमा नियामक निकायको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, लामो समयदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन छ । लगानीकर्ताको संरक्षण कसले गर्ने ?

सेयर बजारमा नियामक निकायमा जो–जो साथीहरू त्यो जिम्मेवारीमा हुनुहुन्छ, उहाँहरूलाई मैले दैनिकजसो भन्ने गरेको छु, सेयर बजारमा देखिएको यो उत्साह दिगो र परिपक्व हुनुपर्छ । त्यसतर्फ ध्यान दिन मैले सचेत गराइरहेको छु । सेयर बजारमा अवाञ्छित क्रियाकलापले स्थान पाउनु हुँदैन । कर्नरिङ, इन्साइड ट्रेडिङ, सामाजिक सञ्जालमा फेक ग्रुपबाट हुने मिसलिडलाई निरुत्साहित गर्नुपर्छ । यस्ता पक्षमा गम्भीरतापूर्वक काम गर्न मैले भनिरहेको छु । लगानीकर्ताले पनि लगानी गर्नु अगाडि सबै परिस्थिति बुझेर लगानी गर्न म आह्वान गर्छु । सेयर बजारमा आएको उत्साहलाई दीगो, परिपक्व र विश्वसनीय बनाउनुपर्छ ।

नियामक निकाय नेतृत्वविहीन रहेको अवस्था म मन्त्रालयमा आउनु पूर्वकै परिस्थिति हो । मैले सर्वोच्च अदालतको अन्तरिम आदेश, कानुनी प्रावधानलाई सुक्ष्म ढंगले विश्लेषण गरिरहेको छु । लामो समयसम्म नेतृत्वविहीनताको अवस्था रहनु हुँदैन । छिट्टै यो अवस्था हटाउनुपर्छ । परिपक्व र सक्षम नेतृत्व छनोट गरी यो संस्थाको कामलाई प्रभावकारी बनाउने कुरामा म सचेत छु, होसियार छु ।

अर्थतन्त्रका धेरै सूचकांक नकारात्मक छन् । निर्माण, उत्पादन जस्ता क्षेत्र लगायत ६ क्षेत्र नकारात्मक रहेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासिकको प्रतिवेदनमा देखिएको छ । यसको सुधारमा सरकारको कार्ययोजना के छ ?

केही क्षेत्र, खासगरी उद्योग, निर्माण र व्यापारमा यहाँले भन्नुभए जस्तै अवस्था देखिएको सत्य हो । त्यो क्षेत्र किन समस्यामा पर्‍यो भन्ने कुरालाई सम्बन्धित क्षेत्रमा प्रवेश गरेर पत्ता लगाउनुपर्छ र समाधान खोज्नुपर्छ । त्यस हिसाबले हेर्दा निर्माण व्यवसायीले सम्पन्न गरेको कामको भुक्तानी नपाएको अवस्था थियो । भुक्तानी नपाएको अवस्थालाई कायम राखेर निर्माण व्यवसाय चलायमान होस् भन्ने हुँदैन । प्रधानमन्त्रीज्यूबाट पनि त्यही निर्देशन प्राप्त भएको छ । मन्त्रालयको भूमिका समेत सम्पन्न भएको कामको विधिसम्मत ढंगबाट दाबी गरेको अवस्था छ भने कुनै पनि निर्माण व्यवसायीको अविलम्ब भुक्तानी दिनुपर्छ भन्नेमै रहेको छ । अहिले उल्लेख्य मात्रामा भुक्तानी भएको छ भने हुँदै पनि छ । पूँजीको अभावले निर्माण व्यवसायी समस्यामा हुनु हुँदैन ।

आयोजनाको छनोट, तयारीसँग जोडिएर पनि आयोजनाका कतिपय कार्यान्वयनमा असर परेको भए त्यसमा पनि हामी ध्यान दिनेछौं । उद्योगको कुरा गर्दा औसतमा ४० प्रतिशत क्षमतामा चलिरहेको निजी क्षेत्रका साथीहरूले बताइरहनुभएको छ । खासगरी समग्र माग वृद्धि गर्दै उत्पादन बढाउनतर्फ ध्यान जानुपर्छ भन्नेमा हामीले काम गरिरहेका छौं । के गर्दा माग बढ्छ भन्नेबारे निजी क्षेत्रसँग हामी संवादमा छौं । के गर्दा उत्पादन बढ्छ, के गर्दा समग्र माग बढ्छ भन्नेमा ध्यान दिएका छौं, जे जस्ता कारणले उत्पादन बढ्न सकेको छैन, त्यसको समाधानमा लाग्न प्रयास गरिरहेका छौं । अर्थतन्त्रका जुन क्षेत्रमा शिथिलताको ज्यादा प्रभाव परेको छ, ती क्षेत्रलाई क्रमशः चलायमान बनाइने छ ।

अघिल्लो सरकारले ल्याएको बजेट विद्यमान छ, त्यो बजेटमा सरकारका साझेदार एमाले र कांग्रेस दुवैले स्वामित्व लिएका छैनन् । तपाईंहरूका एजेन्डा यसै बजेटबाट कार्यान्वयन हो कि पूरक बजेट ल्याउने हो ?

यो बजेट निर्माण गर्दा हामी अहिले सरकारका रहेका कतिपय दल सरकारमा थियौं, कतिपय थिएनौं । त्यो एउटा अवस्था थियो भन्ने कुरा हेक्का राख्नुपर्छ । दोस्रो विषय, बजेट आँखा चिम्लेर ठिक छ भन्न पनि सक्नु हुन्न, संसद्ले पास गरेको बजेट हो, यसलाई मान्दिनँ पनि भन्ने अवस्था छैन ।

म एउटा उदाहरण भन्न चाहन्छु, बजेट निर्माणका क्रममा हामीले जेजस्तो तरिका अलवम्बन गर्‍यौं, वास्तवमा जसरी विनियोजन भयो, त्यो हेर्दा यो बजेट कार्यान्वयन गर्न सकिन्छ त भन्ने प्रश्न छँदैछ । हामीले वित्तीय उत्तरदायित्व ऐनलाई बजेट निर्माणका क्रममा त्यति ध्यान दिन नसकेको देखिएको छ । लामो समयदेखि योजनामा विनाअध्ययन स्रोतको सुनिश्चितता नभई बजेटमा राखिरहेको देखिन्छ । यो स्थितिको पुनरावृत्ति नहोस् भनेर आयोजना बैंकको अवधारणा ल्याइयो ।

पूरक बजेटका सन्दर्भमा कुनै निष्कर्षमा पुगेका छैनौं । कार्यान्वयन गर्दै जाँदा आर्जित अनुभवका आधारमा हामी उपयुक्त निष्कर्षमा पुग्न सक्छौं ।

योजना आयोगले योजना बैंक सञ्चालन गर्छ । आयोजनाको अध्ययन गरिन्छ, लागत अनुमान गरिन्छ, प्राथमिकता तय गरिन्छ, त्यसरी अध्ययन गरिएका, लागत अनुमान गरिएका तयारी अवस्थामा रहेका प्राथमिकताका आयोजनाहरू क्रमशः राज्यले आफ्नो सिलिङभित्र रहेर बजेटमा राख्ने गर्छ । आयोजना बैंकको अवधारणा यही हो । तर, यसपटक यो अवधारणा त कार्यान्वयनमै आएन । संघीय सरकारसँग चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आउनुअगाडि ७ हजार आयोजना थिए । यो बजेट आइसकेपछि ११ हजार थप आयोजना ल्याइयो र आयोजनाको संख्या १८ हजार पुर्‍याइयो । ७ हजारबाट १८ हजार योजना एकै वर्षमा पुगे । ती आयोजना योजना आयोग मार्फत अध्ययन भएर मन्त्रालयले प्राप्त गरेका आयोजना होइनन् ।

अधिकांश आयोजना २४/४८ घण्टाको बीचमा ती योजना मन्त्रालयबाट एलएमबीएसमा इन्ट्री गरियो । एलएमबीएसमा इन्ट्री गरेका आयोजना योजना आयोगमा पठाइयो र आयोगले आयोजना बैंकमा इन्ट्री गर्‍यो । यो त उल्टो काम भयो । किनकि, आयोजना बैंकमा समावेश भएका आयोजना मात्र एलएमबीएसमा इन्ट्री हुनुपर्ने थियो । यसै त हामीलाई स्रोतको चरम अभाव छ । यो अवस्थामा सीमित स्रोतलाई प्रभावकारी ढंगले सदुपयोग गर्नुपर्नेमा विना अध्ययनका, विनालागत पूर्वानुमानका आयोजना थपिनु गलत काम भएको छ । ७ हजारमा ५ सय वा १ हजारसम्म आयोजना थपिनु स्वाभाविक मानिन्थ्यो । एकै वर्ष ११ हजार थप्ने काम भएको छ । कल्पना गर्नुस् न, हाम्रो विनियोजन क्षमता कुन तहमा क्षयीकरण भएको रहेछ ।

अर्कातर्फ, आयोजना सम्पन्न गर्न अर्ब लाग्छ, विनियोजन केही लाख हाराहारी मात्र गरिएको छ । त्यो योजना सम्पन्न हुन्छ कसरी ? त्यो बहुवर्षीय पनि होइन । विना अध्ययनमा हुने विनियोजनबाट विनियोजन कौशल क्षमतामै प्रश्न उठेको हो । अहिले हामी योजना आयोग र अन्तर मन्त्रालय संवादमा छौं ।

कर्मचारीहरूलाई जिम्मेवारी दिँदा मैले कुनै आस्था हेरेको छैन । अनुभव र दक्षताका आधारमा छानिएको हो ।

अब के टुंगोमा पुगेका छौं भने अब बजेट विनियोजनलाई राष्ट्रिय गौरव, राष्ट्रिय प्राथमिकता प्राप्त, राष्ट्रिय महत्त्व, राम्रो प्रतिफल दिने, अध्ययन भएका, पूर्वानुमान गरिएका आयोजनाहरूमा केन्द्रित भएर कार्यान्वयनमा जानुपर्छ ।

स्रोतलाई आवश्यकता अनुसार ती प्राथमिकता प्राप्त आयोजनामा केन्द्रित गर्ने निष्कर्षमा पुगेका छौं । छलफलमा छौं । जहाँसम्म पूरक बजेटको प्रसंग छ, यही बजेटलाई अधिक प्रतिफल प्राप्त गर्ने गरी कार्यान्वयन गर्ने भन्नेमा छलफलमा छौं । पूरक बजेटका सन्दर्भमा कुनै निष्कर्षमा पुगेका छैनौं । कार्यान्वयन गर्दै जाँदा आर्जित अनुभवका आधारमा हामी उपयुक्त निष्कर्षमा पुग्न सक्छौं ।

तपाईंकै भाषामा विनियोजन कुशलताका दृष्टिले धेरै नै विचलन देखिएको र करमा समेत विवाद भएका हिसाबले पूरक बजेट नै ल्याउने सोच देखिन्छ । पूरक बजेट नै ल्याउने हो भने त चाँडै ल्याउने होला नि?

मैले यहाँ जे तथ्य भन्दैछु, यो वास्तविकता हो । विनियोजन कुशलता, वित्तीय उत्तरदायित्वको पालना, आयोजना बैंकको कार्यान्वयनको अवस्थालाई मैले यथार्थ बताएको हुँ । यी योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने चुनौती हाम्रा सामु छुँदैछ । अहिले हामी बजेट कार्यान्वयनमा जाँदा प्राथमिकता प्राप्त आयोजनामै केन्द्रित हुन खोज्दैछौं ।

विगतमा अर्थ प्रशासन निकै प्रभावकारी मानिथ्यो, अर्थमा प्रवेश गरी सोही मन्त्रालयमा करियर अन्त्य गरेका विज्ञ कर्मचारी रहन्थे । पछिल्लो समय सरकार फेरिने बित्तिकै अथवा मन्त्री फेरिने बित्तिकै सचिव र कर्मचारीको सेट नै फेरिहाल्ने चलन सुरु भयो । यो विज्ञताका आधारमा नभई आफ्नो पार्टीप्रति झुकाव भएका आधारमा राख्ने चलन चल्यो । तपाईंले पनि भर्खरै मन्त्रालयमा उच्च अधिकारीको पूरै सेट नै परिवर्तन गर्नुभयो । यो प्रवृत्तिलाई कसरी हेर्नुहुन्छ ?

तपाईंले गर्नुभएको यो आलोचना मलाई होइन भन्ने कुरा म सजिलै बुझ्न सक्छु । यो अरू कसैप्रतिको आलोचनालाई मैले केही भन्नु आवश्यक रहेन ।

यसपटक मैले जुन साथीहरूलाई अर्थमा ल्याएको छु, उहाँहरू अर्थमै विज्ञ भएका साथीहरू हुनुहुन्छ । आफ्नो चुनौतीमा उत्तीर्ण भएका साथीहरू हुनुहुन्छ । राजस्व परिचालन चिन्ताजनक अवस्थामा रहेका बेला जुन साथी सबैभन्दा दक्ष हुनुहुन्छ, सोही साथीलाई जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

कर्मचारी साथीहरूलाई जिम्मेवारी दिँदा मैले कुनै आस्था हेरेको छैन । अनुभव र दक्षताका आधारमा छानिएको हो । यस प्रकारको जिम्मेवारी निर्धारणमा कुनै गल्ती भएको भए आलोचना आउँथ्यो होला, मैले राम्रै निर्णय गरेको प्रतिक्रिया पाएको छु ।

तपाईंले सचिवहरूसँग कार्य सम्पादन सम्झौता गर्नुभयो, सचिवहरूका यसै पनि जिम्मेवारी तोकिएको हुन्छ । सरकारको स्थायित्व सधैं प्रश्नचिह्न रहन्छ । यो सम्झौता तपाईंको कार्यकालका लागि हो कि आर्थिक वर्षका लागि ?

सचिवहरूलाई विद्यमान कानुनले नै अधिकार दिएको छ । त्यसलाई कार्यान्वयन गरी जिम्मेवारी वहन गर्नुहुन्छ । दोस्रो, मन्त्रीमा रहेका अधिकार प्रत्यायोजन समेत हुन्छन् । सचिवहरूलाई आफ्नो कामप्रति बढ्ता जिम्मेवार बनाउन समेत कार्य सम्पादन सम्झौता गरिएको हो । यो मूलतः वर्ष–वर्षमा रिन्यु पनि हुन्छ । सचिवहरूले यो ढंगले काम गर्नुपर्छ भन्नेमा केन्द्रित गर्न खोजिएको हो ।

बजेट ढिला आयो, खर्च भएन र अनुशासन भएन भनेर संविधानमै बजेट आउने दिन तोकियो । आवको ४५ दिन अगाडि नै बजेट आउने गरी नियम फेरियो, नियति फेरिएन नि ?

नियमको कुरा ब्ल्याक एन्ड ह्वाइटमा हुन्छ । नियतको कुरा व्यक्तिको कुरा भयो । हामीले १५ जेठमा बजेट ल्याउने प्रबन्ध गरेर राम्रै गरेका छौं । त्यसमा अगाडि पछाडि गर्ने कुनै छुट छैन । राज्य सञ्चालनका लागि महत्त्वपूर्ण प्रस्ताव बजेट हो । यो संसद्मा छलफल भई पारित हुन्छ । यो प्रबन्धले राम्रै भएको छ । बजेट र कार्यान्वयनको कुरा गर्दा यसपटक केही फरक भयो । एक जनाले सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, अर्कोले बजेट प्रस्तुत गर्ने र अर्कोले कार्यान्वयन गर्ने अवस्था बन्यो । सामान्यतया बजेट निर्माण गर्दा बजेट कसरी कार्यान्वयन गर्ने, बजेटका लक्ष्य कसरी प्राप्त हुन्छन् भन्ने प्रस्तोतासँग भिजन हुन्छ । संकल्प हुन्छ । स्रोत व्यवस्थापन वा खर्च व्यवस्थापन दुवैमा उसको सोच लागु हुन्छ । उसले त्यो सामथ्र्य राख्नु पनि पर्छ ।

कुनै बेला कुल गार्हस्थ उत्पादन (जीडीपी) मा राजस्वको अनुपात २४ प्रतिशतसम्म पुगेको थियो । अहिले घटेर १६ प्रतिशतमा आएको छ । घट्ने क्रम तीव्र छ । जुन चिन्ताको विषय हो । राजस्व संकुचनमा सुधार गर्न के गर्दै हुनुहुन्छ ?

दुई वर्ष अगाडि माइनस १० प्रतिशतसम्मको अवस्थामा हामी पुग्यौं । अघिल्लो वर्ष माइनस १० बाट उठ्ने सन्दर्भमा ६ प्रतिशत देखिए पनि यथार्थमा माइनसकै अवस्था हो ।

मलाई गर्भनरले के सहयोग गर्नुभयो र पूर्वमन्त्रीहरुले किन अप्ठ्यारो महसुस गर्नुभयो, त्यो मैले जान्ने कुरा भएन, त्यो उहाँहरू स्वयंको अनुभूति हो ।

अहिले गत वर्षको राजस्व परिचालनको यथार्थ तथ्यांकको तुलनामा ३० प्रतिशत राजस्व बढाउनुपर्छ । यो ठूलो चुनौती हो । लक्ष्य निश्चित गर्दा २०/२२ प्रतिशत बढाउने सामान्य प्रचलन हो ।

खासगरी, नीतिगत प्रश्नमा जहाँ–जहाँ समस्या छन्, संरचनाका प्रश्नमा, व्यवस्थापनका प्रश्नमा, निर्णयको महत्त्व बुझ्दै कार्यान्वयन गर्ने प्रश्नमा कुनै कसर बाँकी राख्दैनौैं । हामी प्रतिकूल परिस्थितिमा पनि लक्ष्यको नजिक पुगेर राजस्व उठाउँछौं भन्नेमा अठोटमा छौं ।

नयाँ सरकार बनेपछि निर्माण व्यवसायीले भुक्तानी पाएनौं भन्ने सुनिएको छैन । भुक्तानीको समस्या समाधान भएको हो ?

पूरै सकिएको छैन, हामीले भुक्तानी पाउनुपर्ने व्यवसायीले भुक्तानीका आधारहरूसहित सम्बन्धित निकायमा आफ्नो भुक्तानी दाबी गर्नुहोस्, भुक्तानी पाउनुहुन्छ भनेर भनिरहेका छौं । यसका लागि सबै मन्त्रालयसँग समन्वय पनि गरिरहेका छौं । अर्थ र सम्बन्धित मन्त्रालयबीच संवाद पनि भइरहेको छ । निर्माण व्यवसायीका सन्दर्भमा चालु आवमा मौद्रिक नीतिले समेत केही सहजीकरण गरेको छ ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच मौद्रिक नीतिमा सहमति हुँदा परिस्थिति सहज बनेको हुनुपर्छ । कतिपयले अर्थले गर्नुपर्ने कुरा राष्ट्र बैंकले फेरि गर्न थाल्यो भन्छन्, यसमा तपाईं के भन्नु हुन्छ ?

लोकतन्त्रको सुन्दरता नै यही हो, आलोचना गर्न पाइन्छ । तर, म के कुरामा होसियार छु भने वित्त नीति र मौद्रिक नीति, यी निरपेक्ष रूपमा अलग होइनन् । यी अलग पनि छन् र एकअर्कासँग सम्बन्धित पनि छन् । त्यसकारण वित्त नीति अघि सार्दा होस् वा मौद्रिक नीति अगाडि सार्दा, एक अर्को निकायबीच समन्वय हुनुपर्छ । यसो गर्दा कसैको स्वायत्ततालाई कमजोर पार्नु हुँदैन ।

म प्रधानमन्त्रीज्यूको प्रत्यक्ष नेतृत्वमा काम गरिरहेको छु, स्वाभाविक रूपमा त्यस प्रकारको यो जिम्मेवारी दिने प्रधानमन्त्रीबाट अविश्वास गरिएको छ भन्ने टिप्पणी गरेर जुन प्रकारको दरार सिर्जना गर्न सकिन्छ कि भन्ने व्यर्थको प्रयासमात्र हो ।

स्वायत्ततालाई सुरक्षित राखेर दुवै नीति समन्वयात्मक ढंगले अगाडि सारेर कार्यान्वयनमा जानुपर्छ । मौद्रिक नीतिले अर्थतन्त्रका समस्या समाधान गर्न सहज गरेको स्वाभाविक हो । यसप्रति आम मानिसको सकारात्मक प्रतिक्रिया आएको छ । त्यसलाई त्यही रूपमा लिनुपर्छ ।

तपाईं अगाडिका दुई अर्थमन्त्रीले उहाँहरूलाई गभर्नरले सहयोग गर्नुभएन, तपाईं आएपछि सहयोग गर्नुभयो भन्ने आरोप लगाउनुहुन्छ, यो सत्य हो ?

मलाई गर्भनरले के सहयोग गर्नुभयो, मैले थाहा पाएको छैन । उहाँले राष्ट्र बैंकको हैसियतले मौद्रिक नीति ल्याउनुभयो । यसका सन्दर्भमा निजी क्षेत्र तथा सरोकारवालाले गर्भनरलाई भेटेर सुझाव दिनुभयो । हामीकहाँ आएका सुझाव पनि पठाउने काम गर्‍यौं । उहाँले आफ्नो ढंगले कानुन सम्मत ढंगले मौद्रिक नीति ल्याउनुभयो । पूर्वमन्त्रीले किन अप्ठ्यारो महसुस गर्नुभयो, त्यो मैले जान्ने कुरा भएन, त्यो उहाँहरू स्वयंको अनुभूति हो ।

प्रधानमन्त्रीज्यूसँग तपाईंको थोरै भए पनि केही दुरी छ, त्यसकारण अर्थतन्त्र हेर्न भनेर युवराज खतिवडालाई विकास सल्लाहकार बनाउनुभयो भन्ने गरिन्छ, यो साँचो हो ?

त्यो चाहिँ सरकारभित्र समस्या सिर्जना गर्न सकिन्छ कि, अविश्वास बढाउन सकिन्छ कि भनेर गरिएको व्यर्थको कुरा हो । कसैले यो धन्दा गरिरहेको भए आजैबाट बन्द गरे हुन्छ । त्यसबाट केही झर्नेवाला छैन । केही प्राप्त हुनेवाला छैन । कसैले त्यस्तो टिप्पणी गरेको भए त्यो बाटो छाड्न म अनुरोध गर्छु । त्यसको साटो रचनात्मक काममा लाग्न म अनुरोध गर्छु । म प्रधानमन्त्रीज्यूको प्रत्यक्ष नेतृत्वमा काम गरिरहेको छु, स्वाभाविक रूपमा त्यस प्रकारको यो जिम्मेवारी दिने प्रधानमन्त्रीबाट अविश्वास गरिएको छ भन्ने टिप्पणी गरेर जुन प्रकारको दरार सिर्जना गर्न सकिन्छ कि भन्ने व्यर्थको प्रयासमात्र हो ।

जहाँसम्म युवराज खतिवडाको कुरा छ, उहाँ नेपालका मूर्धन्य अर्थशास्त्रीमध्ये एक हुनुहुन्छ । पार्टीले उहाँको योगदानलाई मूल्यांकन गरी महत्त्वपूर्ण जिम्मेवारीहरू दिइरहेको छ । योजना आयोगको सदस्य, आयोगको उपाध्यक्ष, गभर्नर, राष्ट्रिय सभा सदस्य हुँदै अर्थमन्त्री र राजदूतसम्मको जिम्मेवारी उहाँलाई दिइएको छ । इतिहास, अध्ययन र योगदानको मूल्यांकन गर्दै उहाँलाई पार्टीले जिम्मेवारी दिएको हो । उहाँको अनुभव समाज र राष्ट्रका लागि अझै आवश्यक छ, यही सोचका साथ प्रधानमन्त्रीज्यूले उहाँलाई विकास सल्लाहकारको जिम्मेवारी दिनुभएको हो । यसलाई अन्यथा बुझ्नु व्यर्थको कुरा हो ।

कार्यभार सम्हाल्दै गर्दा तपाईंले भन्नुभएको थियो– जनतामा निराशा छ, यसलाई सुक्ष्मरूपमा हेर्दा सरकारले गर्ने डेलिभरीमै बढी समस्या छ ।’ लाइसेन्समा ट्रायल दिनेको लाइन छ, ट्रायल दिइसकेपछि लाइसेन्स लिन लाइन छ, ब्लुबुक नवीकरण, अस्पताल, राष्ट्रिय परिचयपत्र, तपाई जहाँ हेर्नुहोस, त्यही समस्या छ । मल, चिनी जहाँ हेर्दा पनि जनतामा निराशामात्र छ । सरकारले जनताका यी स–साना कुरा समाधान गर्न कहिलेबाट ध्यान दिने होला ?

पहिलो दिनबाटै यी काममा हामीले ध्यान दिएका छौं । प्रधानमन्त्रीज्यूले सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई बोलाएर निर्देशन दिनुभएको छ । विभिन्न घटनाक्रम उद्धरण गर्दै उहाँले सूक्ष्मरूपमा केलाउन भन्नुभएको छ । हामीले सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयले प्रभावकारी रूपमा काम गर्नुपर्छ भन्ने उहाँको निर्देशन छ, त्यही अनुसार काम सुरु भइसकेको छ । केही समयभित्र यसका नतिजा देखिन थाल्छ । हामीले प्रविधिको प्रयोगमा पनि जोड दिएका छौं ।

अर्थ मन्त्रालयलाई ‘सुपर मिनिस्ट्री’ का रूपमा हेर्ने गरिन्छ । अन्तर मन्त्रालय समन्वयमा उसको भूमिका धेरै पनि हुन्छ । पूँजीगत खर्च, सरकारी खर्च भयो भएन भनेर जस–अपजस पनि यही मन्त्रालयले पाउँछ । सरकारको वरिष्ठ मन्त्री र पार्टीको वरिष्ठ नेताको हैसियतमा तपाईंले यो भूमिका कसरी निर्वाह गर्दै हुनुहुन्छ ?

हरेक मन्त्रालयको आफ्नो महत्त्व छ । कुनै पनि मन्त्रालयलाई कम महत्त्वको मैले आँकेको छैन । अर्थको त्यस्तै महत्त्व छ । हाम्रो आफ्नो निश्चित परिभाषित जिम्मेवारी छन् । बजेट निर्माण, स्रोत व्यवस्थापन, खर्च व्यवस्थापनका विषय हामीसँग जोडिएका छन् । यसमा जवाफदेही हुँदै खर्च व्यवस्थापनमा समन्वय र सहजीकरण हाम्रो जिम्मेवारी हो । सम्बन्धित मन्त्रालयको घनिष्ठ, जीवन्त सम्बन्ध हुन्छ । हामी त्यसरी नै काम गर्छाैं ।

सरकारको स्थायित्वमाथि सधैं प्रश्न रहने गर्छ । सरकार गठन भएको धेरै समय भएको छैन । पुनः गठबन्धन के हो भन्ने चर्चा सुरु भइसकेको छ । ठूला दुई पार्टी मिलेर बनेको सरकारले प्रतिनिधिसभाको यो कार्यकालमा स्थायी सरकार दिन्छ भन्ने आधारहरू केही छन् ?

यो सरकारको उपस्थिति स्वयं नै आधार हो । कांग्रेस र एमालेको बीचमा नै एउटा अन्डरस्ट्यान्डिङ छ । त्यसलाई मानेर अरू केही दल पनि सरकारमा सहभागी हुनुहुन्छ । यो समझदारी अनुरूप नै हामीहरू अगाडि बढ्छौं । यो समझदारी भंग गर्ने कोसिस कसैले नगर्दा हुन्छ । यो समझदारी र सहयात्रा प्रतिनिधिसभाको बाँकी कार्यकालमा जारी रहन्छ । करिब दुई तिहाइको साथ हामीसँग छ । यो सरकार बनेकोमा चित्त नबुझाउनेहरू पनि होलान् । उनीहरूले विभिन्न प्रकारका टिकाटिप्पणी गर्नु स्वाभाविक होला ।

सरकार गठन गर्दा भएको सहमति अनुसार नै यो सरकार अगाडि बढ्छ । अस्थिरता र अनिश्चय, आशंका कसैले पनि राख्नुपर्ने अवस्था छैन । अहिलेको अवस्थामा राजनीतिक स्थिरता कायम राख्न सफल भएका छौं ।

तर, त्यसले यो सरकारको स्थायित्व, प्रभावकारिता र अग्रगतिलाई रोक्न सक्ने सामाथ्र्य छ भन्ने लाग्दैन । आग्रहपूर्ण टिप्पणीबाट प्रभावित हुन जरुरी छैन । यो सरकार स्थिर सरकार हो । यो समीकरण र सहयात्रा स्थिर सहयात्रा हो । मुलुकलाई स्थिरता दिँदै हामी समृद्धितिर लैजान्छौं । निराशाबाट बाहिर निस्केर आशा र उत्साहका साथ आ–आफ्नो पेसा–व्यवसायमा लाग्ने र अर्थतन्त्रलाई गतिशील बनाउनेतर्फ लाग्न सबैलाई अनुरोध छ ।

यो सरकारले स्थायित्व र विकास दिन्छ भन्ने आधार चाहिँ के हो ?

यो प्रतिनिधिसभाबाट देशले पाउन सक्ने बलियो सरकार पाएको छ । अत्यन्त सुझबुझपूर्ण, दृढ, दुरदृष्टि भएको सक्षम नेतालाई मुलुकले प्रधानमन्त्रीका रूपमा पाएको छ । व्यवस्था परिवर्तनको आन्दोलन, सामाजिक आर्थिक रूपान्तरणमा राज्य र सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको छ ।

लोकतन्त्र स्थापना र त्यसको सबलीलकरणका सन्दर्भमा, संविधान निमार्णका सनदर्भमा होस् वा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका सन्दर्भ, हरेक क्षेत्रमा सफल नेताका रूपमा अहिलेको प्रधानमन्त्रीलाई मुलुकले पाएको छ । गौरवपूर्ण इतिहास भएका प्रमुख दुई पार्टीहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनेको छ । यो सरकार आफैंमा बलियो सरकार हो ।

यो समस्या देख्न, बुझन् निर्णय गर्न सक्ने तथा समाधान गर्न सक्ने र गरेका निर्णय कार्यान्वयन गर्न सक्ने सरकार हो । सरकार गठन गर्दा भएको सहमति अनुसार नै यो सरकार अगाडि बढ्छ । अस्थिरता र अनिश्चय, आशंका कसैले पनि राख्नुपर्ने अवस्था छैन । अहिलेको अवस्थामा राजनीतिक स्थिरता कायम राख्न सफल भएका छौं ।

अब राम्रा, दुरगामी महत्त्वका, देश र जनताका लागि निर्णय गर्न सक्ने परिस्थिति निमार्ण भएको छ । आ–आफ्ना पेसा, व्यवसाय, उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारीमा लाग्न र समग्र अर्थतन्त्रलाई चलायमान गराउन, सबल अर्थतन्त्र निमार्ण गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न लाग्नुपर्छ । हामीले भनेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न आ–आफ्नो ढंगबाट सबै नेपाली दाजुभाई दिदीबहिनीलाई अनुरोध गर्छु ।



साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -