२०८२ बैशाख ६ गते, शनिबार ०४:२१

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ ।

उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उहाँले त्यसको धागो निकाली त्यसबाटै डोरी बाटने (बनाउने) गरेका छन् । डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन् । एउटै डोरी रु दुई सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गरेको छ ।

“घरमै बसेर डोरी तयार गर्छौ” उहाँले भन्नुभयो, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुर्‍याएर बिक्री गर्दै आएको छु ।” दैनिक रु एक हजार जतिको डोरी बिक्री हुने गरेको उहाँ बताउनु हुन्छ । डोरी बेच्नकै लागि बिहानीको खाना खाएर गाउँ चहार्दै हिडने राना साँझ अबेर मात्रै घर फर्कने गर्दछन् । डोरीमा रानाले छडकी, वराह, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गर्दछन् । सबै भन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ ।

गाई गोरु बाँध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताउनुभयो । डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन । “धेरै परिवार हुँदा आर्थिक अभाव सधैँ भइरहन्थ्यो” उहाँले भन्नुभयो, “त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हुँदैनथ्यो, गोठालो जान्थे, अरूले डोरी बनाएको देखेर त्यसबाटै सिके । पहिला बाबियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो ।

खेतबारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे । जब देखि बजारमा प्लास्टिक डोरी आए त्यस पछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे । ” जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लास्टिक बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उहाँ बताउनुहुन्छ । व्यवसायीक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेर पछि गर्न थालेको उहाँको भनाई रहेको छ । घरमा कोही बिरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उहाँले सहयोग गर्नु हुन्छ । विवाह गरेको दुई वर्षमै श्रीमतीको देहावसान भएपछि रानाले दोस्रो विवाह भने गर्नु भएको छैन ।

जेठो दाजुको घरमा उहाँ बस्दै आउनु भएको छ । डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन् । “मोटरसाइकल किन्न थोरै रकम मैले जुटाए” डुठ्ठा रानाले भन्नुभयो, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे ।”

परिवारलाई आवश्यकता परेका बेला उहाँले आर्थिक सहयोग गर्दानै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ रहेको छ । “घरमा ठुलो काम गर्दा लाग्ने पैसा उहाँलेनै दिनु हुन्छ” उहाँले भन्नुभयो, “स–सानो काममा भने पैसा दिन कन्जुस्याइँ गर्नु हुन्छ । उमेर छदा डोरी बेचेर महिनामै रु ५० र ६० हजार सम्म पनि कमाउँथे, उमेर ढल्किँदै जाँदा कमाइ पनि घटेको छ, ।”

घर खर्च सँगै आफूलाई आवश्यक भएको लुगाफाटो,जुत्ता,चप्पल, औषधोपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आउनु भएको छ । आफूलाई चाहिने खर्च अरू सँग मागेको अहिले सम्म नदेखेको डुठठा बताउनु हुन्छ । “हामीले आपतविपत परेका बेला उहाँ सँग पैशा माग्छौँ उहाँले अहिले सम्म हामी सँग पैशा माग्नु भएको छैन” उहाँ भन्नु हुन्छ । पूर्व वडा अध्यक्ष जगता राना पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफूले बन्धुलाई चिनेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ,“व्यवसायीक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरूले सिक्नु पर्ने हुन्छ ।” रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्