जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ टिप्न निर्यातमा रोक लगाएको छ । साउन दोस्रो तेस्रो साताबाट जुम्लाको काँचो स्याउ लुकिछिपी बाहिरी जिल्लामा लिने भएकोले काँचो स्याउ टिप्न निर्यात गर्नमा रोक लगाएको हो ।
अर्ग्यानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्ग्यानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा पढ्ने गरेको छ ।
मोटो रकम नाफा खाने दाउमा जुम्लाबाट हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ । तर यसवर्ष तिला गाउँपालिकाले आगामी भदौ पहिलो साताभन्दा अगाडी स्याउ टिप्न रोक लगाएको छ ।
गाउँपालिकाको निर्णयअनुसार भदौ ५ गतेभन्दा अगाडी स्याउ सङ्कलन तथा निकासीमा रोक लगाएको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जङ्ग बहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,‘तिलाका १ देखी ९ वटा वडाकै स्याउ किसानलाई काँचो स्याउ नटिप्न अनुरोध गरेका छौ । प्रत्यक्ष निगरानी पनि राख्ने छौ । अटेरी गरेर कसैले काँचो स्याउ निकासी गर्न खोजे पालिकाले कारबाही गर्ने छ ।’
जुम्लाबाट सबैभन्दा अगाडी तिलाबाटै स्याउ निर्यात हुने गरेको छ । भदौ पहिलो सातापछि कृषि विकास शाखाको र वडाको सिफारिस लिएर मात्र स्याउ जिल्ला बाहिर निर्यात गर्न मिल्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गर्नुभयो ।
स्याउले भर्खर कलर हालेर गुलियोपना भरिँदै छ । तर गाउँ गाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मूल्य पाईने सोचमा विक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भएपनि रोक्न भने चुनौती देखिएको छ ।
पछि राम्रो मूल्य नपाइने र घरमै थन्काएर राख्नु पर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाई छ । यद्यपि, स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोज सम्म पनि बोटमै राख्न तयार रहेको किसान बताउनुहुन्छ ।
जुम्लाका करिब १९ हजार घरधुरी स्याउ खेती गरिरहेको सरकारी तथ्याङ्क छ । यहाँका आठै पालिकामा स्याउ खेती हुन्छ । तर अधिकांश किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमअनुसारको लाभ लिन सकेका छैनन् ।
भने स्याउ किसानलाई ढुवानीमा सहुलियत देखी मलजल तथा बगैँचा व्यवस्थापनबारे स्थानीयतहले पनि पर्याप्त सिप सहित प्रविधि दिन सकेको छैन । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन । जसका कारण जुम्लाको स्याउ हचुवामै विक्री हुने र करोडौँ आम्दानी गर्न सकिने सम्भावना भएपनि किसानले घाटा खानु पर्ने बाध्यता छ ।