२०८२ बैशाख ५ गते, शुक्रबार १३:१३

कैलाली । कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन थालेका छन् ।

किसानले धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ । टीकापुर–१ समितिपुरका राधिका धामीले तीन बिघामा धानबाली लगाउनुभएको छ । धानबाली तङ्ग्रिँदै गएकाले उहाँले यतिबेला धानबालीमा मलखाद प्रयोग गर्न थाल्नुभएको छ । उहाँलाई धानबालीमा कुन मल र कति मात्रामा मल प्रयोग गर्ने भन्नेबारे जानकारी छैन । भेटेरिनरी तथा सहकारीबाट मल खरिद गरेर आफ्नै तरिकाले प्रयोग गर्दै आउनुभएको छ । “

मल किन्दा भेटेरिनरीमा अलि अलि सोध्ने गरेका छौँ, श्रीमानले मल किनेर ल्याउनुभएको छ”, उहाँले भन्नुभयो, “मल बढी प्रयोग गरेमा बढी उत्पादन हुन्छ भन्ने सुनेकी छु । सके जति हाल्ने हो ।” किसानले धानको उत्पादन बढाउन समयमै प्राङ्गारिकदेखि रासायनिक मलको प्रयोग गर्ने गर्दछन् । मलखाद सिफारिस मात्रामा प्रयोग गरे उत्पादन वृद्धिमा सहयोग पुग्छ तर सिफारिस भएको मलको मात्रामा फरक परे उत्पादनमा गिरावट आउने प्राविधिकको भनाइ छ । किसानले अहिले धान खेतमा युरिया मल टप डेसिङ (थप मलखाद छर्ने काम) गरिहेका छन् ।

धान रोपेपछिको २० देखि ३० दिनको अवधिमा पहिलो पटक र ५० देखि ५५ दिनको अवधिमा दोस्रो पटक रासायनिक मल हाल्ने गर्दछन् । प्राविधिकका अनुसार धान रोपाइँ गर्दा प्रायः माटोमा फस्फोरस र पोटासको प्रयोग गरेका सचेत किसानहरू टप डेेसिङमा युरिया मलको प्रयोग गर्ने गरेका हुन्छन् । टप डेसिङ गर्दा युरिया मलको प्रयोग सिफारिसभन्दा धेरै भए धान बालीमा रोग किराको प्रकोप बढ्ने भएकाले सचेत हुन आवश्यक रहेको कृषि ज्ञान केन्द्र कैलालीको बाली विकास अधिकृत रामनारायण चौधरीले बताउनुभयो । “कृषि विभागले अहिले स्थान विशेष मलखाद सिफारिस गरेको छ ।

स्थान विशेषअनुसार मलखादको प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सोही अनुसार प्रयोग गर्न आग्रह गरेको छ”, चौधरीले भन्नुभयो, “सुदूरपश्चिमसहित तराईको बाँकेदेखि कञ्चनपुरसम्मका लागि प्रतिहेक्टर ६ टन प्राङ्गारिक मल, नाइट्रोजन एक सय किलो, फस्फोरस ३० किलो र पोटास ३० किलो तथा अन्य सूक्ष्म तत्त्व माटो परीक्षणका आधारमा प्रयोग गर्न सिफारिस गरेको छ ।” यसरी माटोको परीक्षण र बाली बिरुवाको अवस्थाअनुसार रासायनिक मलको प्रयोग गर्न उहाँको सुझाव छ । किसानले बिहानको समयभन्दा साँझको समय, छिपछिपे पानी भएको र झार हटाएर प्रतिकट्ठा एकदेखि डेढ किलोसम्म रासायनिक मल युरिया टप डेसिङ अर्थात् थप मलका रुपमा प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

नियमित वर्षा नहुँदा पनि धान बालीमा विभिन्न रोग कीराको प्रकोप देखापर्ने जोखिम बढ्छ । कैलालीमा पर्याप्त पानी नपर्ने र गर्मी अधिक हुँदा धान बालीमा विभिन्न किसिमका कीराको प्रकोप बढेको अवस्था छ । यस्तो बेलामा युरियाको प्रयोगले अधिक मात्रा किराको प्रकोप देखापर्ने भएकाले किसानले बाली बिरुवाको नियमित अनुगमन गर्न आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी बताउनुहुन्छ । “

थप मल प्रयोग गर्दा बाली सर्लक्क बढ्छ । युरिया मल पाएका बेला धानका बोट नरम हुने भएकाले यो बेला गवारो कीरा लाग्ने जोखिम रहन्छ”, उहाँ भन्नुहुन्छ, “मलखाद प्रयोग गरिरहेका बेला र पछि पनि बालीको नियमित अनुगमन आवश्यक हुन्छ । समयमै जानकारी पाएमा बाली जोगाउन सकिन्छ । बालीमा मल र विषादी प्रयोग गर्दा मनोमानी गर्न हुँदैन । सल्लाह अनुसारमात्र गर्न आवश्यक छ ।”

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्