२०८२ बैशाख ६ गते, शनिबार ११:३२

धनकुटा । बजेट लगायत विभिन्न विषयमा पटक–पटक बसेको कार्यपालिका बैठकमा सहमति हुन नसक्दा धनकुटाको साँगुरीगढी गाउँपालिकाले बजेट ल्याउन सकेको छैन।

तोकिएको समय भरिमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिकामा बजेट होलिडे भएको छ । बजेट होलिडे हुँदा दैनिक प्रशासनिक काम ठप्प भएको छ भने राजश्व सङ्कलन समेत रोकिएको छ । समयमै बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिका दैनिक खर्च गर्न नपाउने अवस्थामा पुगेको छ भने बजेट होलिडेको अवस्थामा अत्यावश्यक बाहेक शीर्षकमा खर्च गर्न नपाउने प्रावधान रहेको छ ।

स्थानीय तहले असार १० गतेभित्र गाउँ सभामा बजेट पेश गर्नु पर्ने र असार मसान्तसम्म पारित गरिसक्नुपर्छ संवैधानिक व्यवस्था छ । तर, साँगुरीगढी गाउँपालिकाको कार्यपालिका बैठक पटक–पटक वसेपनि जनप्रतिनिधिहरू बिच सहमति जुट्न सकेको छैन। 

कार्यपालिका बैठकमा जेसिभी खरिदको विवाद रहेको छ । गाउँपालिकाले गत वर्ष एउटा जेसिभि खरिद गरेको थियो, फेरी अर्को जेसिभी खरिद गर्नेकी नगर्ने विषयमा सहमति नजुट्दा पछिल्लो ९ पटक बसेको कार्यपालिका बैठक विना निष्कर्ष टुङ्गिएको थियो । 

कार्यपालिका सदस्य वालकृष्ण राईले जेसिभी खरिद लगायत अन्य विषयमा गाउँपालिका अध्यक्षले निकास दिनका लागि विधि र पद्धतिलाई चासो नदिँदा समयमै बजेट आउन नसकेको बताउनु भयो।  बैठकमा सदस्यहरु बिच सहमति नजुट्दा समाधानको लागि लोकतान्त्रिक विधि र प्रक्रिया भएपनि अध्यक्ष एकलौटी ढंगले अगाडी बढ्न खोज्दा सहमति हुन नसकेको उहाँको भनाइ छ। उहाँले गत वर्ष सहमति भएको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो। गत वर्ष नै गाउँपालिकामा दुई वटा जेसिभी खरिदका लागि गाउँ विपद् व्यवस्थापन समितिबाट सिफारिस भएको थियो।

कार्यपालिका बैठकले खरिदका लागि पास गरेको थियो। दुई वटा खरिदका लागि बजेटको व्यवस्था नहुँदा एउटा मात्र खरिद भएको थियो। गाउँपालिकालाई दुई वटा जेसिभी आवश्यक छ। अहिले असारको अन्तिम सम्मा पनि टेण्डर मार्फत् १ देखि ३ लाख सम्मका योजना सम्पन्न नभई म्याद थप्नु गरेको स्थिति छ। कार्यविधि निर्माण गरेर दुई वटा जेसिभी सञ्चालन गर्दा गाउँपालिकालाई आम्दानी हुने उहाँको दाबी छ। 

यता साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जेसिभी खरिदको विषयमा सहमति नहुँदा बजेट रोकिएको बताउनु भयो। गत वर्ष एउटा जेसिभी खरिद गरिएकोले गाउँपालिकाले अर्को जेसिभि खरिद गर्दा व्ययभार बढ्ने भएकाले सदस्यहरु बिच नै मतभेद सिर्जना भएको बताउनु भयो। सहमतिको लागि पटक पटक छलफल गरे पनि सहमति नभएको र बजेट होलिडे सम्मको अवस्था सिर्जना भएको अध्यक्ष राईको भनाइ छ। 

साँगुरीगढी गाउँपालिकाको कार्यपालिकामा एमाले निकट जनप्रतिनिधिहरूको बहुमत छ। उनीहरू जेसिवी खरिद गर्नुपर्ने पक्षमा छन्। यस्तै कांग्रेस निकट अध्यक्ष सहित कार्यपालिका सदस्य छन्। जेसिभि खरिदको विषयमा नेकपा एमाले र कांग्रेस निकट जनप्रतिनिधि बिच विवाद रहेको छ। 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्