२०८१ चैत्र २० गते, बुधबार २१:३४

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

तस्करलाई सघाएको आरोपमा सशस्त्रका एसपी हेडक्वार्टर तानिए

मोरङ/भारतबाट भित्रिएको चिनी भन्सार कार्यालयमा नबुझाई छाडिएको विषयलाई लिएर मोरङका सशस्त्र प्रहरी बल प्रमुख प्रहरी उपरीक्षक विश्व खड्कामाथि मुख्यालयले छानबिन सुरु गरेको छ।

सशस्त्रका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार प्रहरी उपरीक्षक खड्कामाथि छानबिन सुरु भएको हो। प्रवक्ता न्यौपानेले आन्तरिक हिसाबले केही कुरा बुझ्नुपर्ने हुँदा प्रहरी उपरीक्षक खड्कालाई हेडक्वार्टर झिकाइएको जानकारी दिए।

प्रवक्ता न्यौपानेले खड्काका बारेमा थप बुझ्ने काम भइरहेको हुँदा गलत गरेको भेटिए कारबाही गरिने बताए।

खड्कामाथि सीमा क्षेत्रमा तस्करी लाइन चलाएर अवैध असुली गरेको आरोप रहेको छ। सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक खड्का मोरङमा गतवर्ष फागुनमा जिम्मेवारी लिँदै आएका हुन्।

खड्कामाथि भारतबाट भित्रिएको चिनी भन्सार कार्यालयलाई नबुझाइए छाडिएको आरोप पनि रहेको छ। भन्सार स्रोतका अनुसार करिब एक महिनाअघि विराटनगरका किराना व्यवसायी केशरीलालले ल्याएको चिनी भन्सारमा नबुझाई बीच बाटोबाटै छाडिएको थियो। केशरी र सुरक्षाकर्मीबीच सीमा क्षेत्रबाटै तस्करीको काम हुँदै आएको भन्सार स्रोतको भनाइ छ।

तस्करीका क्रममा चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भन्सार कार्यालयलाई बुझाउनुपर्ने भए पनि प्रहरी उपरीक्षक खड्काले रकम लिएर छाडिदिएको बताइन्छ। तस्करीमा संलग्न हुँदै रकम बुझ्दै आएका खड्काविरुद्ध तस्करी लाइन चलाउन सहयोग गरिने गरेको सूचना मुख्यालयमा पुगेसँगै उनी निगरानीमा थिए।

खड्कालाई छानबिनका लागि मुख्यालय तानेपछि मोरङमा प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेतीले निमित्त प्रमुखको जिम्मेवारी पाएका छन्। मोरङमा बीओपी र बेससमेत गरेर सशस्त्रका २४ वटा युनिट छन्। नेपाल–भारत सीमा क्षेत्रमा मात्रै १३ वटा युनिट छन्।

प्रतिक्रिया लेख्नुहोस्