बाँकी सबै समूहमा रहेका ५-५ टोलीमध्ये सबैको सुपर ८ पुग्ने वा बाहिरिने गणितीय सम्भावना बाँकी नै छ। समूह डीबाट भने दक्षिण अफ्रिका एक खेल बाँकी छँदै सुपर ८ पुग्ने निश्चित भइसकेको छ र श्रीलंका १ खेल बाँकी छँदै समूह चरणबाटै बाहिरिइसकेको छ।
नेपाल समूह डीमा रहेकोले नेपाली फ्यानहरुको लागि नेपाल सुपर ८ पुग्ने समीकरण कस्तो हुनेछ भन्ने विषयमा धेरै चासो छ। यो समूहमा दक्षिण अफ्रिका सुपर ८ पुगिसकेकोले अब बाँकी एउटा स्थानको लागि बंगलादेश, नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धामा छन्।
अमेरिकामा धेरै खेलहरु वर्षाका कारण रद्द भएकाले धेरै फ्यानहरुले अबका खेलहरु पनि वर्षाले प्रभावित हुने र त्यसले समीकरणमा प्रभाव पार्न सक्ने अनुमान गरिरहेका छन्। तर, अबका खेलहरु अमेरिकामा हुने छैनन्। अमेरिकामा आज बेलुकी हुने भारत र अमेरिकाबीचको खेल नै अन्तिम हुनेछ। भोलिदेखि बाँकी सबै खेलहरु वेष्ट इण्डिजका फरक फरक देशका फरक फरक सहरहरुमा हुनेछन्।
नेपालले अब नेपाली समयअनुसार शनिबार बिहान (स्थानीय समय शुक्रबार बेलुका) दक्षिण अफ्रिकासँग खेल्नेछ। सेन्ट भिन्सेन्टको राजधानी किंग्सटाउनमा हुने यो खेल वर्षाले प्रभावित हुने सम्भावना न्यून छ। मौसम पूर्वानुमानअनुसार किंग्सटाउनका शुक्रबार पानी पर्ने सम्भावना ३ प्रतिशत मात्र छ र शनिबार १ प्रतिशत मात्र छ।
सुपर ८ मा जाने सम्भावना कायमै राख्न नेपालले यो खेल जित्नैपर्ने हुन्छ। यो खेल जितेमा नेपालको सुपर ८ जाने सम्भावना कायमै रहनेछ। तर, यो खेल हारेमा सम्भावना अत्यन्तै न्यून हुनेछ। अत्यन्तै न्यून हुनु भनेको गणितीय हिसाबमा मात्र सम्भावना बाँकी रहनु हो। यो अवस्थामा कुनै चमत्कारले मात्र नेपाललाई बचाउन सक्छ।
अर्को खेल नेपालले नेपाली समयअनुसार सोमबार बिहान (स्थानीय समयअनुसार आइतबार बेलुका) किंग्सटाउनमै बंगलादेशसँग खेल्नेछ। सहजै सुपर ८ पुग्ने सम्भावना कायमै राख्न नेपालले यो खेल पनि जित्नैपर्ने हुन्छ। यो खेल वर्षाले प्रभावित हुन सक्छ किनभने किंग्सटाउनमा आइतबार वर्षाको सम्भावना ४० प्रतिशत र सोमबार ५८ प्रतिशत रहेको पूर्वानुमान गरिएको छ।
दुवै खेल जितेको अवस्थामा पनि नेपाल सुपर ८ पुग्न नेदरल्याण्डले आफ्नो बाँकी २ खेलमध्ये एउटा हार्नैपर्छ। नेदरल्याण्डले दुवै खेल जित्यो भने यसको ६ अंक पुग्नेछ । समूहमा नेदरल्याण्ड र बंगलादेश दुवैको अधिकतम ६ अंक पुग्ने सम्भावना छ। यद्यपि दुवैको ६ अंक भने हुनेछैन। एउटा खेल यी दुईबीच एक आपसमा खेल्नुपर्ने भएकोले त्यो खेल हार्नेले अधितक ४ अंक र जित्नेले ६ अंक बनाउन सक्ने सम्भावना छ।
केहीले नेपालले दक्षिण अफ्रिकालाई जितेको अवस्थामा बंगलादेशसँगको खेल वर्षाले रद्द भए पनि नेपाल सुपर ८ पुग्न सक्ने दावी गरिरहेका छन्। तर, यो निकै चमत्कारपूर्ण अवस्था हो किनकि यसको लागि बंगलादेशले नेदरल्याण्डसँग ठूलो अन्तरले हार्नुपर्छ। र, त्यो अवस्थामा नेदरल्याण्डकै नेट रनरेट उच्च हुनेछ र नेदरल्याण्ड आफैं नेपालभन्दा माथि हुनसक्छ।
यसबाहेक नेपालले आफ्नो नेट रनरेट बंगलादेशको भन्दा माथि लैजान दक्षिण अफ्रिकालाई पनि निकै ठूलो अन्तरले हराउनुपर्नेछ। यतिले मात्रै नेपालको नेट रनरेट नेदरल्याण्डको भन्दा माथि पुग्दैन। यसको लागि अर्को प्रमुख शर्त नेदरल्याण्डले श्रीलंकासँग ठूलो अन्तरले हार्नुपर्नेछ ताकि उसको नेट रनरेट माइनसमा पुगोस्।
यी सबै अवस्थाहरु नेपालले चाहेजस्तै हुनु सम्भव देखिँदैन। यस्तोमा नेपाल सुपर ८ पुग्ने सबैभन्दा विश्वासिलो बाटो भनेको दुवै खेल जित्नु हो। नेपालले दुवै खेल जितिसकेपछि पनि नेदरल्याण्डले श्रीलंका वा बंगलादेशसँग हारेमा मात्रै नेपाल सुपर ८ पुग्न सक्छ।
नेदरल्याण्डले एउटा खेल हार्दा उसको ४ अंक मात्र हुन सक्छ। बंगलादेशले पनि नेपालसँग हार्दा उसको पनि ४ अंक हुनेछ। र, दुवै खेल जित्दा नेपालको ५ अंक हुनेछ।