काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यसबारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन ।
त्यसैगरी मन्त्री पुनले घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक काम थाल्ने बताए । उनले त्यसका लागि आवश्यक परेमा कानुनसमेत बनाउने योजना बजेट भाषणका क्रममा सार्वजनिक गरे ।
उद्योग वाणिज्य मन्त्रालयले केही समय अगाडि घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्नको लागि प्रदेशस्तरका मुख्यमन्त्रीहरुसँग कार्यशाला पनि सञ्चालन गरेको थियो ।
घरेलु मदिरा र गाँजा दुवैलाई अवैध भन्दै प्रहरीले नष्ट गर्ने गरेको छ । गाँजा खुलाउन प्रदेशदेखि संघीय सांसदले पनि दबाब दिँदै आएका छन् ।
किरात राई, लिम्बु र मगरसहितका आदिवासी जनजातिहरूले घरेलु मदिरालाई ब्रान्डिङ गर्न नसक्दा बजार पाउन सकेको छैन ।