२०८२ माघ २८ गते, बुधबार ०८:२४

न्युरो सर्जरीमा कोमल हात

७ वैशाख, काठमाडौं । गएको वैशाख ३ गते सोमबार दिउँसो २ बजे । वीर अस्पतालस्थित सर्जिकल भवनको पाँचौं तला । यहाँ सन्नाटाबीच पनि कोलाहल प्रतीत हुन्छ । उही हतारो, उही प्रतीक्षा अनि उही संशय । प्रतीक्षालयमा कुरुवाहरू चुपचाप, तर शान्त देखिंदैनन् ।

अब शल्य कक्षमा प्रवेश गरौं, जहाँ करिब आधा दर्जन चिकित्सक यन्त्रवत् खटिएका छन् । त्यहाँ एक २६ वर्षीया युवतीको मेरुदण्डमा भएको ट्युमर निकालिंदैछ । र, यसका लागि अग्रसर छन्, कोमल हातहरू । अर्थात् महिला चिकित्सकको समूह ।

सर्जन डा. नम्रता खड्काको नेतृत्वमा डा. पूजा चौरसिया, एनेस्थेसिस्ट डा. सिम्रिका ताम्राकार, एनेस्थेसिया नर्स पुनम महर्जन र नर्स सिन्धु गौतमको समूहले अविच्छिन्न तीन घण्टाको शल्यक्रियापछि मेरुदण्डको ट्युमर निकालियो । ती युवती ट्युमरकै कारण दुवै खुट्टा नचल्ने अवस्थामा वीर अस्पताल पुगेकी थिइन् ।

यो कथा एक जटिल शल्यक्रियाको होइन, न त कुनै रोगको नै । बरु न्यूरो सर्जरीका लागि खडा भएको महिला टिमको हो, जो वीर अस्पतालमा अहोरात्र खटिएका छन् ।

वीर अस्पताल न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा. राजीव झा भन्छन्, ‘शल्य चिकित्सकका लागि पूर्ण महिलाहरूको टिम तयार भएको यो नेपालमा पहिलो हो ।’

करिब ६ महिनाअघि डा. नम्रताको अगुवाइमा एक शल्यक्रिया भइरहेको थियो । न्युरो विभागका प्रमुख प्रा.डा. राजीव झा ‘ब्याक सपोर्ट’ मा थिए । त्यसदिन झाले ख्याल गरे ‘सिंगो महिलाको समूहले नै शल्यक्रिया गरिरहेको छ । यो त नेपालको चिकित्सा क्षेत्रमा एउटा अनुकरणीय काम हो ।’



चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा डा. उपेन्द्र देवकोटाले सन् १९८९ मै न्युरो सर्जिकल इकाइ स्थापना गरेका थिए । जुन वीरको पुरानो विभागमध्ये एक हो । तर ३५ वर्षपछि पहिलो पटक महिलाको रूपमा डा. नम्रताले वीरमा एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री) गर्न जोडिएकी छिन् । हाल एमसीएचको तेस्रो वर्षमा अध्ययन गरिरहेकी नम्रता वीर अस्पतालको न्यूरो विभागबाट उत्पादन हुने पहिलो न्यूरो सर्जन बन्दैछिन् । त्यस्तै डा.पूजा चौरसिया पनि एमसीएच पहिलो वर्षमा अध्ययन गरिरहेकी छिन् ।

शल्य चिकित्सकमा हुनुपर्ने गुण के हो ? सुरुवाती जिज्ञासाको जवाफ फर्काउँदै डा. नम्रताले भनिन्, ‘चिलको जस्तो आँखा, सिंहको जस्तो मुटु र महिलाको जस्तो कोमल हात ।’ उनीहरूका ती कोमल हातको स्पर्शले सयौं बिरामीको ज्यान जोगाएका छन् ।

‘सर्जरी गर्दा मांसपेशीलाई छुनु, चलाउनुपर्ने हुन्छ । विभिन्न अध्ययनले महिलाले गरेको सर्जरीको आउटकम पुरुषहरूले गरेको भन्दा राम्रो देखाएका छन्’, डा. नम्रता भन्छिन् ।

अधिकांश बिरामी महिला स्वास्थ्यकर्मीसँग झुम्मिछन् । किनकि, उनीहरूसँग भावनात्मक सम्बन्धले निकटता बढाउन मद्दत गर्छ ।

‘हामी बिरामीलाई दाइ-भाइ, बुबा-आमा, दिदी-बहिनी जस्ता नाता लगाएर बोलाउँछौं । बिरामीले पनि हामीप्रति बढी विश्वास गर्नुहुँदोरहेछ’ नर्स सिन्धुले अनुभव सुनाइन्, ‘बिरामीले महिलालाई आफ्नो कुरा छिट्टो भन्ने गर्नुहुन्छ । जुन कुरा पुरुषलाई सहज रूपमा भन्दैनन् ।’ महिला स्वास्थ्यकर्मीसँग बिरामी यति खुल्छन् कि आफूलाई परेको दुःख-सुख सहज पोख्छन् ।

महिला टिमले जटिल खालका न्यूरोका शल्यक्रिया गरेका छन् । ब्रेन ट्युमर, मेरुदण्ड ट्युमर, टाउको फुटेको, चोटपटक लागेको वा आकस्मिक रूपमा गर्नुपर्ने सर्जरी महिला टिमकै नेतृत्वमा भइरहेको हुन्छ ।

न्युरो सर्जरीमा सेकेन्ड–सेकेन्डको पनि महत्व हुन्छ । केही समय फरक हुँदा बिरामीको ज्यानै जाने जोखिम समेत रहन्छ । ‘हामीले प्राण जानै आँटेका धेरै बिरामीलाई बचाएका छौं । न्युरो सर्जरीमा बलियो आत्मविश्वास चाहिन्छ । निराश हुने मान्छेले यस्तो काम गर्न सक्दैन’, डा. पूजा भन्छिन् ।

शल्यक्रियामा १४ घण्टा

महिला चिकित्सकका आफ्नै कथा-व्यथा छन् । चाहे त्यो मासिक स्रावको कुरा गरौं वा गर्भावस्थाको । फरक शारीरिक र भावनात्मक अवस्थाबाट गुज्रिरहेका हुन्छन्, उनीहरू ।

त्यस्तो क्षणमा पनि कतिपय शल्यक्रियामा यसरी खटिनुपर्ने हुन्छ, जहाँ विश्रामको कुनै अवसर हुँदैन । घण्टौं-घण्टा लाग्न सक्छ । त्यसमा आंशिक मात्र गडबडी भयो, ढिलाइ भयो भने बिरामीको हालत जे पनि हुनसक्छ ।

एउटा मान्छेको ज्यान मात्र होइन, उनसो सिंगो परिवारको विश्वास पनि बचाउनुपर्ने अवस्था हुन्छ । यस्तो बेला आफैंलाई बिर्सिएर यी चिकित्सक टोलीले अरूको जीवन रक्षा गर्नुपर्ने हुन्छ । निरन्तर १२–१४ घण्टा अप्रेशन थिएटरमा हुनुपर्दा भोक–प्यास मार्न सक्नुपर्छ । घरपरिवार, साथीभाइ, ऐसआराम त्याग गर्न सक्नुपर्छ ।

दुई दिन अगाडिको घटनालाई सम्झिंदै डा. नम्रताले भनिन्, ‘शनिबार बिहान ७ बजे अप्रेशन थिएटर छिरेको बेलुका ८ बजे मात्र निस्किएका थियौं । त्यस समयमा खाना-पानी खान, शौचालय समेत जान मिल्दैन ।’

डा. पूजाको अनुभवमा एक सर्जनमा एकाग्रताको साथसाथै शरीर र मानसिक अवस्था पनि बलियो हुनुपर्छ । ‘पुरुषले मात्रै शल्यक्रिया गर्न सक्छन् भनेर आम मानिसले सोचिरहेका हुन्छन् । तर महिला पनि १५औं घण्टासम्म उभिएर पुरुष सरह नै काम गरिरहेका छौं’, उनी भन्छिन् ।

महिनावारीमा पेन किलर खाएर उपचारमा खटिन्छन्

महिनावारी एक प्राकृतिक प्रक्रिया हो । यस समयमा कतिपय महिला शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा पनि पीडा खेपिरहेका हुन्छन् । तर त्यसको बाबजुद पनि महिला औषधि गरेर सक्रिय रूपमा बिरामीको ज्यान जोगाउन समर्पित भइरहेका हुन्छन् ।

‘महिनावारीको समयमा पेट, ढाड दुख्ने लगायत समस्या भइरहेको हुन्छ । तर औषधि खाएर भए पनि बिरामीको सेवा जुट्छौं’ दुई वर्ष अगाडिको घटना सम्झना गर्दै सिन्धुले भनिन्, ‘त्यस दिन महिनावारी हुँदा खुट्टासम्म रगत बगिरहेको थियो । तर गाह्रो भयो भनेर जिम्मेवारीबाट पन्छिन सकिंदैन नि !’

आफूलाई जत्रोसुकै दुःखको पहाडले थिचे पनि उनीहरू बिरामीकै जीवन रक्षाका लागि लडिरहन्छन् । गाह्रो–साह्रो भए पनि कहिल्यै पनि बिरामीको दिनुपर्ने सेवालाई कमी हुन दिंदैनन् ।

पुरुष समकक्षीले ती बाध्यतालाई नजरअन्दाज गरेको उनीहरूको गुनासो छ । ‘गाह्रो भइरहेको बेला पुरुष समकक्षीले ड्युटी साट्न सहज वातावरण कहिल्यै पाइएको छैन । कहिलेकाहीं पेट दुख्यो भनेर सुनाउँदा महिनावारीको विषयलाई गम्भीर भएर लिएको पनि पाइँदैन’, डा. नम्रताले गुनासो गरिन् ।

आम मानिसमा महिलाले शल्यक्रिया गर्न सक्दैनन् भन्ने बुझाइ

अति संवेदनशील मानिएको न्यूरो सर्जरीमा पुरुषहरूको दबदबा छ । यसका बाबजुद न्यून संख्यामा मात्रै महिलाले न्युरो सर्जरी रोजेका छन् । नेपालमा हाल ११५ हाराहारीमा न्यूरो सर्जन छन् । तर न्यूरो सर्जरीमा ६ जना महिलाको मात्रै हिस्सा छ ।

एक सर्जन बनिसक्दा विवाह गर्ने उमेर पुगिसकेको हुन्छ । विवाह सँगै महिलाको घरपरिवार, छोरा–छोरीको जिम्मेवारी पनि थपिन्छ । तर यी व्यावहारिक चुनौती चिर्दै महिलाले ‘अब्बल’ रहेको प्रमाणित गरेका छन् । उनीहरूले पुरुषले मात्र राम्रो गर्न सक्छन् भन्ने धारणालाई तोड्दै  नेतृत्व तहमा पुगेर उदाहरण प्रस्तुत गरिरहेका छन् ।

विवाह हुनुभन्दा र पछिका दिनमा केही जिम्मेवारी थपिने तर सन्तुलन मिलाएर लगेको खण्डमा विवाह र बालबच्चाकै कारण करिअरमा असर नपर्ने उनीहरूको अनुभव छ । तर, त्यसका लागि परिवारका सदस्यले बुझ्न सक्नुपर्छ ।

बिरामीको सेवामा समर्पित हुँदा स्वास्थ्यकर्मीका परिवारले त्याग गरिराखेका हुन्छन् । ‘कहिले लामो समयसम्म शल्यक्रिया गर्दा समयमा घर जान पाइँदैन । घरमा बच्चाले आमा कुरिरहेको हुन्छ । श्रीमान्ले श्रीमती कुरेको हुन्छ । यी सबै कुरा त्याग नै हो’, डा. नम्रता भन्छिन् ।

एनेस्थेसिस्ट डा. सिम्रिका ताम्राकार

‘अझै पनि महिलाहरू विभिन्न चुनौती आइपर्छ भनेर सर्जरीतर्फ जोखिम लिन चाहँदैनन् । तर मन लगाएर काममा समर्पित हुँदा सफल भइँदोरहेछ’, डा. पूजाले थपिन् । तर पर्दा पछाडि रहेका स्वास्थ्यकर्मीको कामलाई बिरामी र उनीहरूका आफन्तले बुझ्न नसक्दा चित्त दुख्ने नर्स सिन्धु बताउँछिन् ।

महिला सर्जनलाई आम मानिसले अझै पनि विश्वास नगर्दा मन दुख्ने गरेको अनुभव डा. नम्रतासँग छ । ‘रातभर अप्रेशन गरेर बिहान बिरामीको आफन्तलाई स्वास्थ्य अवस्थाको बारेमा बुझाउने कोसिस गरिन्छ । तर पछि त्यही कुरा जुनियर पुरुष सहकर्मीलाई सोध्नुहुन्छ’ डा. नम्रताले अनुभव साट्दै भनिन्, ‘उहाँहरूले महिलाले अप्रेशन ग¥यो भनेर सोच्नुभएकै हुँदैन । त्यतिबेला मन चसक्क दुख्छ !’

डा. नम्रता महिला सर्जन भन्न रुचाउन्नन् । किनकि कुनै पनि पेशाको लिंग हुँदैन । ‘आजसम्म पुरुषले जसरी काम गरिरहेका हुन्छन्, त्यही बराबर हामीले काम गरिरहेका हुन्छौं । महिला र पुरुष भनेर छुट्याउनुपर्ने के छ र ! हामी एक सर्जन हो’, डा. नम्रता भन्छिन् ।

महिलाले पुरुषभन्दा दोब्बर ‘इफोर्ट’ लगाएर काम गरेका हुन्छन् । महिनावारी हुँदा शारीरिक समस्या, घरपरिवारको जिम्मेवारी, सन्तान हुर्काउनुपर्ने अवस्था लगायत कुराले पुरुषभन्दा महिलाले बढी संघर्ष गरेर कामलाई निरन्तरता दिनुपर्ने डा. पुनम बताउँछिन् ।

बिरामी निको भएर फर्किंदा सबै दुःख भुल्छन्

उनीहरू बिरामीको उपचार मात्रै गर्दैनन्, उनीहरुको मर्म पनि बुझ्छन् । विपन्न, असहाय, बेवारिसे बिरामीको साथीहरूसँग पैसा उठाएरै भए पनि निःशुल्क उपचारमा तल्लीन हुन्छन्  । अप्रेशन थिएटरमा कार्यरत नर्सको भूमिका पर्दा पछाडि जस्तो देखिन्छ । तर उनीहरूको खटाई दिन–रात कुनै सर्जनभन्दा कम हुँदैन । बेवारिसे अवस्थामा पुगेका बिरामीको औषधि लगायत कुराहरू जोहो गर्ने काम उनीहरूले गरिरहेका हुन्छन् ।

‘बिरामीलाई आँखै अगाडि मर्न दिन सकिंदैन । जसरी भए पनि औषधिको जोहोमा जुटिरहेका हुन्छौं’, नर्स सिन्धु भन्छिन् ।

न्युरो सर्जरीमा आउने अधिकांश बिरामी टाउकोमा रगत जमेर बेहोश अवस्थामा आइपुगेका हुन्छन् । कोही हात–खुट्टा नचल्ने अवस्थामा हुन्छन्, कोही छारे रोगबाट ग्रसित भएका हुन्छन् । तर जीवन–मरणको दोसाँधमा रहेका बिरामीको जब शल्यक्रिया मार्फत होश फर्किन्छ त्यस क्षण एकदमै खुसीको माहोल बन्छ । डा. पुनम भन्छिन्, ‘त्यसबेला लाग्छ हामीले एक व्यक्तिलाई मात्रै जीवन दिएका हुँदैनौं । ती व्यक्तिसँग जोडिएका व्यक्तिलाई पनि राहत दिएका हुन्छौं ।’

एनेस्थेसिया नर्स पुनम महर्जन

कतिपय केसमा त परिवारलाई समेत पुनर्मिलनको काम समेत गरिदिएका छन् । केही वर्ष अगाडिको घटना सुनाउँदै डा. नम्रताले भनिन्, ‘वीरको आकस्मिक कक्षमा बेवारिसे अवस्थामा आइपुगेका दार्जीलिङका एक युवकलाई परिवारसँग मिलाउने काम समेत गरेका छौं ।’

यसरी बिरामी निको भएर घर फर्किंदा धन्यवाद सँगै आशीर्वाद दिएर जान्छन् । कतिपय बिरामीले यति निकटता प्रकट गर्छन् कि सञ्चो भएर गएपछि बेला–बेलामा फोन गरिरहन्छन् । जसले कामप्रति झन् जिम्मेवार बनाउन उनीहरूलाई उत्प्रेरणा थप्छ ।

तर कहिलेकाहीं भने केही केसमा नसोचेको नतिजाले मन दुःखी बनाउने गरेको उनीहरू बताउँछन् । कतिपय बालबालिका टाउटोमा ठूलो ट्युमर लिएर अस्पताल पुग्छन् । अभिभावकमा पनि डाक्टर प्रति ठूलो आशा हुन्छ । तर १२–१४ घण्टा अथक् मिहिनेतले पनि बचाउन सम्भव हुँदैन, त्यसबेला उनीहरूको मुटु निचोरिन्छ । लाग्छ ‘भगवान् पनि राम्रो मान्छे होइन । अबोध बालबालिका किन अकालमा मार्‍यौं  !’

संघर्षको सिंढी चढ्दै

देशभरका अस्पतालबाट रेफर भएर जटिल खाएका बिरामी वीर अस्पताल पुग्छन् । डा. झाका अनुसार पनि अन्य शल्यक्रिया भन्दा न्युरो सर्जरी तुलनात्मक रूपमा जटिल हुन्छ ।

न्युरो सर्जन हुनका लागि जो–कोही तयार हुँदैनन् । किनकि न्यूरो सर्जन हुन दुःख, मिहिनेत, तनावपूर्ण वातावरणमा काम गर्नुपर्छ । ‘कहिलेकाहीं पूर्वयोजना अनुरूप काम गर्दा थोरै तल–माथि हुँदा बिरामीको मृत्यु समेत हुन्छ । आकस्मिक शल्यक्रियामा तुरुन्तै निर्णय लिनुपर्छ’ डा. झा भन्छन्, ‘तनावपूर्ण वातावरणमा काम गर्नुपर्दा शारीरिक र मानसिक रुपमा  कठिन र चुनौतीपूर्ण हुन्छ । अहिले जसरी महिला चिकित्सकले पुरुष सरह नै अब्बल काम गरेका छन्, जुन उदाहरणीय छ ।’

सर्जन डा. नम्रता खड्का

भक्तपुरको दुवाकोटमा जन्मिएकी डा. नम्रतालाई पारिवारिक माहोलले नै डाक्टर बन्न प्रेरित ग¥यो । उनले बुझ्ने बेलादेखि न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको नाम पत्रपत्रिकामा आउँथ्यो । देवकोटासँगै वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश विष्ट (मामा) काम गर्थे । मामाको कामबाट प्रभावित भएर मानसपटलमा बाल्यकालमै न्यूरो सर्जन बन्ने छाप बस्यो । घरमा डाक्टर बनेको सर्जन र सर्जन भनेकै न्यूरो सर्जन भन्ने खालको वातावरण थियो । त्यही हुर्काइले उनीमा पनि न्यूरो सर्जन हुन प्रेरित ग¥यो ।

‘बाल्यकालमा खेल्दा गुडियाको अप्रेशन गरिदिन्थें’ उनले सुनाइन्, ‘सानैदेखि न्युरो सर्जरीमा प्रभावित भएर रहर जागेकाले खासै गाह्रो महसुस हुँदैन ।’

विद्यालय शिक्षा कोटेश्वरको नवज्योति माविबाट अब्बल श्रेणीमा पास गरेकी नम्रताले एमबीबीएस, जनरल सर्जरी र न्युरो सर्जरीमा छात्रवृत्तिमा अध्ययन गरिरहेकी छिन् । बाल्यकालदेखि नै फरक खालको र चुनौतीपूर्ण काम गर्ने रुचि हुँदा न्युरो सर्जरी रोजेको डा. नम्रता बताउँछिन् ।

यस्तै, चितवनबाट पीसीएल र वीर अस्पतालबाट स्नातक उत्तीर्ण गरेकी सिन्धुले वीरमै न्युरो सर्जरीमा काम गरेको १५ वर्षभन्दा बढी भइसकेको छ । वर्षौंसम्म न्युरो सर्जरीमा काम गर्दै जाँदा उनमा लगाव बढ्दै गयो । उनले काम गर्दै जाँदा जापान गएर न्युरो सर्जरीमै तालिम पनि लिइन् ।

‘सर्जनलाई हामीले राम्रोसँग असिस्ट गर्न सकिएन भने बिरामीको अवस्था बिग्रन सक्छ’ नर्स सिन्धुले आफ्नो अनुभव सुनाइन्, ‘दिन–रात बिरामी हेर्दा भावनात्मक सम्बन्ध रहिरहन्छ । अप्रेशन थिएटरको मात्रै जिम्मेवारीमा रहँदा पनि बिरामीलाई के भयो ? कस्तो छ भनेर वार्डमा समेत हेर्न समेत जान्छौं ।’

डा. पूजा चौरसिया

महिला शल्यचिकित्सकको यो टिममा डा. सिम्रिका ताम्राकार एनेस्थेसिया अर्थात् बेहोश बनाउने काम गर्छिन् । बिरामीलाई बेहोश बनाउन सकिन्छ वा सकिंदैन भनेर हेरिन्छ । न्युरोको सर्जरी गर्दा श्वास–प्रश्वासमा समस्या आउने, रक्तचाप तल–माथि र रक्तस्राव बढी हुने खतरा रहन्छ । ‘कहिलेकाहीं अप्रेशन गर्दागर्दै बिरामीको उच्च रक्तचाप बढाउनुपर्ने वा घटाउनुपर्ने अवस्था रहन्छ’ डा. ताम्राकार भन्छिन्, ‘अन्य सर्जरी भन्दा न्युरो बढी चुनौतीपूर्ण हुन्छ ।’

वीरगञ्जमा जन्मिएकी डा. चौरसियालाई पनि सानैदेखि चिकित्सक बन्ने रहर थियो । ‘उपेन्द्र देवकोटा देखेर डाक्टर बन्ने रहर थियो । मध्यम घरपरिवारमा जन्मिएको यहाँसम्म आइपुग्नुमा अत्यधिक अध्ययन सहित ‘लक’ पनि भयो डा. पूजाले भनिन्, ‘भित्रैदेखिको लगाव भएकाले न्युरो जस्तो विधामा पाइला अगाडि बढाएकी हुँ ।’

डा. राजीव झा लगायत सिनियर चिकित्सकको उत्प्रेरणाले यो स्थानसम्म आइपुगेको बताउँदै डा. चौरसिया भन्छिन्, ‘सुरुवाती दिनमा केही डर थियो । तर पछि विस्तारै डरलाई जित्न सकियो । काम गर्दै जाने क्रममा विस्तारै गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दो रहेछ ।’

तस्विर-भिडियो– चन्द्र आले, भिडियो सम्पादन– नवराज महरा, ग्राफिक्स– अरुण देवकोटा

हट टपिक्स

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM