Saturday, July 27, 2024
घरसमाचारभोलिदेखि चितवनमा २९ औँ वन्यजन्तु सप्ताह मनाइँदै

भोलिदेखि चितवनमा २९ औँ वन्यजन्तु सप्ताह मनाइँदै

चितवन । चितवनमा भोली नयाँ बर्ष २०८१को वैशाख १ गते देखि २९ औँ वन्यजन्तु सप्ताह सुरु हुँदैछ ।

हरेक बर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी सप्ताह मनाइँदै आएको छ ।

निकुञ्ज सहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा सप्ताह मनाइन्छ । रत्ननगरको बछौलीमा रहेको मृग कुञ्ज मध्यवर्ती उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहको उद्देश्य र एक हस्तासम्म गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

वन्यजन्तुको संरक्षण : पर्यापर्यटन र आयआर्जन भन्ने मुल नाराका साथ मनाउन लागिएको सप्ताहमा संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृग कुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वैशाख १ गते उद्घाटन, २ गते टिकौली राजमार्ग वरपर सरसफाई, ३ गते चरा अवलोकन, ४ गते वन्यजन्तु संरक्षणमूलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्तित्वसम्बन्धी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुङ्गा सयर, ६ गते वन,वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली गरिने छ । सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिएकाहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताउनुभयो ।

मृग कुञ्जको अगुवाइमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्था गरी २६ वटा सङ्घसंस्थाको सहकार्यमा सप्ताह मनाइने भएको छ ।

मृग कुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्कीले सञ्चालन गरेको कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त राना, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतको सहभागिता रहेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -