काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ताहरूले आफ्ना संशोधन प्रस्तुत गर्नुभएको छ ।
संसद् सचिवालयमा आज बसेको समितिको बैठकमा सांसदहरु नारायणी शर्मा, सुशिला श्रेष्ठ, पूर्णबहादुर घर्तिमगर, सूर्यप्रसाद ढकाललगायतले शिक्षक नियुक्तमा एकरुपता हुनुपर्ने, शिक्षकलाई निजामती कर्मचारीको भन्दा बढी सेवा सुविधाको व्यवस्था गरिनुपर्ने, विद्यालयहरूमा राजनीतिक सङ्गठन गठन गर्न नपाउने व्यवस्था गर्नुपर्ने र शिक्षकको मर्यादाक्रम निर्धारण गरिनुपर्ने गरी विधेयकमा संशोधन पेश गर्नुभयो ।
सेवा अवधिभर कम्तीमा दुई पटक योग्यताको आधारमा शिक्षकको बढुवा हुनुपर्ने, शिक्षक सेवा आयोगमार्फत शिक्षक नियुक्त गरिनुपर्ने गरी विधेयक संशोधन गरिनुपर्ने विचार सांसदहरुले बैठकमा व्यक्त गर्नुभयो ।