वीरगंज/ वीरगंज महानगरमा कानून विषय अध्यापन गराउने कलेज नै गैरकानूनी रुपमा संचालन भएको पाइएको छ।
कानून विषय संचालन गर्ने एउटा मात्र कलेज नभई गौर कानूनी रुपमा संचालनमा रहेका आठ वटा कलेज एवं एउटा स्कूल समेतमा महानगरले शिलबन्दी गरेर कानूनी कारवाही अगाडी बढ़ाएको छ।
गुणस्तरीय शिक्षाको नारा दिने निजी शैक्षिक संस्थाको छाता सङ्गठनका पदाधिकारीहरूले नै गैरकानुनी रुपमा कलेज तथा विद्यालय सञ्चालन गरेको भेटिएर महानगरले कारवाही अगाडी बढ़ाएपछि माफियाहरू तनावमा परेका छन्।
त्यसरी अवैध रुपमा संचालित दुई वटा कलेजमा महानगरले बिहीबार शिलबन्दी गरेको छ ।
शैक्षिक संस्थाहरूलाई नियमन गर्न अनुगमन गर्ने क्रममा अनुमति नलिएर सञ्चालनमा रहेको वीरगंज-९ स्थित सत्यम पब्लिक कलेज र वडा नं. ८ स्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले शिलबन्दी गरेको हो।
पानी ट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कुलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि शिलबन्दी गरिएको हो।
सत्यम कलेजले रानीघाटस्थित शुभ तारा स्कुल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको पनि भेटिएको थियो।
निजी शैक्षिक संस्थाहरूको छाता सङ्गठन र शैक्षिक संस्थाहरू नियमअनुरूप सञ्चालन हुनु पर्छ भनेर आवाज उठाउनेहरू नै गैर कानुनी रुपमा फर्जी कलेज सञ्चालन गरिरहेको भेटिनु दुर्भाग्यपूर्ण विषय हो । एनप्याब्सनसँग आबद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई बिक्री गरेर सञ्चालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था हो।
महानगरले न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्ने लिएको अनुमतिलाई दुरुपयोग गर्दै अन्य ठाउँमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरिरहेको पर्सा म्यानेजमेन्ट कलेजलाई समेत शिलबन्दी गरेको छ ।
यस अघि गैर कानुनी रुपमा सञ्चालित प्रिन्सटन मोडेल एकेडेमी, युनिभर्सल प्लस टु कलेज, अन्नपूर्ण कलेज, युनिभर्सल एकेडेमी, वीरगंज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजी बीज किड्स प्रि स्कुलमा शिलबन्दी गरिएको थियो।
महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादव, वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा सल्लाहकार अभिषेक तिवारी, शिक्षा अधिकृत नारायण चापागाइँलगायतको टोलीले शैक्षिक संस्थाहरुको अनुगमन र शिलबन्दी गरेको थियो।