Wednesday, November 27, 2024
घरसमाचारअर्थवाणीसशस्त्र प्रहरीको संरक्षणमा तस्करी लाइन संचालन, नेपाल प्रहरी बाधक

सशस्त्र प्रहरीको संरक्षणमा तस्करी लाइन संचालन, नेपाल प्रहरी बाधक

वीरगंज/सीमा सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणको जिम्मा सहित परिचालन गरिएको सशस्त्र प्रहरी बलकै संरक्षणमा पर्साको वीरगंजबाट तस्करीको लाइन खुल्ला गरिएको समाचारहरू प्रकाशमा आउन थालेका छन् ।

वीरगंज मूख्य भन्सार अगाडी एवं पछाडी इनर्वा गाउँ, बाँसघारी लगायतको क्षेत्रबाट वीरगंज स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रहरी अधिकारीको संरक्षणमै खुल्लेयाम तस्करी भइरहेका खबरहरू बाहिरिन थालेका छन् ।

प्राप्त खबर अनुसार बोर्डर आउट पोष्ट वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामज· पाण्डेलाई प्रभावमा पारेर भारतका कुख्यात तस्कर मुख्तार मियाँ र उनको समूहले तस्करीको लाइन संचालनमा ल्याएका छन् ।
सीमा क्षेत्रका सशस्त्र प्रहरीलाई प्रभावमा पारेपछि राती १२ बजे पछि सिमावर्ती भारतीय शहर रक्सौलबाट दैनिक भारी मात्रामा कपडा, मोटर पाटर्स, कस्मेटिक (श्रृंगार)का समाग्री, काजु लगायतका किराना समाग्रीहरु अवैध रुपले भन्सार राजस्व चुहावट गरी चोरी पैठारी भइरहेको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार वीरगंज–रक्सौलबीच तस्करको नामले कुख्याती कमाएका भारतीय नागरिक मुख्तार, जटाधारी लगायतको टोलीले सिमावर्ती क्षेत्रमा परिचालित प्रहरी बलका पदाधिकारीहरुलाई आर्थिक प्रभावमा पारेर दैनिक रुपमै राती १२ बजे देखि ३ बजे सम्म साइकल र टेम्पोमा रक्सौलबाट करोडौं मुल्य बराबरका कपडालगायतका समाग्रीहरु चोरी पैठारी गर्ने गरेका छन् । त्यति मात्र नभई मुख्तार मियाले करिब एक दर्जन महिलाहरू परिचालन गरेर मुख्य भन्सार क्षेत्रबाटै पनि दिउँसो समेत मौका छोपेर भारी मात्रामा कपडा लगायतका सामग्री भन्सार राजश्व छलि गरी भित्र्याउन लगाउने गरेका छन् ।
तस्कर मुख्तार मियाँको टिममा केही भुपु प्रहरी समेतको संलग्नतामा केही घुमुवा प्रहरी र सिमा क्षेत्रमा खटिएका इकाईका प्रमुखहरुसँगको साँठगाँठमा अन्य सामग्रीसँगै करोडौं मुल्यको कपडा भित्र्याएर वीमनपा वडा नं. १६ स्थित रजतजयन्ती चौक छेउछाउमा विभिन्न ट्रान्सपोर्टहरुले तस्करी कै समाग्री ओसार पोसारका लागी खोलेको काउन्टर रुपी गोदाममा रातभरी थुपारेर राख्ने र भोलीपल्ट काठमाण्डौं, नारायणघाट र पोखरा तर्फ पठाउने गरेको श्रोतले जनाएको छ ।

मुख्तारको समूहले मुख्य भन्सार नाकाबाट इ-रिक्सा र टेम्पुको माध्यमले भारतबाट कपडाको तस्करी र नेपालबाट सिल प्याक मदिरा भारततर्फ तस्करी गरिरहेका छन् । कपडा तस्करीको लाईन हरेन्द्रले पाएका छन् । तबारकले काजु र हार्डवेयरको र शम्भुले नेपालबाट मदिरा र भारतबाट कपडा लाईन पाएका छन ।

यस्तै इनर्वागाउँ र भन्सार नाकाबाट अनिल साहको समुहले मोटरसाइकल र साइकलको माध्यमले नेपालबाट चाइनिज स्याउ र भारतबाट पापडको तस्करी गरिरहेका छन भने भारतको रक्सौलबाट दिनहु लाखौँ मूल्य बराबरको अवैधमा रूपमा एक समूहले माछा तस्करी गरि नेपाल भित्रियाईरहेको छ । भारतबाट तस्करी गरी ल्याएको माछा वीरगंजको मिना बजार, बिर्ता बजारमा बिक्री वितरण गर्ने गरेका छन् ।
सशस्त्र प्रहरीको ग्रीन सिग्नलमा संचालित तस्करी लाइनमा पर्साको नेपाल प्रहरी भने बाधक बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह र उनका मातहतका प्रहरीहरूले कडाई गरेपछि दैनिकजसो तस्करी भई आएका सामानहरू नेपाल प्रहरीले बरामद गर्दै भन्सार एवं राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइरहेका छन् ।
मुख्तार मियाँले वीरगंज भन्सारका डिएसपी पाण्डेलाई मात्र नभई सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मूख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक समेतको लागि तस्करीको लाइन संचालन वापतको भाग छुट्याएपछि तस्करीको लाइन पाएको मुख्तारले नै भन्दै हिंडेका छन् ।

मुख्तारसँगै वीरगंज भन्सार र इनरवा क्षेत्रबाट राहुलले हार्डवेयर, जुत्ता, काजु लगायतको तस्करी गर्ने गरेका छन् । त्यस्तै तबारक, विकास गुप्ता, मालती, जयलाल, असरफलगायतले कपडाको खुल्लेयाम तस्करी गरिरहेका छन् ।
देश दिनदिनै आर्थिक संकटमा परिरहेको र भन्सार राजश्व लक्ष्यभन्दा न्यून उठिरहेको समयमा जिम्मेवार निकायकै संरक्षणमा तस्करी कार्य मौलाएको देखेर पनि सरोकारवाला निकायको मौनता आफैंमा आश्चर्यको विषय बनेको छ ।
वीरगंजको छपकैया, सिर्सिया, ड्राइपोर्ट, अलौं, अमरपट्टी, प्रसौनी, भिस्वा लगायतको नाकाबाट पनि सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक तस्करी भैरहेको सन्दर्भमा हाम्रो समाचार संकलन अभियान जारी छ । पाठकहरूमाझ क्रमश: प्रकाशन गर्दैै जानेछौं ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -