२०८२ बैशाख ६ गते, शनिबार ०८:१२

काठमाडौं । भन्सार छली गरी भित्र्याएका सामानको चेक जाँच गर्ने र राजस्व चुहावट नियन्त्रण गर्ने अभिभारा पाएको राजस्व अनुसन्धान विभागमा महानिर्देशक छिटोछिटो परिवर्तन हुँदा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेको अवस्था छ ।

नेपाल फेसका अनुसार बिभागको महानिर्देशकमात्र होइन, राजस्व अनुसन्धान कार्यालयका प्रमुखहरु समेत ३–३ महिनामा परिवर्तन गर्ने चलखेल भएको छ । राजस्व अनुसन्धान कार्यालयमा भन्सार छली तस्करी नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्ने कार्यालय प्रमुखहरुलाई ३ महिनामै सरुवा गर्ने र राजनीतिक पहँुचका आधारमा सरुवा गर्ने खेल भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलको प्रमुख प्रेमप्रसाद देवकोटालाई ३ महिनामै परिवर्तन गर्ने चलखेल सुरु भएको छ । केही समयअघि मात्रै भन्सार छली भित्र्याएको १६ सय बोरा चिनी बरामद गरेका देवकोटालाई पुरस्कृत गर्नुपर्नेमा उल्टै तीन महिनामै सरुवा गरी दण्डित गर्न लागिएको छ ।

अर्थतन्त्रमा संकटग्रस्त भएको समयमा भन्सार छली तस्करी नियन्त्रण गर्ने र राजस्व असुलीमा अहोरात्र लागेका देवकोटालाई ३ महिनामै सरुवा गरी मनोबल गिराउने काम गर्नु नहुने अडान राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले राखे पनि प्रधानमन्त्री प्रचण्डका निजी सचिव नवराज ढुंगानाले उपसचिव पशुपतिबाबु पुरीलाई बुटवल, तीर्थ खनाललाई कोहलपुर सरुवा गर्न दबाब दिइरहेका छन् ।

यसअघि यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत रहँदा २०७४ साल माघ १ देखि फागुन २५ सम्म जारी गरेका कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी अनुत्तीर्णलाई उत्तीर्ण गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका तेजनारायण यादवलाई बालुवाटारकै दबाबमा राजस्व अनुसन्धान विभागको सबैभन्दा आकर्षक मानिने पथलैया कार्यालयको प्रमु्खमा सरुवा गरिएको छ । महानिर्देशक सापकोटाले त्यस्ता विवादित र विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेर आएका यादवलाई सरुवा गर्न इन्कार गर्दा पनि प्रधानमन्त्री कार्यालयको दबाबमा गर्न बाध्य भएका थिए ।

लाइसेन्स परीक्षामा सहभागी नै नभएका कैंयौको नाम थपघट गरेका गरेका यादवले विशेषबाट सफाइ पाएपछि लुम्बिनी यातायात कार्यालयमा समेत खुलेआम सवारी अनुमतिपत्र बिक्री गरेको आरोप लागेको थियो । प्रतिलाइसेन्स ३० हजारदेखि ४० हजार रुपैयाँ लिएर वितरण गरेको अख्तियारको अनुसन्धान टोलीले विशेष अदालतमा मुद्दा दर्ता गरे पनि रजिष्टार अशोक क्षेत्रीसँग सेटिङ गरी मुद्दा जितेका थिए । तिनै यादवले नवराज ढुंगानामार्फत् प्रधानमन्त्री प्रचण्डकी छोरी गंगालाई रकम कलम बुझाएर पथलैया राजस्वमा सरुवा भएको स्रोतको दाबी छ ।

उपसचिव पशुपतिबाबु पुरीलाई बुटवल राजस्व कार्यलयमा सरुवा गरिदिन पूर्व सहरी विकास मन्त्री तथा नेकपा समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै अनुनय बिनय गरेको बालुवाटार स्रोत बताउँछ । पशुपतिबाबु पुरी झाँक्रीका पति हुन् । झाँक्रीको पटक पटकको अनुरोधलाई टार्न नसकेपछि पुरीलाई सरुवा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व अनुसन्धान विभागका महानिर्देशक सापकोटालाई निर्देशन दिइसकेका छन् ।

पुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आकर्षक मानिने निर्माण ब्यवसायीका कम्पनीको नवीकरण र अनुमति दिने शाखामा ५ बर्षदेखि कार्यरत छन् । त्यतिले मात्र नपुगी उनी थप मालदार अड्डा खोज्दै बुटवल राजस्वमा जान राजनीतिक पहुँच नै प्रयोग गरिरहेका छन् ।

तीर्थ खनाल राजस्व अनुसन्धान विभागमै बसी अकूत कमाइ गर्न पल्केका उपसचिव हुन् । उनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको खर्चपर्च ब्यहोर्ने हुँ भन्ने गर्दछन् । उनी केही समयअघिसम्म राजस्व अनुसन्धान कार्यालय रुपन्देहीको प्रमुख थिए । राजस्वमा बसी तर मार्न पल्किएका उनी इटहरीपछि कोहलपुरमा सरुवा हुन कांग्रेस महामन्त्री शर्मामार्फत् लागिरहेका छन् । कोहलपु्र राजस्वका सुरेश जोशीको सरुवा भएको पनि ३ महिनामात्रै भएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक सापकोटा भन्सार छली तस्करी नियन्त्रण गर्न लागेका छन् । तर मातहतका कार्यालयमा विवादित र अख्तियारले डामेकाहरु प्रमुख भएपछि उनको मिसन कसरी सफल हुन्छ ? राजस्वकै एक अधिकृतले भने ।

प्रतिक्रिया लेख्नुहोस्