वीरगंज/ नेशनल मेडिकल कलेज एवं शिक्षण अस्पताल, वीरगंजका प्रबन्ध निर्देशक बसरुद्दीन अंसारीका छोरा युवतीसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। अंसारीको छोरासहित अन्य पाँच जनालाई पनि सोही काण्डमा पक्राउ गरेर हिरासतमा राखेको स्रोतले जनाएको छ।
स्रोतले दिएको जानकारी अनुसार बसरुदिन अंसारीका २५ वर्षीय छोरा जहाँगिर अंसारीसहितका ६ जनाको समूहमा रहेका युवाहरुले युवतीसँग दुर्व्यवहार गर्दा घटनास्थलमा गएका प्रहरीलाई नै उल्टै अभद्र व्यवहार गर्दै धम्क्याउन थालेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी गएर सो समूहलाई गिरफ्तार गरेको थियो।
नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीका २५ वर्षीय छोरा जहाँगिर अंसारीसँगै ३२ वर्षीय फिरोज अंसारी, ३१ वर्षीय अल्फाज अंसारी, २७ वर्षीय तारीख अंसारी २४ वर्षीय आशीष साह र आदित्य गिरीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ।
पक्राउ परेका मध्ये अधिकांशले अत्यधिक मात्रमा मापसे गरेको नारायणी अस्पतालको स्वास्थ्य परीक्षणबाट खुलेको थियो।
यता पक्राउ परेका आफ्ना छोरालाई छोड्न बसरुदिन अंसारीले प्रहरी प्रशासनले विभिन्न किसिमका प्रलोभनसहितका दबाव दिइरहेको बुझिएको छ। तर पर्सा प्रहरी आर्थिक प्रलोभनलगायतको दबाव र प्रभावमा नपरी कानून अनुसार कारवाही हुनु पर्ने अडानमा रहेको देखिन्छ।