वीरगंज/वीरगंज महानगरपालिकाको मुख्य प्रयोजन र एउटा नीजि कलेजको १०औँ स्थापना दिवसका अवसरमा आयोजित खाना महोत्सवले भोजपुरी क्षेत्रको मौलिक तथा परम्परागत खानपानमाथि गंभीर प्रहार गर्ने भएको छ।
कलेजले सार्वजनिक गरेको खाना सूचीमा भोजपुरी क्षेत्रको मौलिक खाना समवेश गरिएको छैन। पत्रकार सम्मेलन मार्फत मौलिक खाना र संस्कृतिको प्रस्तुति गर्ने प्रतिबद्धता जनाए पनि आयोजकले आधुनिक खाद्य सामग्री अर्थात परिकार समावेश गरि खाना महोत्सवलाई कुरूप मात्र बनाउँदै छैनन्, यस क्षेत्रको मौलिक खाद्यान्नलाई समेत बदनाम गराउँदै छन्।
खाना सूचिमा पुचका, म:म:, चाट, बिरयानी, एगरोल, चिकेन रोल, चिया/कफी, चाउमिन, पाउभाजी, छोला भटुरा, चिकेन रोस्ट, चिसो पेयपदार्थजस्ता सामग्री राखिएको छ। के यी खाद्य सामग्री/परिकार भोजपुरी क्षेत्रका मौलिक खाद्य सामग्री हुन् र? मौलिकता संरक्षणको नाममा यस्तो भद्दा मज़ाक गर्नु अनुचित भएको खाना पारखीहरूको भनाई छ।
आयोजकहरुले दाबी गरेजस्तो सांस्कृतिक कार्यक्रमले मौलिकताको संरक्षण गर्छ की त्यसमा पनि खुल्ला आक्रमण गर्छ, त्यो पनि हेर्न बाँकी छ।
प्रदर्शनी र मेला लगाएरै खानामा जसरी मौलिक खानपानलाई विस्थापन गर्ने षड्यन्त्र भएको छ, यसले मौलिकतालाई संकटमा पार्ने छ। रात्रीकालीन बजार लगाउने बहानामा भोजपुरी मौलिकतामाथिको यो आक्रमण पाच्य नभएको स्थानीयको भनाई छ।
वीरगंज निवासी स्थानीय युवा धीरेन्द्र तिवारीले प्रश्न गरे, के म:म: भोजपुरी परिकार हो? के चाउमिन भोजपुरी परिकार हो? के चिकेन रोस्ट भोजपुरी परिकार हो? के बिरयानी भोजपुरी परिकार हो? के कफी, छोला भटूरा र कोल्डड्रिंक्स भोजपुरी परिकार हो?
उनले भने, “यो सरासर संस्कृति मास्ने काम हुँदैछ, कलेजबाट नै महानगरको सहयोगमा यसरी सांस्कृतिक र फूड फेस्टिभल भनेर विदेशी खानाको प्रवर्द्धन गर्ने काम हुन्छ भने यो भन्दा दुःखद विषय अरु के होला र?”