२०८२ बैशाख ६ गते, शनिबार १९:३४

वीरगंज/ वीरगंजस्थित यातायात व्यवस्था कार्यालय सवारी दर्ता तथा नविकरण शाखा भित्र हुने अनियमिता र बदमासी दिनानुदिन बढ्दै गएको पाईएको छ।

सवारी धनिलाई थाहा नै नदिई मोटरसाइकिल अर्कैको नाममा नामसारी गरिएको खबर बाहिर आएपछि यातायात व्यवस्था कार्यालयभित्र हुने अनियमितता र बदमासीको पोल खुलेको हो।

सो कर्मचारीले वीरगंज महानगरपालिका-१७ अलौँका धर्मेन्द्र उपाध्यायको नाममा रहेकोे ना.३५प ८८४४ नम्बरको पल्सर मोटरसाइकल उनको हस्ताक्षरबिना नै चितवनका एक व्यक्तिको नाममा नामसारी गरिएको घटना सार्वजनिक भएको छ।

यातायातका कर्मचारीले वीरगंज-९ रानीघाटका संजीव सर्राफसँगको मिलोमतोमा उपाध्यायको मोटरसाइकल अर्कै व्यक्तिको नाममा नामसारी गरिदिएका हुन् ।

सवारीधनी उपाध्यायले करिब १० महिनाअघि वीरगंजका संजीव सर्राफलाई ७० हजारमा मौखिक रूपमा मोटरसाइकल बिक्री गरेका थिए । उनले सोही दिन धर्मेन्द्रलाई ६० हजार दिएका थिए । धर्मेन्द्रले बाँकी रकम पाएपछि नै मोटरसाइकल नामसारी गरिदिने बताएका थिए । तर, मोटरसाइकल खरिद गरेका सञ्जीवले बाँकी रकम नदिई माघ २९ गते नामसारी भएको कागजात धर्मेन्द्रलाई पठाए ।

सवारीधनी उपाध्यायले आफ्नो नामको सवारी जालसाजी गरेर अर्कैको नाममा गरिदिने कर्मचारी र खरिद गर्ने व्यक्तिविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् । उजुरीपछि प्रशासनले यातायात कार्यालयको सवारी दर्ता तथा नवीकरण शाखालाई पत्र लेखेर उक्त कार्यालयको रजिस्टर झिकाउन र संजीव सर्राफलाई उपस्थित गराउन निर्देशन दिएको छ ।

सो कार्यालयका प्रमुख उमेश रेग्मीले केही दिनअघि आफ्नो कार्यालयबाट सवारीधनीको अनुमतिबेगर अर्कै व्यक्तिको नाममा नामसारी गरिदिएको स्वीकार गरेका छन्।

उनले जिल्ला प्रशासनबाट पत्रआएपछि आफूलाई यो विषयमा जानकारी भएको बताउनु हुँदै त्यस्तो गल्ती गर्ने कर्मचारी उपर छानबिन गरिरहेको बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्