Wednesday, November 27, 2024
घरसमाचारराजनीतिसमानुपातिक त्रुटी सच्याउन छलफल शुरू

समानुपातिक त्रुटी सच्याउन छलफल शुरू

काठमाडौँ/ समानुपातिकको बन्दसूचीको त्रुटि सच्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानदेखि जारी बैठकमा समानुपातिक सांसदको बन्द सूचीमा भएका त्रुटि सच्याउनबारे छलफल भइरहेको सह-महामन्त्री बद्री पाण्डेले देशसञ्चारसँग बताए।

असोज पहिलो साता निर्वाचन आयोगमा संघ र प्रदेश सांसदको बन्दसूचीमा प्राथमिकतामा नपारेको भन्दै कांग्रेसको संस्थापन इतर समूहले विरोध सुरु गरेर पार्टीभित्र विद्रोह सम्मको चेतावनी दिएको छ।

प्रत्यक्षतर्फ पनि सत्ता गठबन्धनमा कांग्रेसलाई प्राप्त भएका सिट संख्याको ४० प्रतिशत इतर समूहलाई चाहिने दाबी गर्दै आएकोमा हिजोदेखि उक्त अडानमा केही लचकता अपनाउने नीति लिएको छ।

संस्थापन पक्षविरुद्ध आन्दोलन गर्दै आएको इतर समूहले समानुपातिकतर्फको बन्दसूचीको वरीयतामा सुनिश्चितता र प्रतिशतमा लचकता अपनाउने संकेत गरेको हो।

सूची हेरफेर गर्दा आफ्ना मान्छेको वरीयताअगाडि राख्न सके समानुपातिक सांसद बन्ने सम्भावना बढ्ने भएकाले इतर समूहले यसलाई प्राथमिकतामा राखेको हो।

बिहीबार दिनभरजसो औपचारिक-अनौपचारिक छलबाट यस्तो निष्कर्षमा पुगेको डा. शेखर कोइराला नेतृत्वको इतर पक्ष शुक्रबार बिहानैदेखि अनौपचारिक छलफलमा छ।

इतर समूहले आफ्नोतर्फबाट ४४ जनाको नाम संस्थापन पक्षलाई बुझाएको छ। इतर समूहले बुझाएको उक्त नामबारे छलफल भइरहेको सहमहामन्त्री पायडेले बताए।

उनले देश सञ्चारसँग भने, ‘हामी आज (शुक्रबार) बिहानैबाट पदाधिकारी छलफलमा छौँ। दिउँसोसम्ममा त्रुटि सच्याउने गरी निर्णयमा पुग्छौँ।’

प्रतिशतमा लचकता अपनाएर समानुपातिकबाट निर्वाचित हुँदा आफ्नो समूहको प्रतिनिधित्व हुुने सुनिश्चितता इतर समूहले खोजेको हो। तर, संस्थापन पक्ष इतरका माग सम्बोधनमा तयार देखिएको छैन।

इतर पक्षका पार्टी पदाधिकारीहरु महामन्त्री गगन थापा, सहमहामन्त्री पाण्डेलगायतले पार्टी सभापति शेरबहादुर देउवालाई मनाउने प्रयास गरेका छन्।

‘हामीले सच्याउने र थप गर्ने नामबारे टुंगो लागिसकेको छैन,’ पाण्डेले भने, ‘हामीले कुनै बटमलाइन राखेका छैनौँ, छलफल गरेर मिलाउन भनेका छौँ ।’

बिहीबार पदाधिकारी बैठकमा इतर समूहका नेताले वरीयता र प्रतिशतसहित आफ्नो पक्षबाट सिफारिस व्यक्तिको नाम पेस गरेका थिए।

आफ्नो समूहले आयोजना गरेको चियापान सकेर इतर समूहका नेता बन्दसूचीबारे छलफल गर्न बोलाइएको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए।

इतर पक्षले असोज ३ गते बन्दसूची बुझाउनुअघि दाबी गरेकै नाम समावेश गर्नुपर्ने अडान राखेको छ।

स्रोतका अनुसार इतरले ३५ प्रतिशतसम्मको बटमलाइन बनाएको छ । शेखर कोइरालानिकट एक केन्द्रीय सदस्यका अनुसार ४० प्रतिशत दाबी गरे पनि पार्टीभित्र आवश्यक नेतालाई समेट्ने सर्तमा समूह संख्या घटाउन तयार छ।

संस्थापन इतर समूहले शुक्रबार बेलुकासम्म देउवाको निर्णय कुर्ने र उक्त निर्णय चित्त नबुझे थप आन्दोलन गर्ने चेतावनी दिएको छ।

समानुपातिकको बन्दसूचीमा भएका त्रुटि सच्याउन निर्वाचन आयोगले १६ गतेसम्मको समय दिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -