वीरगंज, ३२ असार /
नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा मधेशी कोटाबाट हैट्रिक गरेर निर्वाचित भएका अजय चौरसिया केन्द्रिय समितिको बैठकमा अनुपस्थित भएका छन्।
असार २७ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा अनुपस्थित भएका चौरसिया भारतीय महावाणिज्य दुतावसद्वारा आयोजित नाचगान कार्यक्रममा शुक्रवार सरिक भए।
मुलुकको सबभन्दा पुरानो पार्टी नेपाली काँग्रेस जसले अहिले सरकारको नेतृत्व गरिरहेको छ। त्यो पार्टीको केन्द्रिय सदस्य बन्न लगातार “मधेशी कोटा “लाई भरपूर उपयोग गरि केन्द्रिय सदस्य बन्दै आएका अजय चौरसियाको अहिले राजनीति प्रतिको मोह भंग भैरहेको छ। हालै सम्पन्न निर्वाचनमा आफ्नो कमाउने “दूत”हरू पराजित भएपछि चौरसिया क्षुब्ध छन्।
स्थानीय तहको निर्वाचनमा चौरसियाका आफन्त र सहयोगीहरू हारेपछि र अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि भारतको राजधानी दिल्ली गएका थिए। मुटुमा समस्या देखिएपछि चिकित्सकहरूले आराम गर्न र धेरै तनाव नलिन भनेपछि अब विस्तारै बाँकी जीवन आनन्दले राजनीतिबाट सन्यास लिएर बिताउन उनका साथी सहयोगीहरुले सुझाएको कारणले नै उनी नेपाली कांग्रेसको बैठकमा नआएको बताइन्छ।
तपाइँ पार्टीको केन्द्रिय बैठकभन्दा भारतीय महावणिज्य दूतावासले आयोजना गरेको नाचगानप्रति कसरी आकर्षित हुनु भयो भनेर प्रतिक्रिया लिन खोज्दा केन्द्रिय सदस्य चौरसियाले “जे लेख्न मन लाग्छ लेख्नुस्” भन्दै प्रतिक्रिया नदिई फोन काटिदिए।
फोटो स्रोत : सामाजिक संजाल