– डा. अरुणा उप्रेती
सल्यानमा केही महिला स्वास्थ्यकर्मीसँग कुरा गरिहँदा कुपोषण भएको ५ वर्षको बच्चा देखे । महिला स्वयंसेविकाको बच्चा रहेछ । के भएको भनेर ती महिला स्वास्थ्य स्वयंसेविकालाई सोध्दा उनले भनिन् – यो त अहिले तंग्रिदैछ २ महिन सम्म नेपालगंज अस्पतालमा राख्नुपर्यो । घरमा यसले प्याकेटका खानेकुरा, चकलेटमात्रै खाने गर्थ्यो । अनि त बिस्तारै सुस्त हुँदै गयो । दुध खान नमान्ने, भात त मुखमै नहाल्ने।
ठूलो पेट हुँदै गयो । तलमाथि होला कि भन्ने डरै लाग्यो । यहाँका स्वास्थ्यकर्मीले त रोग पत्ता लगाउनै सकेनन् । झन्डै ३०-४० हजार जति खर्च भयो होला नेपालगंजमा लगेर औषधि गराउँदा । त्यहाँका डाक्टरले प्याकेटका खानेकुरा बढी खाएर यस्तो भएको हो । यसलाई अरू खाना ख्वाउनुपर्छ भने । दुई महिना त्यहीँ राखेपछि बल्ल यत्तिको भयो । अहिले त भात, आलु, दुध खान्छ । प्याकेटको खाना त खानु हुँदैन भनेर बुझेको छ ।
अछाम, साँफेबगरको एउटा गाउँमा बेलुकीको खानाका लागि मैले पसल्नीलाई ‘बहिनी, मलाई कोदोको रोटी वा ढिँडो पकाइदिनुस् है भने । उनले नपत्याएर भनिन्, ‘ठट्टा गर्नु भएको हो? काठमाडौँका मानिसले पनि कहीँ कोदो खान्छन्?’ तर मैले ठट्टा गरेको होइन भनेपछि ‘अहिले त छैन, भोलि खोज्न पठाएर पकाइदिउँला’ भनिन् । भोलिपल्ट बेलुकी कोदोको रोटी खान पाइयो । हामीसँगै बसेका साँफेबगरका शिक्षकले भने, ‘तपाईंहरूले त हाम्रो आँखै खोलिदिनुभयो । कोदोलाई कुअन्न भनेर हेपेका थियौँ।’
kehi वर्षअघि पदमकन्या क्याम्पसकी प्राध्यापक कमलाले फोनमा सोधिन्, ‘मेरी बहिनीको शरीरमा रगत कम छ रे! डाक्टरले रगत दिनुपर्छ भनेका छन्, के गर्ने होला?’ काठमाडौंको प्रतिष्ठित निजी अस्पतालमा राखिएकी उनकी बहिनीको शरीरमा फलामको मात्रा कम थियो, त्यसैले हेमोग्लोबिन ६ मात्रै थियो। मैले भनेँ, ‘बहिनीलाई एक साता फलामको भाँडामा पकाएको खाना ख्वाएर हेरौँ, भएन भने रगत दिउँला।’
कमलाले बहिनीलाई घर ल्याइन् र फलामको ताप्केमा पकाएको कालो दालमा कागती निचोरेर, सागपातसहित फापरको रोटी ख्वाइन्। बहिनीको अनुहारमा बिस्तारै लाली चड्न थाल्यो र ८-१० दिनपछि जचाउँदा उनलाई रगत दिनु नपर्ने भयो। किनभने उनको रगतमा फलामको मात्रा बढेको पाइयो।
रगत कम भएका सबै बिरामीलाई फापर र मासको दाल खुवाए पुग्छ भन्ने होइन तर तिनमा भएको पौष्टिकताको हामीले उपेक्षा गरेर ठूलो गल्ती गरेका छौँ।
माथिका उदाहरणले ‘जात फाल्नु गहतको झोलमा’ वा ‘कोदो खाएको बुद्धि’ भन्नेजस्ता गलत धारणा व्याप्त हाम्रो समाजमा खानासम्बन्धी सोच र बानीमा आमूल परिवर्तन जरुरी छ भन्ने स्पष्ट हुन्छ ।
सुदूरपश्चिमका विभिन्न जिल्ला भ्रमण गर्दा मैले सडक पुगेका र सडक नपुगे पनि रेडियो भएका ठाउँमा ज्ञानको साथसाथै विज्ञापन र देखासिकीले उपयोगी, महवपूर्ण र मूल्यवान स्थानीय वस्तु लोप हुँदै गएको पाएकी छु। आमाहरूले केटाकेटीलाई घरको खानेकुरा पौष्टिक हुँदैन भनेर भात वा पीठोबाट बनाइएका खाना दिन छोडेर बट्टाका खानेकुरा दिन्छन् । यी खानेकुरा पनि प्रायशः चामल वा गहुँको पीठोबाटै बनाइएको हुन्छ। यसमा चिनी मिसाएर गुलियो पारिन्छ। गुलियो बालबालिकाले बढी मन पराउने भएकोले यी खानेकुरा घरमा त्यही चीजबाट बनाइनेभन्दा २० गुणासम्म बढी महँगा हुन्छन् तर पौष्टिकता चाहिँ २० गुणा कम हुन्छ। चिनीकोमा स्वादमा बानी परेपछि चिनी नहालेको खानेकुरामा रुचि कम हुँदै जान्छ। अनि एक दुई वर्षको हुँदा त उसको घरको खानाको परम्परा नै बिग्रन थाल्छ।
तयारी खानेकुरामा मैदा, बोसो र रासायनिक पदार्थ मिसिएको हुन्छ। तर, बालबालिकालाई यस्तो खाना खान हुँदैन भनेर स्कूलमा शिक्षकले वा घरमा आमाबाबुले भन्दैनन् । बालबालिकालाई चुरोट नखान सम्झाउने आमाबाबु तयारी खानेकुरा, प्याकेटका चाउचाउ,चिजवल्स खान उल्टै पैसा दिन्छन् । आमाबाबुलाई पनि यस्ता खानेकुराले रोग निम्त्याउँछ भन्ने थाहा छैन ।
घरमा भएको कोदो, मकै, फापर, भटमास आदि पोषणयुक्त खाना बेची बजारका कम पोषणयुक्त तयारी खाना किनेर खाने चलन चलेको देखिन्छ। यसले गर्दा कुपोषण बढ्दो छ। फापर र कोदोमा झंै पोषण धेरै महँगो पाकेट बन्द खानामा हुँदैन।
आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटसले भनेका छन् ‘भोजन नै औषधि हो’। विश्वभरका डाक्टरले बच्चाले खाने तयारी खानेकुराको विज्ञापनको विरोधमा बोलिरहेका छन्। तर पत्रपत्रिका, टीभी, रेडियोमा यस्ता खानेकुराको विज्ञापन आउँछ तर यिनले गर्ने हानिका बारेमा केही आउँदैन ।
विडम्बना, हामी पैसा तिरेर कुपोषण खरिद गरिरहेका छौँ। र, त्यसो गर्नुहुँदैन भन्ने कोही छैन।
अनि देशको भबिश्य के होला ?
फोटो : प्रकाश बहादुर सिंह, बाजुरा
(डा. उप्रेतीको फेसबुक वालबाट साभार)