चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २९ वैशाख/
स्थानीय तह निर्वाचन २०७९ आउन एक दिन मात्र बाँकी रहंदा समेत पर्सा जिल्लामा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम संचालन नहुँदा उल्लेख्य संख्याका मत बदर हुने संकेत देखा परेको छ ।
हरेक निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षाको लागि बजेट पठाए पनि उक्त कार्यक्रम संचालन नै नगरी कागजी प्रक्रियाबाट बजेट खर्च गरिने प्रक्रियालाई स्थानीय तह निर्वाचन २०७९ मा पनि जिल्ला निर्वाचन कार्यालय पर्साले निरन्तरता दिएको आरोप स्थानीयबासीले लगाएका छन् ।
हरेक पटकको निर्वाचनमा राजनीतिक दल, उम्मेदवारको संख्या अनुसार मतपत्र र चुनाव चिन्ह फरक फरक हुनेहुँदा पटक पटक सर्वसाधारण आम मतदाताहरूमा कसरी मतदान गर्ने विषयमा अन्यौल कायम रहंदा यस अघि २०७४ साल मंसिर २१ गते सम्पन्न प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ १०.०९ प्रतिशत मत बदर भएको थियो ।
भोलि अर्थात वैशाख ३० गते हुन लागेको चुनावको लागि पनि पर्सामा मतदाता शिक्षा संचालन नहुँदा ठूलो संख्यामा मत बदर हुने संभावना देखिएको छ ।
निर्वाचन आयोग, नेपालले मतदाता शिक्षा र प्रचार प्रसारको लागि विभिन्न संचारमाध्यमको लागि रकम निकासा गरेर पठाएको भए पनि मतदाता शिक्षा प्रभावकारी नदेखिएको बताइन्छ ।
त्यस्तै जिल्लाका छापा माध्यमको पत्रपत्रिकामार्फ़त मतदाता शिक्षासम्बन्धी प्रचार प्रसारको लागि अति न्यून बजेट आएकोले छापा मध्यमको लागि आएको मतदाता शिक्षा र प्रचार सामग्रीको खर्च फिर्ता पठाउने जिल्ला निर्वाचन कार्यालय पर्साका लेखापाल बृजकिशोर चौरसियाले बताउनु भयो ।
मतदान स्थल र स्थानीय स्तरमा गएर मतदाता शिक्षा संचालनमा जिल्ला निर्वाचन कार्यालय पर्साले तदारुकता नदेखाउँदा मत बदर हुने संख्या पछिल्ला निर्वाचनहरू भन्दा बढ्न सक्ने संकेत देखिएको छ ।
यस विषयमा थप जानकारी लिन जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख, जिल्ला निर्वाचन अधिकारी रंजिता झालाई पटक पटक फोन गर्दा वहाँको फोन उठेन ।