– बिम्मी कालिन्दी शर्मा
मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त प्रस्तुत गरेका थिए । अब मदन भण्डारी त दासढुगाँमा ढुगाँ भएर गैसके । भण्डारीका अनुयायीहरुले उनले प्रतिपादन गरेको जनवादलाई ब्याख्या माथि ब्याख्या गरेर जनता बहुलाउने जनवाद बनाइदिए । आड मदन ज्यूँदै भएको भए जुगाँ मुसार्दै आफ्ना चेलाचपाटीहरुको पुरुषार्थलाई हेरिबस्थे । मदन पनि सिद्धान्त मै सीमित थिए त्यसैले त यो देशमा कार्य र ब्यवहार भन्दा सिद्धान्तलाई बढी महत्व दिइन्छ ।
जबदेखि मदन भण्डारी जबजको सूत्रपात गरे तबदेखि जनता अली अली गरेर बहुलाउन शुरु भैसकेका थिए । अहिले त जनता बहुलावादको चरम या टूप्पोमा छन् । देशमा बहुलवाद त आउन सकेन तर जनता बहुलाउने वादचाँहि आएरै छाड्यो । त्यसैले त सिनेमा हलमा भन्दा बढी भीड पागलखानामा लाग्न थालेको छ । यो देशलाई चाहिएको पनि बढी भन्दा बढी पागलखाना नै हो । यो कुरा देशका सरकार प्रमुखको चालामाला हेरेरै थाहा हुन्छ । जब देशका उच्च व्यक्तित्व नै पागल छन् तब जनता पागल नभएर भो त ? जसो गुरु तसै चेला अनुरुप आफ्ना प्रधानमन्त्रीलाई हेरे जनता पनि बहुलाए ।
एउटा टाउकोमा दुईटा सिगँ मात्र हुँदैन कि यो देशमा राजनीतिक पार्टीमा दुइृटा अध्यक्ष पनि हुन्छन् । सिंह र बाघ दुबैलाई जगँलको राजा बन्नु छ अनि तब तछाडमछाड र शक्ति प्रदर्शन गर्दै राजा बन्न कसरत गर्दैछन् र एउटा त राजा छँदैछन् अब अर्कोलाई पनि राजा बन्नै परेको छ । त्यसैले दुबैको दहाडमा यो नेपाल नामको जगँल त्राहीमाम भएको छ । अझ रमाइलो त के भने यी दुबै सिंह र बाघलाई एक अर्कालाई पत्र लेख्ने सौख चढेको छ । यो पत्र कम घृणा र रिषको ग्यारेण्टी पत्र बढी भएको सबैले महसुस गरेका छन् । दुनिया अन्तरीक्षमा पुगिसक्यो, ईमेल, एसएमएस व्हाट्सएपको जमाना यी दुबै नग्रा झरेका सिंह र बाघ गाउँ फर्क अभियान जस्तै चिठ्ठी पत्रको युगमा फर्केका छन् । यतिसम्म त ठिकै हो कँही दुबै लडाईं झगडा गर्दै लठ्ठी युगमा नपुगिजाउन् भन्ने डर लागेको छ ।
सबैलाई थाहा भएकै कुरा हो एउटा म्यानमा दुईटा तरवार रहन सक्दैन । तर असम्भव कुरालाई सम्भ वगर्न खोज्दै दुईटै तरवार जब एउटै म्यानमा बस्न खोजे तब सब भाँउटो आइलाग्यो । अनि जनता पनि यी दुबैको हानथाप र खिचाँतानी हेरेर अली अली गर्दै बहुलाउन थाले । वास्तवमा कमरेड मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीउ जनवाद जनताको खभएर आफ्नै पार्टी, नेता र कार्यकर्ता मोटाउने वाद थियो । त्यसले त कुनै न कुनै बहानामा यी सबै मोटाउँदै गए र जनता सुकेनाश रोग लागेको रोगी झैं दुब्लाउँदै र बहुलाउँदै गए । अहिले यो स्थिति चरममा छ ।
महिनौं सदनदेखि देशका सबै समस्या थाथि राखेर कोरोनाको महामारीको समयमा पनि देश दुई नेताको तुजुक र अहमको शिकार बनिरहेको छ । यिनीहरुको कियाकलाप हेर्दा यस्तो लाग्छ कि देश एकदमै शान्त र समृद्ध भैसक्यो त्यसैले दुबै अध्यक्षहरु फुर्सदमा भएकोले रमिता गर्दैछन् । आफ्नो व्यक्तिगत स्वार्थको वलिवेदीमा यी दुबैले देश र जनतालाई होमिरहेका छन् । दुबै अध्यक्षलाई उही एउटै थाल र उही खानेकुरा चाहिने भएकोले केही गरे पनि कुरो मिल्न नसकेको हो । यी दुबैको भगडा सौता सौताको जस्तो हो । दुबै सौताहरु प््रधानमन्त्री रुपी लोग्नेकोकाखमा बस्न मरिहत्ते गरिरहेछन् । लोग्ने या देशको काख दुखिसक्यो तर यी दुबैलाई यिनको दुख र पीडासंग कुनै मतलब छैन । यिनलाई मरेपछि पीण्ड खानु छैन त्यसैले ज्यूँदैमा आफ्नो दोहोलो आफै काढ्दै छन् ।
भाषण दिने बेलामा नेकपाका नेताहरु जनताको बहुदलीय जनवादको नारा दिएर खुबै फलाक्छन् तर तिनै जनतालाई आफ्नो कार्य र ब्यवहारले खुनको आँसु रुवाउँदै बहुला बनाउँदै छन् । जनता पनि मर्नु भन्दा बहुलाउनु निको ठानेर जबजको सिद्धान्तलाई सार्थक गर्दै धूमधामले बहुलाउँदै छन् । जनतासंग विकल्प पनि त छैन । कोरोनाले आत्महत्या गर्न उन्मुख गरेकै थियो । दुईटा नेताको शक्तिको होडबाजी र कुर्सीको खिचाँतानीले बहुलाउन प्रेरित गर्दैछ । एउटा व्यक्ति या उसको सिद्धान्तलाई अन्धो भएर अनुसरण गर्दा र दायाँबायाँ नहेर्दा देश र जनता भीरबाट खस्न थालिसके । भीरबाटै खस्नै थाल्दा पनि एउटा उखान सुनाउन र अर्को जीउ ज्यानको कसरत देखाउने मोह छोड्न सकिरहेको छैन ।
अनि जनता बिचरा नबहुलाएर के गरुन त ? देशमा अराजकता मच्चिइको छ, सबैको विवेक धृतराष्ट्रको झैं मरिसकेको छ । नैतिकता र इमानलाई बेचेर खाइसके । कोरोनाले मुखमा मात्र मास्क लगायो तर यिनीहरुको वुद्धि र विवेक मै पैसाको मास्क लागेको छ । त्यसैले देशका वुद्धिजिवी भनेर कहलिएकाहरुको मुख नोटको मास्कले छोपिएको छ । बोल्ने कोही हैनन् सबै रमिता मात्र हेर्ने हुन् । त्यसैले जनता राजनीतिक उठापटकको तमाशा हेरी हेरी बहुलाइ रहेछन् । शायद यो देशमा बहुलाउन पाउनु पनि जनताको मौलिक अधिकार हो । अन्य सबै मौलिक अधिकारहरु कुण्ठित भएको अवस्थामा यही सही ।