काठमाडौं। आशन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले वडास्तरसम्मै तालमेल गर्ने निर्णय गरेको छ। गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजाने पाँच दलीय गठबन्धनको तयारी छ।
सबैले चासोका साथ हेरिएको भरतपुर महानगरपालिका समेत नेपाली कांग्रेसले माओवादीलाई दिने या नदिने अझै टुंगाेलागिसकेको छैन। माओवादीले भरतपुर महानगर पाएमा अघिल्लो निर्वाचनमा कांग्रेसको मतले मेयरमा विजयी भएकी प्रचण्डपुत्री रेणु दाहाल नै यसपटक पुनः दोहोरिने निश्चितप्राय छ।
चितवनको भरतपुर महानगर र प्रचण्डको निर्वाचन क्षेत्रनं ३ मा प्रचण्डले आफू र आफ्नो स्थान सुरक्षित गर्ने भगिरथ प्रयत्न गरेका छन्। उनले आफ्नो सिट सुरक्षित गर्न नेपाली कांग्रेसको मत लिएर चुनाव लड्ने हालसम्मको अबस्थाले संकेत गर्दछ।
केही समय अगाडि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजकि कार्यक्रमाम प्रचण्ड कहिल्यै पनि पराजित हुने चुनाव नलड्ने टिप्पणी गरेका थिए। उनले प्रचण्डतर्फ इंगित गर्दै जसरी भएपनि निर्वाचनमा विजयी हुने व्यक्ति भएको बताएका थिए।
प्रचण्ड निर्वाचन जित्न प्रयत्नशील रहन्छन् र त्यसका लागि ‘जे गर्न पनि’ पछि पर्दैनन् भन्ने आशय देउवाको थियो। कांग्रेसमा देउवाइतरका नेताहरु भने कुनै हालतमा भरतपुर महानगर नछोड्ने अडानमा छन् तर उनीहरुको जोडबल सभापति देउवाका अगाडि कति बलशाली हुन्छ त्यो भने आगामी दिनमा गठबन्धनबाट भरतपुरको मेयरको उम्मेद्वारले निर्धारण गर्ने छ।
चितवन कांग्रेस भरतपुर महानगर माओवादीले छोडेमा संघीय चुनावमा प्रचण्डलाई सघाउने उनीहरुको बटमलाइन छ। तर यी सबै आफ्नै कार्यकर्ताको माग र मनोभावनालाई लत्याउँदै देउवाले भरतपुर महानगर माओवादीलाई दिने तयारीमा रहेको सा्रेतले बताएको छ। अब कांग्रेसको मत लिएर प्रचण्डको जित सुनिश्चित हुन्छ या कांग्रेसकै देउवाइतरको टिमले उनलाई असहयोग गर्ने हो त्यो भने यसै भन्न सकिने अबस्था छैन।
तर कांग्रेस चितवन नेतृत्वमा भने देउवा इतरकै टिमको बाहुल्य छ। सभापति राजेश्वर खनाल शेखर कोइराला पक्षधर हुन्। उनी कुनै हालतमा गठबन्धनले मेयर माओवादीलाई दिन नहुने पूर्ववत् अडानमा यथावत छन्।
पटक पटक पार्टीले भरतपुर छाड्न नहुने भन्दै नेतृत्वलाई राजधानीमा आएर ध्यानाकर्षण गराइसकेका छन्। एकातिर आफ्नै मागलाई पार्टी नेतृत्वले बेवास्ता गरेमा तिक्तता र अर्कोतिर अघिल्लो स्थानीय तहमा छोरी रेणुलाई जिताएर प्रचण्डले यूटर्न गरि एमालेसँग गठबन्धन गरि दिएको धोकाले चितवन कांग्रेसमा माओवादीप्रतिको तुस यथावत नै देखिन्छ। पार्टी केन्द्रको निर्देशनले मेयर छाड्न बाध्य चितवन कांग्रेसले आगामी संघीय र प्रदेश निर्वाचनमा माओवादीलाई भोट देला? यतिबेला गम्भीर प्रश्न खड़ा भएको देखिन्छ ।