– स्वयम्भुनाथ कार्की
दशकौंदेखि नेपालमा केही लाख व्यक्तिहरु राजनीति गर्दैछन् भनिन्छ । सबै कुराको नियन्त्रण नै यहि राजनीतिले गर्दछ भन्ने उपबुज्रुकहरुको बिगबिगी छ । के राजनीति पेशा हो वा पेशा हुन सक्छ ? राजनीति गर्दै गरेकाहरुको अवस्था र हालत हेर्ने हो भने उत्तर हुन्छ “हो राजनीति पेशा नै हो” । पेशा पनि यस्तो उत्तम पेशा कि त्यसमा हरेकपल नाफा नै हुन्छ, उन्नति नै हुन्छ । केही वर्षमै तन्नमलाई अरबपति बनाउन सक्ने राजनीति कस्तो पेशा हो ? कसैलाई चासो लागेको छैन र ?
खेती गर्न खनजोत गर्नु पर्दछ, मल बिउ छर्नु पर्दछ, गोडमेल गर्नु पर्दछ, बाली समेटनु पर्दछ । यी यावत काम गरेपछि त्यो खेती गरेको हुन्छ । समान चिनेर किनेर ल्याई अरुलाई बेच्ने कामलाई व्यापार गरेको भनिन्छ । कच्चा समान जम्मा गरेर ज्यामी, मेसिन प्रविधि लगाई अर्को वस्तु उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ । के के गर्दा राजनीति गरेको हुन्छ ? आजसम्म कसैलाई थाहा छ ? कतै कुनै कार्यालयमा गएर हाजिर बजाएको देखिएको छैन, भएको भए पनि त्यो त नोकरी गरेको भयो राजनीति गरेको त पक्का हैन । राजनीति गर्न चाही के के गर्नु पर्दछ ?
राजनीति गर्ने भन्नेहरुले बन्द गराएको देखिन्छ । दैनिक मजदुरहरुलाई भोकै पारेको देखिन्छ । अरुको सवारी साधन तोडफोड गरेको देखिन्छ । बजार तहसनहस बनाएको देखिन्छ । कहिले काही त मान्छे जिम्दै जलाएको पनि देखिन्छ । के यही गरेकोलाई राजनीति गरेको भनिन्छ त ? अहँ मन मान्दैन, किनभने अरु कसैले यसलाई राजनीति भनेर यिनै काम गरेमा कानुन लाग्छ, र लाग्नु पनि पर्छ । त्यसैले यस्तो कामलाई राजनीति भन्दैनन् होला, तर यो गर्दा कानुनी दायरामा नपरेर सम्मानित हुने सुविधा त त्यही राजनीति गर्नेलाई हुन्छ ।
राजनीति गर्नेहरुले भाषण गरेको देखिन्छ सुनिन्छ । भाषणलाई व्याख्यान पनि भनिन्छ, अर्थात व्याख्यान दिई रहेका भेटिन्छन् । सन्दर्भ र विषयवस्तुसँग मेल नखाने व्याख्यान् । तर यस्तै व्याख्यान दिनेहरु सडकका किनारामा बसेर दन्तमञ्जन बेचिीरहेका भेटिन्छन । रमाईला कुरा गरेर मान्छेलाई मख्ख पार्दै शिघ्रपतन रोक्ने शिलाजित बेच्दै गरेका भेटिन्छन् । शुरका कुरा गरेर विद्यार्थी पढाउने शिक्षकहरु पनि भेटिन्छन् । पार्कहरुमा कराउदै हिंड्नेहरु पनि भेटिन्छन । तर ती मध्ये कसैको पनि व्याख्यान राजनीति गरेको हैन । अर्थात यो गर्नु पनि राजनीति हैन ।
कुनैकुनै वेलामा सभागारहरुमा माइक भाँच्दै भेटिन्छन । कुर्सी तोड्दै भेटिन्छन , एक अर्काको कठालो समात्दै गरेका पनि भेटिन्छन । के यो काम गर्दा राजनीति गरेको मानिन्छ ? यस्तो काम त संक्रान्ति बजारमा बेलुका तिर प्रशस्त देखिन्छ, राँके बजार, सिरुवा मेला तिर पनि देखिन्छ । त्यहाँ कुर्सी भने पाइन्न । कुर्सी नै भाँच्नु पर्ने हो भने पनि साँझतिर भट्टि पसलमा यदाकदा देखिन्छ । तर तिनलाई पनि राजनीति गरेको भनेको सुनेको छैन ।
फेरी यी सब काम गरेर हिजोसम्मको भुक्के चप्पलधारी भोली करोडौको गाडीको मालिक बन्दैन । पल प्रतिपल सम्पत्तीको ओईरो लाग्ने, मानमनितो पाईने, वेलावेलामा सत्तास्वाद चाख्न पाईने राजनीति गर्न के गर्नु पर्छ ? एकपटक सत्तामा पुगेपछि जुनै अपराध गर्दै गरेको भेटेपनि प्रहरीले सलाम गर्ने हैसियत दिने यो राजनीति गर्न के के गर्नु पर्दछ ? कुनै खास कुलमा जन्मिनुपर्ने त हैन होला ? कि कुनै खासखास नेताहरुको चरणचम्पी गर्नु पर्छ, दही जमाउन दुधमा “जोरन” हाले जस्तै ? के गर्दा राजनीति गरेको हुन्छ ?
यो कुरा पत्ता लागेमा नेपालीहरु मरुभूमिमा ऊँट चराउन जानै पर्दैन थियो । इजरायलमा बुढाबुढी स्याहार्न जानै पर्दैन थियो, न मलेशियामा चौकदार हुनु पर्दथ्यो । भारतमा कसैको गेट बाहिर बसेर “बहादुर” भन्दा “हाँ साप” भनेर सलाम हान्न पर्दैन थियो । कमाठीपुरा, बेगमबजार वा सोनागाछीमा एकराते प्रियसी भएर “काँछी” सुन्नु पर्दैन थियो । सबैले राजनीति गरेर आफ्नो उन्नति गर्ने थिए, सातपुस्तालाई पुग्ने सम्पत्ति जोर्ने थिए ।
विराटनगर १
क्राइमचेक साप्ताहिकमा २०० पौष २ गते प्रकाशित