Wednesday, November 27, 2024
घरसमाचारचीनमा सबै नेपाली सुरक्षित : चिनियाँ राजदूत

चीनमा सबै नेपाली सुरक्षित : चिनियाँ राजदूत

काठमाडौं / चीनले विभिन्न सहरका रहेका नेपालीमा कोरोना भाइरस संक्रमण नभएको प्रस्ट पारेको छ ।

चिनियाँ राजदूत होउ यान्छीले नेपाली सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘हुपे प्रान्त, सहरका अधिकारी र सम्बन्धित विश्वविद्यालयले विद्यार्थीलाई उचित बसोबासको व्यवस्था मिलाएका छन् । उनीहरू सुरक्षित छन् ।’

चीनले नेपाली फर्काउने तयारी गर्न सरकारलाई सुझाव दिएको छ । हुपै प्रान्तमा रहेका करिब दुई सय नेपाली विद्यार्थीले नेपाल फर्कन निवेदन दिएका छन् । ती नेपालीलाई फर्काउन चीनले सहयोग गर्ने राजदूत होउले बताएकी छन् ।

चीनका सबै स्थानमा रहेका नेपाली सुरक्षित रहेको पनि उनले बताइन् । उनले वुहानमा रहेका नेपालीको कठिन अवस्थालाई सम्बोधन गरेको जानकारी दिएकी छन् ।

उनले विमानस्थलमा क्वारेन्टाइन, भाइरसको रक्षा र नियन्त्रणसहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सल्लाहअनुसार भाइरस नियन्त्रणका लागि तयारी थाल्न नेपाल सरकारलाई सुझाव दिएकी छन् ।

नेपाली फर्काउन आदेश जारी
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले आदेश जारी गरेको बताएका छन् ।

चीनबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन ढिला भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएपछि प्रतिनिधिसभालाई जानकारी दिँदै मन्त्री ढकालले कोरोना भाइरस संक्रमण क्षेत्रका नेपालीलाई फर्काउन आवश्यक तयारी भइरहेको बताए ।

‘संक्रामक रोग ऐनअनुसार चीनबाट नेपाली फर्काउन मन्त्रिपरिषद्ले आदेश जारी गरिसकेको छ,’ मन्त्री ढकालले भने । चीनबाट नेपाल फर्कन एक सय ८० जनाले फाराम भरेको मन्त्री ढकालले जानकारी दिए ।

कोरोना भाइरस प्रभावित उहान क्षेत्रमा विमानस्थल बन्द अवस्थामा रहेको र सडक पनि ठप्प रहेकाले कूटनीतिक माध्यममार्फत सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

चीनबाट फर्किनुअघि भाइरसबारे परीक्षण गर्दा त्यसको संकेत देखिए उनीहरूले त्यतै राखेर उपचार गरिने मन्त्री ढकालले बताए । उहानबाट फिर्ता ल्याइने नेपालीलाई १४ दिनसम्म बस्तीभन्दा पर राखेर परीक्षण गरिनेछ । ‘उहानबाट फर्केकालाई कहाँ राख्ने भन्नेमा छलफल भइरहेको छ,’ मन्त्री ढकालले भने । उहानबाट फर्केका १३ जनामा विशेष परीक्षण गर्दा कोरोना भाइरस फेला नपरेको उनको भनाइ छ ।

‘संक्रमित भइहाल्यो भने ३ वटा अस्पतालमा ४३ बेडको व्यवस्था गरेका छौं’, मन्त्री ढकालले भने, ‘रोग आउन नदिन र आएपछि कसरी उपचार गर्ने भन्नेमा सरकारको तयारी छ ।’ रसुवा र तातोपानी नाकामा विशेष सतर्कता अपनाइएको, पोखरा, चितवन र भैरहवामा हेल्थ डेक्स स्थापना गरिएको र संक्रमितबाट बच्ने उपायबारे सार्वजनिक जानकारी गराउन थालिएको मन्त्री ढकालले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -