Tuesday, November 26, 2024
घरसमाचारअर्थवाणीवार्तापछि वीरगंज भन्सारको काम सुचारु

वार्तापछि वीरगंज भन्सारको काम सुचारु

वीरगंज । सोमबारदेखि काम नै बन्द गरेर आन्दोलनमा उत्रिएका वीरगन्ज भन्सार कार्यालयका भन्सार एजेण्टहरु मङगलबा काममा फर्किएका छन् । वीरगन्ज भन्सार कार्यालयमा मङगलबार भन्सार कार्यालयका प्रमुख र भन्सार एजेण्ट संघका प्रतिनिधिबिच भएको वार्तामा सहमति भएपछि एजेण्टहरु आन्दोलन स्थगित गरी मध्यान्ह १२ बजेबाट काममा फर्किएका हुन् ।

भन्सार एजेण्टहरु काममा फर्किएसँगै वीरगन्ज नाकामा रहेका वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह दुवै भन्सार कार्यालयको कामकाज सुचारु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए ।

भन्सार क्षेत्रबाट जाँचपास भएको मालसामान भन्सार विभागले बाटोमा धरपकड गरेर भन्सार एजेण्ट र आयातकर्ताका प्रतिनिधिलाई पत्रचार गरेर मानसिक तनाव दिने गरेको भन्दै त्यसको विरोधमा भन्सार एजेण्ट संघको अगुवाइमा सोमबारदेखि काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

हङकङबाट श्रीमा डिष्ट्रव्युसनले आयात गरेको टेस्ला ब्राण्को दुईवटा कार, वीरगन्ज भन्सारबाट जाँचपास भइ काठमाडौं  लैजाँदै गरेको अवस्थामा भन्सार विभागका कर्मचारीले धादिङको आदमघाटबाट गत मङगलबार नियन्त्रणमा लिइ पुर्नपरीक्षणका लागि वीरगन्ज भन्सार कार्यालयमा फिर्ता पठाइ दिएका थिए ।

यसका साथै विभागले गैरकानुनी रूपमा ल्याइएका टेस्ला गाडी जाँचपासमा संलग्न क्लियरिङ एजेन्टलाई तीन दिनभित्र आवश्यक कागजपत्र बुझाउन पत्र पनि पठाएपछि त्यसैको विरोधमा वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह भन्सारमा कार्यरत भन्सार एजेण्टहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए ।

भन्सार एजेण्टहरुको आन्दोलनका कारण भन्सार राजश्व संकलन नै प्रभावित भएपछि आन्दोलनरत एजेण्टहरुलाई मङगलबार भन्सार कार्यालयका अधिकारीहरुले वार्तामा बोलाएका थिए ।

वार्तामा विभागले बयानका लागि पत्र काटेका एजेण्ट र प्रतनिधिलाई काठमाडौं स्थित विभागमा नभइ वीरगन्ज भन्सार कार्यालयमै उपस्थित भइ बयान दिने सहमति भएपछि मङगलबार मध्यान्ह १२ बजेदेखि काममा फर्किएको भन्सार एजेण्ट विनोद परियारले जानकारी दिए ।

आन्दोलनका कारण १ दिनमा ४२ करोड राजश्व कम

भन्सार कार्यालयको कामकाज नै ठप्प पारेर एजेण्टहरु आन्दोलनमा उत्रिएका कारण सोमबार वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह दुवै भन्सार कार्यालयको राजश्व संकलन नै प्रभावित भएको थियो ।

सोमबार एक दिनमा मात्रै औसतभन्दा ४२ करोड कम राजश्व उठेको भन्सार कार्यालयका कर्मचारीले जानकारी दिएका छन् । दैनिक औसतमा ४० देखि ४५ करोड रुपैयाँ राजश्व उठ्दै आएको वीरगन्ज भन्सारमा सोमबार भने ८ करोड ६८ रुपैयाँ मात्रै राजश्व संकलन हुन सकेको भन्सार कार्यालयका सुचना अधिकारी विमल साहले जानकारी दिए ।

यस्तै दैनिक औसतमा ११ करोडको हाराहारीमा राजस्व संकलन गर्ने सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पनि सोमबार भन्सार एजेण्टहरुको आन्दोलनका कारण ६० लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।

सोमबार आन्दोलनमा उत्रिएका भन्सार एजेण्टहरु सामान पास गर्न नै नआएपछि राजस्व असुली पनि प्रभावित भएको सुख्खा बन्दरगाहको श्रेष्ठले जानकारी दिए ।

यो खबर हामीले अन्नपूर्ण पोष्टबाट साभार गरेका छौं ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -