– शोभा श्रेष्ठ
“जेठी माग्छे पानी कान्छी माग्छे घाम, म एक्लो बुढो कतातिर जाउँ” जस्तै भएको छ आज देशभक्त र सनातनवादीहरुको हालत । कहिले कस्ले बोलाउँछ कहिले कस्ले । उनीहरुको कुरा सुन्दा अहिले नै देशले निकाश पाइहाल्ला कि भनेर १० काम छाडेर बिमारी हावापानी केही नभनी गयो । हात लाग्यो शून्य ।
मुद्दा एउटै, उद्देश्य एउटै तर सुत्रधार हजार वटा । अहिले जति प्रदेश भनेर यी बिचौलीयाहरुले भने पनि हामीले मानेको ७५ जिल्लामा अलग अलग तरिकाले श्री ५ महेन्द्र जयन्ती, श्री ५ वीरेन्द्र जयन्ती, श्री ५ पृथ्वी जयन्ती मनाउन् मेरो भन्नु केही छैन तर एउटा नगरको मानिसले त एकै ठाउँ मनाओस् भन्ने मेरो मान्यता हो ।
श्री ५ ज्ञानेन्द्र सरकारको जन्मोत्सव मनाउन भनी गत साल निर्मल निवास भेला भएका थियौं हामी । त्यो साल सरकार काठमाण्डौ होई बक्सन्नथियो, वहाँको अनुपस्थितिमा भए नि जन्मोत्सव मनाउनु राम्रो थियो तर त्यही निर्मल निवासको प्रांगणमा एकथरीले एकातिर सरकारको तस्वीर टाँगेर अर्काथरिले अर्कोतिर तस्वीर टाँगेर जन्मोत्सव मनाएको मलाई पटक्कै मन परेन ।
अस्ती पुस १४ वीरेन्द्र सरकारको ७५ औं जन्मजयन्ती पनि कसैले जावलाखेलस्थित स्व. श्री ५ वीरेन्द्र सरकारको सालिकमा मनाये भने कसैले नारायणहिटी दरबारको प्रांगणमा । बिडम्बना हेर्नोस्, त्यही दरबारको प्रांगणमा पनि दुई थरिले दुई तिर स्व. श्री ५ वीरेन्द्र सरकारको अलग अलग पोस्टर राखेर दीपावली गरेर मनाए । बाध्यता एकातिर मात्र गए अर्कोतिरको रिसाउलान् कि भनेर कतिले एकै प्रांगणमा दुबैतिर बत्ती जलाएर फर्किये ।
अब पौष २७ गते नजिकै आई रहेको छ । अब दिन दिनै मिटिङ सुरु भैरहेको आजै थियो भोजन गृह, प्रज्ञा प्रतिष्ठान र कता कता । भोली पनि छ । फलानो ठाउँमा भेला भएर जाऔं, ढिस्कानो ठाउँमा भेला भएर जाऔं । भिन्न भिन्न समयमा भिन्न भिन्न ठाउँमा भिन्न भिन्न अभियन्ताहरुको निम्तो छ ।
अब भन्नोस कस्को साथ लागेर राष्ट्र निर्माताको जन्म जयन्ती मनाउन जाने ? एकातिरबाट गयो अर्कोले ए यो त यस्को पो मानिस रहेछ भनेर नाक दुखाउला भन्ने पीर, अर्को तिरबाट गयो, ए यो त फल्नाको रहेछ पखलास् भन्ने पिर झ् अब भन्नोस्, “जेठी माग्छे पानी कान्छी माग्छे घाम म एक्लो बुडो कतातिर जाउँ”भने जस्तै भएको छैन त हामीलाई ?
श्री ५ वीरेन्द्र सरकारको जन्मजयन्तीको समय पनि नारायणहिटिको प्रांगणमा भन्दै थिए कोही “अब यसपालि त हामी राजा यहाँ छिराउँछौं”। मैले भने भाई हो पोहोर पनि त्यसै भन्नु भयो गर्न सक्ने कुरा मात्र गर्नोस् राजाको नै उपहास बनाउने काम नगर्नाेस् । सबैलाई पद चाहिएको, सबैलाई राजाको नाम भजाएर मै बन्नु छ, यत्रा राजावादी छन यत्तिका सनातनवादी छन् । हिन्दू महासंघ रे, के के संघ हो, शिव सेना रे, के के सेना हो, के के कफन सफन हो । कैयौं संघ संस्था छन् यी सब एक भएर राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्तिमा एक दिन छुट्टीकोलागी दबाब दिन नसक्नेले नेपालमा पुन राजसंस्था र हिन्दू राज्य कायम गराउन सक्लान भन्ने कुरामा विश्वस्त हुन कठिन छ ।
(२०७६ पुस २४ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित)