Tuesday, November 26, 2024
घरविचारसार्वजनिक चासोराजावादीको शक्ति परीक्षण

राजावादीको शक्ति परीक्षण

-सन्तोष मिश्र
नेपालको धर्म, संस्कृति, पहिचान, राष्ट्रिय एकता, अखण्डता, सार्वभाैमिकतालाई नाश गर्ने आन्तरिक र वाह्य शक्तिहरुलाई तहस नहस पार्छौं, गणतन्त्रवादीको समूल नष्ट गर्छौं । गौ हत्यारालाई कारवाही गर्छौं जस्ता उत्तेजित नारा लगाउने राष्ट्रवादी र कथित राजावादी भनाउँदाहरुको शक्ति कत्ति रहेछ भनेर गणतन्त्रिक व्यवस्थाले परीक्षण गरेको छ ।

गणतन्त्रवादी नेताहरुको अकर्मण्यताबाट आजित नेपाली जनतालाई पक्षमा लिएर व्यवस्था विरुद्ध लाग्छौ‌ं भनि कोठे बैठक, सामाजिक संजालका भित्ताहरुमा उफ्रिने कथित राजावादी र राष्ट्रवादीहरुको शक्ति वास्तवमै छ कि त्यत्तिकै घुर्की लगाउँदा रहेछन् भनेर परीक्षण गरिएको हो ।

गत विहीबार राजधानी काठमाण्डौको बसन्तपुरमा निकालिएको इन्द्रजात्रामा सहभागी हुन गएका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत, राष्ट्रवादी रघुराज राजभण्डारी, मानवसेवक, लगायत विभिन्न राष्ट्रवादी/हिन्दूवादी अभियन्ताहरुलाई गैरन्यायिक तरिकाले अपहरणशैलीमा समातेर थुनामा रहेको छ ।

राष्ट्रपति आउने कार्यक्रममा कालो लुगा लगाएर आएकै कारण धार्मिक यात्रामा संलग्न हुन आएका सर्वसाधारण नागरिक र राष्ट्रवादी अभियन्तालाई थुनामा राख्नु मुलुकी देवानी संहिता २०७४ विपरित कार्य भएपनि राज्यको निकाय र प्रहरीले नै त्यसलाई मिचेर बिना कुनै पक्राउ पूर्जी गैरकानुनी रुपमा थुनेर राखेका छन् ।

शिवसेना नेपालका अध्यक्ष बस्नेत, राष्ट्रवादी अभियन्ताहरु मानव सेवक एवं रघुराजराजभण्डारीलगायतले विगत लामो समयदेखि राष्ट्रिय अखण्डता, एकता, धार्मिक संरक्षण, विकास लगायतका विषयमा खबरदारी गर्दै आएका व्यक्तिहरु हुन् । उहाँहरुलाई राज्यले राष्ट्रपतिका अवलोकन कार्यक्रममा अवरोध हुन सक्ने आशंका मात्रले थुनामा राखेको खबरहरु प्रकाशमा आइरहेका छन् ।

बाटो हिंड्ने बटुवा, सर्वसाधारण नागरिक र धर्मकर्ममा शरीक हुन आउनेहरुलाई रोडबाट समातेर उनीहरुको मानवअधिकार, हिंडडुल गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि राज्यले हस्तक्षेप गरेर तानाशाहीको हद पार गर्नु स्वभाविक पनि हो । गणराज्यका मसिहाहरुबाट समय‍-समयमा भइआएको राष्ट्रियहितविपरितका कार्यमा खबरदारी गर्ने व्यक्तिहरुलाई परास्त गर्न, मनोबल गिराउन र सकेसम्म सिध्याएरै गणतान्त्रिक व्यवस्थाको रक्षा गर्न गणतन्त्रवादीहरुको कर्तव्य पनि हो ।

तर आफूलाई कट्टर राजावादी/राष्ट्रवादी भनि कुर्लिने झण्डै एकहजार संख्याको हाराहारीमा रहेका विभिन्न नामधारी राष्ट्रवादी, हिन्दूवादी संघ संगठन र त्यसका पदाधिकारीहरु शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत, रघुराज राजभण्डारी, मानव सेवक लगायतका दर्जनौं राष्ट्रवादी/हिन्दूवादीहरुको गिरफ्तारीमा किन मौन ? के हजारौं नामधारी संघसंगठन झोले संगठन मात्र हो ? के तिनले आफूजस्तै उद्देश्य र लक्ष्य लिइ हिंडेका सहयोद्धाहरुमाथि भइरहेको प्रहारविरुद्ध एकजुट हुनु पर्दैन ? के सामान्य विज्ञप्ति, कोठे बैठकको फोटोशेसन, सामजिक संजालमा कुर्लिएर मात्र राष्ट्रिय अखण्डता, सनातन धर्मको रक्षा र समृद्ध नेपालको लक्ष्य पूरा होला त ?

आफ्नो निहित स्वार्थ पूर्तिकोलागि राजसंस्था, राजपरिवारको नाम भजाउन झोलामा संगठन खोल्ने, जुनसुकै कार्यक्रममा उही अनुहार, उत्तिकै उपस्थिति देखाउने र सामाजिक संजालमा फोटो पोष्ट्याउन बाहेक वास्तविक शक्ति पनि राखेका छन् कि भन्ने परीक्षण गर्नकैलागि राष्ट्रवादीहरुमाथि खोजीखोजी गणतन्त्र सरकारले प्रहार गर्दा पनि प्रतिकारमा नउत्रिनुले कथित राष्ट्रवादी संघसंगठनको वास्तविक चरित्र उदाङ्गिएको छ ।

कथित राजावादी/राष्ट्रवादी भनाउँदाहरुमा एकअर्काको अस्तित्व स्वीकार नगर्ने, म ठूलो, मेरो गोरुको बाह्रै टक्का भन्ने दम्भमा गुम्सिएर भित्रभित्रै सिद्धिन लाग्दा पनि सचेत हुन सकेका छैनन् । आज गैर कानुनी र गैर न्यायिक तरिकाले शिवसेना नेपालका अध्यक्षलगायतका राष्ट्रवादीहरु थुनिएको नियति भोली आफूले पनि भोग्न नपर्ला, विदेशी दलाल र राष्ट्रविरोधी तत्वहरु आफूहरुलाई सिध्याउन नआउलान् भन्ने के ग्यारेन्टी छ ? एकचोटी विचार गर्ने कि ?

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -