पुस ३० – माघे सक्रान्तिमा खाने विभिन्न परिकारमध्ये सबैको आफ्नो आफ्नै महत्व विशेषता रहेका हुन्छन् । धार्मिक आस्थासँग जोडेर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने गर्दछ ।
स्वास्थकका दृष्टिकोणले माघ महिनामा घ्यू, चाकू, तरुल, पिंडालु, तिलको लड्डु, खिचडीलगायतका खानेकुरा जाडोमा फाइदाजनक हुने डाक्टरहरु बताउछन् । अल्काका बरिष्ठ पोषणविद् विनिता पन्तका अनुसार चिसो समयमा खाने चाकु, तिलको लड्डु, तरुल पिंडालुले शरीरलाई न्यानो बनाइराख्छ ।
चाकु –
पोषणविद् पन्तका अनुसार चाकु १०० ग्राम खाँदा ११ मिलिग्राम आइरन पाइन्छ । चाकुले चिसोको समयमा शक्ति प्रदान गर्छ । चाकु क्यालोरीको पनि राम्रो स्रोत हो । यसले शरीरमा तातो प्रदान गर्छन । त्यसैले चिसोमा शक्ति प्रदान गर्दछ ।
तिलको लड्डु –
पोषणविद् पन्तका अनुसार तिलको लड्डुमा क्याल्सियम, चिल्लो र क्यालोरीको मात्रा धेरै हुन्छ । ‘जाडोमा शरीर चिसो भएकाले बढी मात्रामा शरीरलाई शक्ति चाहिन्छ’, पोषणविद् पन्त भन्नुहुन्छ, ‘तिलकोे लड्डुले त्यसको पूर्ती गर्छ ।’ तिल ढीलो पच्ने भएकाले शरीरलाई शक्ति प्रदान गरिरहने पन्त बताउनुहुन्छ ।
तरुल पिंडालु –
तरुल र पिंडालु शरीरका लागि राम्रो खानेकुरा भए पनि व्यवस्थापन मिलाउन सक्नुपर्ने पोषणविद् पन्त बताउनुहुन्छ । ‘हामीले दैनिक रुपमा क्यालोरिन धेरै खाइरहेका हुन्छौं’, पोषणविद् पन्त भन्नुहुन्छ, ’तरुलमा क्यालोरी, कार्वोहाइडेट धेरै मात्रामा हुन्छ ।
फाइबर सोलुबल फाइबर र इनसोलुबल फाइबर अर्थात पच्ने र नपच्ने पदार्थ हुन्छ अर्थात तरुलमा खस्रो पदार्थ धेरै हुन्छ र त्यसले शरीरको पेटलाई सफा गर्छ ।’ पन्तका अनुसार स्यालोनियम कपुर पनि तरुलमा हुन्छ र त्यसले शरीरलाई फाइदा गर्छ ।
सबै खानेकुराको फाइदा र बेफाइदा हुन्छ । डाक्टरहरुले खानेकुरा धेरै र नमिलाइकन नखान आग्रह गर्दछन् । पन्तका अनुसार खानेकुरा ब्यालेन्स बनाएर नखाएमा खानेकुराले शरीरलाई बेफाइदा गर्छ । बिरामी हुनुभन्दा पहिला नै खानेकुरा मिलाएर खान डाक्टरको सुझाब छ ।