– सिर्जना वाग्ले
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न भएको छ । वैशाख २८ गते एयर इण्डिया क्षेत्रीय लेखिएको विमानबाट सिधै जनकपुर धाममा अवतरण गरेका भारतीय प्रधानमन्त्रीको मोदी–मोदी । भनेर पुकार्दै भीषण सुरक्षाका साथ भव्य स्वागत गरियो । मोदीले राम जानकी मन्दिरमा भव्य तरीकाले पुजा गरे । यसलाई धार्मिक भ्रमण भनियो । हवाई जहाजको चालकपट्टीबाट हवाई ग्राउण्डमा उत्रिएका मोदीको रातो कार्पेट विच्छ्याएर पर्यटनमन्त्री प्रदीप ज्ञावाली, २ नं. प्रदेशका मुख्यमन्त्री महम्मद लालबाबु राउत गदी, जनकपुर उप महानगरपालिकाका मेयर लगायत जनकपुरवासीले स्वागत गर्दै बाह्र विघाको मैदानमा नेपाली नागरिकहरूमाथि प्रहरीद्वारा लाठी चार्ज गरी नागरिक अभिनन्दन पनि गरियो ।
नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिथिलाको संस्कृति झल्किने एउटै पहिरन लगाई दाई भाई बनेर नौटंकी पनि प्रदर्शन गरे । सोही दिन जनकपुरबाट काठमाण्डौ आइपुगेका भारतीय प्रधानमन्त्रीको सम्मानमा ह्यात होटलमा रात्री भोजको पनि आयोजना गरियो । भोलीपल्ट विहान अर्थात वैशाख २९ गते सबेरै ओलीलाई मुस्ताङस्थित मुक्तिनाथ दर्शन गर्न गए । जानकी मन्दिर र मुक्तिनाथमा दर्शनगर्न जाँदा सुरक्षाको पूरै खटन पटन भारतबाटै आएका सुरक्षा फैजले गरेको थियो । नेपालका सेना र प्रहरीको त्यत्ति खेर खास भूमिका देखिएन । नेपालका पोटोग्राफरहरूलाई पूर्ण रुपमा उपेक्षा गर्दा टेलिभिज फोटोग्राफर र पत्रकारहरूले विरोध स्वरुप क्यामरा डाउन गर्नुपर्ने बाध्यता आएको थियो ।
मोदी भ्रमण सौहार्दपूर्ण होइन, तनावपूर्ण बन्यो । मोदीयमय होइन, मोदीभय बन्यो । मोदी भ्रमणको उद्देश्य धार्मिक पर्यटन र सुरक्षा रणनीतिक थियो । यस अवसरमा मोदीले पनि आफ्नो अभिव्यक्तिमा धर्म, कर्म र कुटनीतिक रणनीतिको संकेत गरे । “बुझ्नेलाई यो कुरो गहिरो छ नबुझ्नेलाई घर वरपर पहिरो जस्तो” भयो । मोदीका सामु ओली नतमस्तक देखिन्थे । भारत सुरक्षा हर्कतका कारण मोदीका सुरक्षार्थ खटिएका नेपालका सुरक्षा अंगका अधिकृतहरू भित्रि मनले खुबै रिसाए । नेपाली देशभक्त जनता झन चिढिएका छन् । कतै मोदी भारतको पुन: प्रधानमन्त्री हुने, नेपालका प्रधानमन्त्री ओली नेपाल प्रान्तको मूख्य मन्त्री पो हुने हो कि ? सिक्किमलाई भारतमा विलय गराएझैं नेपाललाई पनि भारतमै विलय गराईने ग्राइण्ड डिजाइन त होइन ? भनेर अति डराउनुपर्ने अवस्था देखियो । काठमाण्डौको राष्ट्रिय सभागृहमा गोप्य तरिकाले भारतपरस्त र मोदी भक्तहरूको तर्फबाट नागरिक अभिनन्दन गरेको भनियो । तथाकथित नागरिक अभिनन्दनको यत्रतत्र सर्वत्र निन्दा गरियो। सामजिक सञ्जालहरूमा पनि मोदी भ्रमणको चर्को विरोध गरेको पाइयो । विदेशी दलाल, नेपालीहरूबाहेक समग्र देशका सम्पूर्ण नेपालीले मोदी–ओली वार्ता र मोदीको नेपाल भ्रमण असफल र अनिष्ट भएको भनि टिप्पणी र प्रतिकृया गरिरहेका छन् । मोदी नेपाल आउनु दुई दिन अघि मोदीको पहिलो अभिनन्दन गरिने २ नं. प्रदेशको आठवटै जिल्लामा ठूलो आँधीबेहरी, असिनापानी आयो । नेपालका किसानहरूले प्राकृतिक विपत्तिबाट ठूलो क्षति व्योहोर्नु पर्यो । वैशाख २९ गते मुक्तिनाथ पुगेका मोदीले बेमौसमी हिमपात हेर्न पाए । जनकपुरवासी र मुक्तिनाथवासीले प्रकृतिले नै मोदी भ्रमणको विरोध गरेको महसुस गरेका छन् । यो भ्रमण फगत कुटनीतिक नाटक हो, यसको ठोस उपलब्धी केही छैन । दीर्घकालीन असर पर्ने प्रकृतिका थुप्रै काम मोदी भ्रमणले निम्त्याएको छ ।
नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा प्रत्यक्ष असर पर्ने गरी हुने विकास स्वतन्त्र राष्ट्र भनिएको सार्वभौम नेपाली जनताको चाहना होइन । परनिर्भर विकासले देशको राष्ट्रिय स्वार्थ र नेपालीको सामूहिक स्वाथएको रक्षा हुन सक्दैन । विकास देश, काल, परिस्थिति, नेपाली हावा, पानी, माटो सुहाउँदो आम नेपालीलाई लाभ पुग्ने किसिमले हुनु पर्दछ । भारत सरकारका पदाधिकारीले एउटा कुरा बोल्छन्, अर्को काम गर्छन् भन्ने भोगाई नेपाली जनताले अनुभूति गरेकै विषय हो । भारतले नेपालमाथि अवाञ्छित हस्तक्षेप, अनुचित दबाव, अनावश्यक निगरानी, नियन्त्रण, प्रभाव, सीमा अतिक्रमण र सीमा क्षेत्रका जनताहरूमाथि दुव्र्यवहार र थिचोमिचो गर्दै आएको कुरा नेपालीहरूले भुल्न सक्दैनन् । छोटो शब्दमा भन्नु पर्दा ‘नेपाल–भारत सम्बन्ध कस्तो छ ? मुटुमाथि ढुंगा राखी हाँस्नु परेजस्तो छ’ विगतको भोगाई र पीडा हेर्दा आशा निकै कम, निरासा बढी हुने अवस्था र परिस्थिति रहिरला भन्न सकिन्छ । नेपालप्रतिको आजसम्मको भारतीय गलत दृष्टिकोण नसच्याएसम्म नेपाल अद्र्धउपनिवेशबाट मुक्त हुने, नेपाली जनता सुखी र समृद्धि हुने कुरा कोरा कल्पना मात्र सावित हुन्छ । वक्तृत्वकलाका धनी मोदीले नेपालका लम्पसारवादी पार्टीका नेता र सरकारका पदाधिकारीलाई सम्मोहन र वसिभूत गर्न सजिलैसँग सक्दछन् । यसभन्दा अघि दुई पटक नेपाल भ्रमण गरी दिएका आश्वासन कति साकार भए, प्रतिवद्धता जाहेर गरेको अनुदान रकमबाट के कति कार्य कार्यान्वयन गरियो यसको समीक्षा गरेपछि नेपालप्रतिको भारतीय नीति र भारतीय प्रधानमन्त्री मोदीको बोलीको क्षमता छर्ल· हुन्छ । थोरै कुरामा भारतीय राज्य संयन्त्रणका पदाधिकारी, नीति निर्माताले प्रधानमन्त्रीले बोलेको कुरालाई एक कानले सुनेर, अर्को कानले उडाउने गर्दछन् । यो भारतीय कर्मचारीतन्त्र स्थायी सरकारको विशेषता हो । तसर्थ नेपालप्रतिको गलत नीति र व्यवहार नसच्याएसम्म नेपाल र नेपालीले विद्यमान समस्याबाट मुक्ति पाउन सक्दैनन् । ओलीजस्ता द्वैध चरित्रका डबल एजेण्ट नेतृत्वको सरकारले नेपाल र नेपालीलाई थला पार्ने, गलाउने, नेपालको राष्ट्रियता कमजोर, असफल पार्ने, झनझन भारतपरस्त बनाएर नेपाल र नेपालीको अस्तित्व नै समाप्त पार्ने बाहेक नेपाल–भारत सुदृढ बनाएर आर्थिक साझेदारको फाइदा लिन सक्दैनन् । स्वतन्त्र, स्वाभिमान र स्वाधीनता बचाएर नेपाल छिमेकीसँग सहयोग लिन चाहन्छ । छिमेकीसँग आत्मसमर्पण गरेर, दिएको भीख स्वरुपको अनुदानबाट विकास हुन्छ भन्ने कुरामा नेपालीहरूको आसा, भरोसा र विश्वास पनि छैन । नेपाल–भारत–चीन त्रिदेशीय साझा अवधारणाबाट मात्र नेपालमा विकास, शान्ति र राजनीतिक स्थिरता, कुटनीतिक सन्तुलनका लागि आवश्यक वातावरण बनाउन नेपालीहरू अब खुलेर लाग्नु पर्दछ । भारतँग सम्बन्ध बढायो चीन रिसाउने, चीनसँग बढायो भारत चिढिने अवस्थाले नेपालको कनेक्टिभिटी सफल हुन सक्दैन । नेपाली जनतालाई सिंह दरबारले शासन गर्ने, सिंहदरबारमा भारतको शासन रहने अवस्था र व्यवस्थाले नेपालीले युगौंदेखि भोग्दै आएको नियति समाप्त हुन सक्दैन ।
मोदीको पटक पटकको नेपाल भ्रमणले झसँग हुनेगरी धेरै पाठ सिकाएको हामी नेपालीलाई सजग, सतर्क भई भारतीय गलत अभिष्ट र नेपालका शासकहरूको तुच्छ, क्षणिक स्वार्थको प्रतिवाद गर्न, परेको खण्डमा विषण युद्ध चर्काउन तयार हुनु पर्दछ । नेपाल र भारतको परम्परावादी राजनीतिक व्यवस्था र दुष्ट, भ्रष्ट शासकहरूलाई सवक सिकाउने नेपालको राष्ट्रवादी क्रान्तिले मात्र सक्दछ । नेपाल राज्यबाट पालिएका विज्ञहरू देशप्रति वफादार छैनन् । वुद्धिजीवी भनाउँदाहरू अवसरवादी, देशभक्त क्रान्तिकारीहरू संगठित छैनन् । यो कुरा भारतले राम्रोसँग बुझेको हुनाले नेपाललाई गहुँको पीठो गिजोलेझैं गिजोल्न जानेको छ । नेपालको राष्ट्र निर्माण भएको खाका र विकासको आकृति तयार हुन नदिने भारतीय रणनीति र कार्यनीति छ । छिमेकी राष्ट्र चीनको नेपालप्रति आजसम्म ठोस नीति भएको कारण नेपालमाताको प्रतापका कारण भारतपरस्तहहरूको संख्या जतिसुकै बढेपनि नेपालको अखण्डताको रक्षा भईनै रहेको छ । ढलेको छैन । हामी देशभक्त नेपालीहरूको आस्था, संकल्प, दृढता, विश्वास र विरता, अझै आफ्नो विवेक, चेत र पसिनाले एक दिन संसार जित्ने छौं । अब ओली र मोदी छुट्टाछुट्टै देशका प्रधानमन्त्री भएपनि उनीहरूको स्वार्थ र चरित्र मिल्न गएबाट भारतको अभिष्ट पूरा हुने हो कि भन्ने प्रशस्त आशंका जन्मिएको छ ।
लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ दश बल्ड्याङ भनेझैं मोदीले पनि दश बल्ड्याङ खाने दिन पनि आउन सक्दछ । हामी नेपालीले यो दर्दनाक राजनीति र कुटनीतिक अवस्था व्योहोर्न परेको एउटै कारणले हो । सत्ता स्वार्थ राजनीति र नेपालका नेताहरूको दरिद्र मानकिता र अवसरवादी चरित्र नै हो । नेपाल जुन विदेशीले जुन तालमा नचाए पनि हुने मादलजस्तो भएको छ यतिखेर । दुई करोड ३६ लाखको खर्च मोदीको भ्रमणमा भएको छ । मोदीले नेपालमा आफ्नो सुरक्षा नेपाली सुरक्षाकर्मीहरूबाट हुन नसक्ने ठानेर १०० जना काठमाण्डौमा आफ्नो सुरक्षार्थ भारतबाट लिएर आए । यसले नेपाल भारतको सुरक्षा छाताभित्र रहेको हो कि भन्ने भान पनि पर्यो ।
नेपालका सभ्य देशभक्त नागरिकहरूले मोदी भ्रमणले ल्याउन सक्ने संभावित खतरा, नकारात्मक प्रभावका बारेमा नेपाली जनताहरूलाई सतर्क बनाउन निरन्तर खबरदारी गर्न, भारतलाई होसियार गराउन सामाजिक संजाल मार्फत धेरै कुरा अभिव्यक्त गरेका छन् । नेपालका नव युवाहरू युगलाई हाँक्न सक्ने, विदेशी दबाव र प्रभावलाई निस्तेज पार्न सक्ने शक्ति हो । युवाहरूले हरेक नकारात्मक कुराहरूको बेलैमा प्रतिकृया दिन्छन् र आइलाग्नेमाथि जाइलाग्छन् । मोदीको नेपाल भ्रमण जादूमय होइन । यो कुनै नौलो र नयाँ आयाम र अध्याय थप्ने घटना पनि होइन । हामी देशभक्त नेपालीहरूले विरोधकालािग विरोध होइन, नेपाललाई प्रभाव पार्ने भारतीय सबै कुटनीति, रणनीतिको बेलैमा सचेत भएर प्रतिरोध गर्नै पर्दछ । यो हाम्रो राष्ट्रियताप्रतिको संवेदनशीलता र नागरिक कर्तव्य पनि हो । पंचेश्वर लगायतको एजेण्डा कहिले पूरा हुन्छ ? नेपालको अतिक्रमित कालापानी, सुस्ता लगायत सम्पूर्ण भूभाग कहिले फिर्ता हुन्छ ? पटक पटकको आर्थिक नाकाबन्दी फेरी पनि दोहोरिने कि ? सीमा क्षेत्रका नेपाली जनताले कहिलेसम्म भारतीय दूव्र्यवहार सहरिहन पर्ने हो ? तराई मधेशका जनतालाई डुबानमा पार्ने हिसाबले सीमा क्षेत्रमा जबरजस्ती तटबन्ध कहिलेसम्म बनिरहने हो ? नेपालका नदिनाला, प्राकृतिक सम्पदा कब्जा गर्ने काम रोकिने हो वा होइन ? आदि इत्यादी प्रश्न मोदी भ्रमणपश्चात अनुत्तरित नै रहे । यी प्रश्न नेपालका प्रधानमन्त्रीले लिखित वा मौखिक रुपमा भारतीय प्रधानमन्त्री मोदीसमक्ष प्रस्तुत गर्न नसक्नुले नेपालका वर्तमान शासक, प्रशासक नेपाल र नेपालीप्रति वफादार र भरोसायोग्य छैन भन्ने प्रष्ट देखिन्छ । भारतीय ज्यादतीको वर्णन गरेर साध्य छैन, भुत्रोको सम्बन्ध विकास हुन्छ ? नेपालको सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको छ । मोदीको भ्रमणको कारणले । ओलीको प्रधानमन्त्रीको जागिर भारतसँगसँगै ओलीको विरोध र विद्रोह हुँदा जान पनि सक्छन् । संचारकर्मी रवी लामिछाने जस्ता १० जना पत्रकारले नेपाल–भारतबीच विद्यमान समस्याको भण्डाफोर गर्ने हो भने नेपालको निर्माण र सुरक्षा यसै हुन्छ ।
ओली राष्ट्रवादी व्यक्तित्व होइनन्, शंकालु र सन्काहा व्यक्ति हुन् । भारतभक्ति गर्दागर्दै देशभक्ति विर्सन पनि सक्दछन् । मोदी मिशन यसै सफल हुनेवाला छैन । मोदीकै उत्ताउलोपना र भावुकताले नेपाल भूमिबाट विश्वयुद्ध छेडिन पनि सक्दछ । भारत यतिखेर जटिल परिस्थितिमा छ । भारतीयहरू पनि चीन परस्त बन्नुपर्ने बाध्यता तेर्सिएको छ । राष्ट्रवादी नागरिकहरूले कडा शब्दमा मोदीको नेपाल भ्रमणका बेला भएका राष्ट्रघाती अरुण–३ को शिलान्यास, मोदीको सिधै जनकपुर आगमन, कथित नागरिक अभिनन्दन, सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश आदि इत्यादी कुरालाई लिएर तथा भमण राष्ट्रघाती भएको ठहर गर्दै चर्को विरोध गरेका छन् ।
(२०७५ जेठ २४ गते क्राइमचेक साप्ताहिकमा प्रकाशित)