Thursday, February 13, 2025
घरसमाचारसफा हुन नुहाउनै पर्दैन, यस्तो छ ५ वर्ष ननुहाएका चिकित्सकको बयान 

सफा हुन नुहाउनै पर्दैन, यस्तो छ ५ वर्ष ननुहाएका चिकित्सकको बयान 

काठमाडौं । व्यक्तिगत सफाइ भन्नासाथ सकेसम्म दैनिक नुहाउने कुरा आइहाल्छ । तर अमेरिकाका एक चिकित्सकले भने ५ वर्षदेखि ननुहाएको दाबी गर्दै यो बुझाइलाई चुनौती दिएका छन् ।

डा. जेम्स ह्याम्ब्लिनले लामो समयसम्म ननुहाउँदा पनि शरीरमा कुनै दुर्गन्धन नआएको जिकिर पनि गरेका छन् ।

सीएनएनका प्रमुख चिकित्सा संवाददाता डा. सञ्जय गुप्तासँगको ‘चेसिङ लाइफ’ पोडकास्टमा कुरा गर्दै डा. ह्याम्ब्लिनले यस्तो दाबी गरेका हुन् ।

यतिमात्र होइन, उनले स्याम्पु, साबुन र अन्य प्रकारका ‘स्वच्छता’ सम्बन्धी उत्पादनहरू शरीरका लागि हानिकारक भएको भन्दै प्रयोग नगर्नसमेत सिफारिस गरेका छन् ।

स्वास्थ्य विज्ञ र लेखकसमेत रहेका उनले दैनिक नुहाउनुपर्छ भन्ने धारणा परीक्षण गर्न आफैंले ५ वर्षसम्म ननुहाएको बताएका हुन् ।

दैनिक नुहाउने बानी आवश्यकता भन्दा पनि व्यक्तिगत रुचि हो भन्ने उनको जिकिर छ ।

‘कुनै पनि फार्मेसीमा प्रवेश गर्दा रुघाखोकीको औषधि भएको भागको छेउमा साबुन र स्याम्पुको लामो पंक्ति देखिन्छ,’ उनले भने, ‘यसले मलाई सोच्न बाध्य बनायो – यी सबैको उपयोगिता के हो ? यी सबै उत्पादन कत्तिको आवश्यक छन् ?’

छालामा हुने माइक्रोबायोममा जीवाणुको जटिल प्रणाली रहेको हुन्छ जसले छालाको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । बारम्बार साबुन र स्याम्पुको प्रयोगले छालाले स्वाभाविक रूपमा उत्पादन गर्ने बोसोलगायतका तत्त्वहरू हटाइदिन्छ।

‘साबुनले छालाको बोसो, लिपिड्स र तेल हटाउँछ,’ डा. ह्याम्ब्लिनले पोडकास्टमा भनेका छन् ।

यसले सफा गर्ने, छाला सुक्खा बनाउने र त्यसपछि लोसन र अन्य उत्पादनहरूको प्रयोग गरेर पुनः सन्तुलन मिलाउने चक्र सुरु गरिदिन्छ ।

सबैभन्दा ठूलो चिन्ता के हो भने ननुहाउँदा शरीरबाट दुर्गन्ध आउला भन्ने डर हुन्छ। तर, ह्याम्ब्लिनले लामो समयपछि शरीरले आफैं अनुकूलन गरेको अनुभव सुनाए ।

‘तपाईलाई आफ्नो रूपरंग र अनुभूति मनपरिरहेको छ भने र अरूलाई कुनै असहजता भएन भने, धेरै कम प्रयासमै राम्रै हुन सकिन्छ,’ ह्याम्ब्लिनले भने।

यसबाहेक, उनले कसरतपछि पसिना र नुनले भिजेको शरीरलाई केवल पानीले पखाले पुग्ने बताएका छन् ।

पोडकास्टमा डा. गुप्ताले आफूले दैनिक कसरत गर्ने र त्यसपछि पानीले सामान्य पखाल्न मनपर्ने बताएका छन् ।

यसमा ह्याम्ब्लिनले भने, ‘यदि छालामा नुनको पत्र जमेको छ भने, पखाल्नु ठिकै हो । तर, चिप्लो वा चिल्लो वस्तु नभएको अवस्थामा साबुनको आवश्यकता पर्दैन ।’

उनले मानिसलाई ननुहाउन सुझाव दिएका होइनन्, बरु शारीरिक सफाइको विषयमा सोचेर निर्णय लिनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘मानिसले सामाजिक अपेक्षाभन्दा बढी आफ्नो व्यक्तिगत फाइदाको आधारमा निर्णय गर्न सक्नुपर्छ ।’

डा. ह्याम्ब्लिनले ‘धेरै धुनु बराबर धेरै सफा हुनु’ भन्ने सोचलाई परिवर्तन गर्न खोजेका छन् । उनले विज्ञान र व्यक्तिगत सन्तुलनको आधारमा छालाको प्राकृतिक प्रणालीलाई सम्मान गर्दै स्वच्छताको सन्तुलित दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -