निर्माणाधीन कर्णाली राजमार्ग
२८ माघ, काठमाडौं । हुम्ला सदरमुकाम सिमिकोट अझै पनि राष्ट्रिय सडक सञ्जालमा पूर्णरूपमा जोडिन सकेको छैन । सोहीकारण सरकारले सबै जिल्ला सदरमुकामसम्म सडक पुर्याउने लक्ष्य हरेक वर्ष राख्दासमेत पूरा नभएको हो ।
सडक विभागका अनुसार सिमिकोट राष्ट्रिय सडक सञ्जालमा अस्थायी रूपमा मात्र जोडिएको छ । तर, खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज नबन्दा सदरमुकाम पूर्णरूपमा सडक सञ्जालमा जोडिन नसकेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार अबको तीन महिनाभित्र खार्पुनाथमा पुल बनाइ सक्ने योजना छ ।
यसबाट हुम्ला सदरमुकाम सिमिकोटसम्म राष्ट्रिय सडक सञ्जाल स्थापित हुनेछ । मन्त्री दाहालले मिति नै तोकेर तीन महिना समय दिएका छन् ।
उनले चट्टान छेड्दै नेपाली सेनाको सहयोगमा यो सडक बनाइएको समेत बताएका छन् । सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार अहिले बेलीब्रिज निर्माणको काम भइरहेको छ ।
यसको निर्माण अबको तीन महिनाभित्र सकिने अपेक्षा गरिएको र त्यसपछि वर्षायाममा समेत सिमिकोटसम्म सडक सुविधा पुग्ने छ ।
अहिले हिउँद याममा पानी कम हुँदा कर्णाली नदी पार गरेर ट्याक्टर, स्क्याभेटर, डोजर सहित साना सवारीसाधन समेत चल्ने गर्छन् । पानीको बहाब बढेपछि भने सडक बन्द हुने गरेको छ ।
हुम्ला जिल्ला सडकसँग भने यसअघि नै जोडिएको थियो । अन्य ७६ जिल्ला सदरमुकाममा भने यो सुविधा पुगिसकेको छ । सिमिकोटमा नेपालतर्फबाट सडक पुर्याउन निकै मिहिनेत गर्नुपरेको छ । उता सिमिकोट–हिल्सा खण्डमा भने नियमित सवारीसाधन चल्छन् । यस खण्डमा ट्याक्टर र जिपले नियमित सेवा दिइरहेका छन् ।
गत वर्ष रसुवागढी हुँदै चीनतर्फबाट दुई वटा बस समेत पुर्याइएको छ । विगतमा हेलिकप्टरबाट सवारीसाधन ढुवानी गरेर लगिएको थियो । अहिले भने तिब्बतको बाटो हुँदै हुम्लामा सवारीसाधन लैजान सहज भएको छ ।
हुम्लामा निर्माण भएको सडक अझै कच्ची छ । खार्पुमा पुल निर्माणका लागि २०७८ सालमै ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । कर्णाली करिडोर नियमित सञ्चालनमा ल्याउन र सदरमुकाम सिमिकोटलाई सडक सञ्जालमा नियमित जोड्न यो पुलको महत्त्व छ ।
उत्तर–दक्षिण कर्णाली करिडोरको कुल लम्बाइ १ सय ४५ किलोमिटर छ । यो आयोजना २०६५/६६ देखि सुरु भएको थियो । तर, यस आयोजनाको भौतिक प्रगति ३० प्रतिशत हाराहारी मात्र पुगेको छ ।
कर्णाली करिडोर अन्तर्गत अहिलेसम्म १७.७ किलोमिटर खण्डस्मिथ र १ सय ३५ किलोमिटर कच्ची सडक बनेको छ । कालोपत्र हुन बाँकी छ । नेपाली सेनाले जिम्मा लिएको लालिबगर–दुल्लीकुन्ना खण्ड र घाट पारिचौर–बद्रिगाउँ–भुक्काखोला खण्डको कुल २२.०५ किलोमिटर सडकको भौतिक प्रगति ७२.५६ प्रतिशत छ । यस खण्डमा १५.३५ किलोमिटर ट्र्यक खन्ने काम सकिएको छ ।