Tuesday, February 11, 2025
घरसमाचारस्वास्थ्यको अबको दिशा-हेल्दी सिटी अभियान

स्वास्थ्यको अबको दिशा-हेल्दी सिटी अभियान

हेल्दी सिटीतर्फ अग्रसर धरान । जसले विश्व स्वास्थ्य संगठन, दक्षिण पूर्वी एशियाबाट आशयपत्र प्राप्त गरिसकेको छ ।


विश्वमा २०औं शताब्दीको मध्यतिरका दशकमा व्यक्तिकेन्द्रित रोगको मेडिकल उपचार, अस्पतालमा आधारित स्वास्थ्य स्याहार, सरसफाई प्रवर्धन, खोप तथा औषधि-उपकरणको विकास एवं विस्तार र मेडिकल बीमा जस्ता क्रियाकलाप मार्फत स्वास्थ्य सुधारका प्रयास भएका थिए।

सन् १९६० को दशकमा अमेरिकामा जनरल सर्जनले सूर्तीजन्य पदार्थको सेवनले क्यान्सर तथा म्यासाचुसेट्समा फ्रयाङ्गमले गरेको अध्ययनले व्यक्तिको खराब जीवनशैलीको कारणले मुटुरोग लाग्ने भनी सनसनीपूर्ण तथ्यहरू सार्वजनिक गरे।

विकसित देशहरूमा अस्पतालमा आधारित स्वास्थ्य स्याहारको दबदबा रहेको उक्त समयमा रोगको प्रवर्धनात्मक तथा प्रतीकारात्मक आयामबारे खास अभ्यासहरू भएका थिएनन्। तर त्यो महँगो मेडिकल स्याहार खर्च गरिब तथा विकासोन्मुख देशहरूले धान्न सक्ने अवस्था रहेन। त्यसपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अगुवाइमा सन् १९७८ मा अल्माआटा सम्मेलनमा प्राथमिक स्वास्थ्य स्याहार मार्फत सबैका लागि आधारभूत स्वास्थ्य भन्ने नारामा विश्व समुदायलाई एकैसाथ प्रतिबद्ध गराउन क्रान्तिकारी पहलकदमी भएको थियो।

अल्माआटा सम्मेलन हुनुअगावै सन् १९७४ मा क्यानडाका तत्कालीन स्वास्थ्य मन्त्री मार्क ल्यालण्डेले ‘अ न्यू प्रस्पेक्टिभ अन द हेल्थ अफ क्यानाडियन’ नामक बहुप्रतिष्ठित दस्तावेज मार्फत स्वास्थ्यको नयाँ भावी दिशा देखाएका थिए। मूलत: त्यसैको जगमा रहेर सन् १९८६ मा क्यानडाको अटाव शहरमा प्रथम विश्व स्वास्थ्य प्रवर्धन सम्मेलन आयोजना गरियो। त्यो सम्मेलनले स्वास्थ्यका सबै सामाजिक-आर्थिक निर्धारकहरूलाई सम्बोधन गर्ने, सहयोगी वातावरणमा स्वास्थ्य प्रणालीको व्यापक सुधार गरी समता र पहुँच तथा स्वास्थ्यमैत्री नीति मार्फत समाजलाई सशक्तीकरण गरेर मात्र आम समुदायको स्वास्थ्य रक्षा तथा प्रवर्धन गर्न सकिने बहुचर्चित धारणा सार्वजनिक गर्‍यो।

सन् १९८८ देखि विश्व स्वास्थ्य संगठन, युरोप क्षेत्रको अगुवाइमा ‘हेल्दी सिटी नेटवर्क’ खडा गरियो। उक्त नेटवर्क मार्फत युरोपका शहरहरूलाई स्वस्थ शहरको रूपमा विकास गरियो। नेटवर्कमा हालसम्म सयभन्दा बढी युरोपका शहरहरू आवद्ध भइसकेका छन्। विश्व स्वास्थ्य संगठन, दक्षिण-पूर्वी एशियाको पहलमा सन् २०२२ देखि दक्षिण-पूर्वी एशियन देशका शहरहरूलाई पनि हेल्दी सिटी नेटवर्कमा जोड्ने प्रयास भइरहेको छ।

सन् १९८६ पछि लगातार विश्व स्वास्थ्य प्रवर्धन सम्मेलन आयोजना भइरहेका छन्। यही क्रममा सन् २०१६ मा छिमेकी मित्रराष्ट्र चीनको सांघाईमा विश्वका १०० भन्दा बढी शहरका मेयर सम्मिलित सम्पन्न नवौं विश्व स्वास्थ्य प्रवर्धन सम्मेलन भयो। पछिल्लो समय लण्डन र केपटाउनमा सम्पन्न यस्तै सम्मेलनहरूले स्वस्थ शहर विकासबाट मात्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न सकिने घोषणा भएका छन्।

आम नगरवासीको स्वास्थ्य प्रवर्धन गर्दै विकसित स्वस्थ शहरमा स्वस्थ नागरिकको बसोबास सुनिश्चित गर्ने महाअभियानमा अग्रसर हुन ढिला गर्नुहुँदैन

ती सम्मेलनमा सहभागी मेयरहरू आफ्नो शहरका जनसमुदायको स्वास्थ्य रक्षा गर्न आवश्यक नीति, कानुन, प्रणाली, स्रोत तथा साधन व्यवस्थापन र परिचालनमा स्थानीय प्रमुखको हैसियतले राजनीतिक दायित्व तथा कार्यकारी भूमिका हुने कुरामा प्रतिबद्ध भएका थिए। विश्व स्वास्थ्य संगठनका पछिल्ला सार्वजनिक तथ्यांक अनुसार अहिले विश्वमा करिब ७४ प्रतिशत मानिसको विभिन्न नसर्ने रोगका कारण मृत्यु हुने गर्छ। जसमध्ये ८६ प्रतिशत मानिसको उमेर नपुग्दै मृत्यु हुने भयावह तथ्य रहेको छ।

बढ्दो शहरीकरण, वायु प्रदूषण, आरामदायी पेशा, अस्वस्थकर खानपिन तथा जीवनशैली, उकालो लागेको औसत आयु, कमजोर स्वास्थ्य साक्षरता, विश्वव्यापीकरण जस्ता कारणले व्यक्तिको एकल प्रयासले मात्र नसर्ने रोगको जोखिमबाट बच्न असम्भव भएको छ। बढ्दो शहरीकरणसँगै नेपाल लगायत विकासोन्मुख देशहरू समेत, सन् २०५० सम्म विश्वका लगभग दुई तिहाइ जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्ने प्रक्षेपण गरिएको छ।

यही बीचमा नेपालका धुलिखेल नगरपालिका र धरान उपमहानगरपालिकाले हेल्दी सिटीतर्फ अग्रसर हुँदै विश्व स्वास्थ्य संगठन, दक्षिण पूर्वी एशियाबाट आशयपत्र प्राप्त गरिसकेका छन्। अन्य केही नगरपालिका पनि इच्छुक देखिएका छन्।

हेल्दी सिटीको अभियान मार्फत नगर तथा शहरहरूले केवल बिरामीको उपचारमा मात्र आफूलाई सीमित नराखी शहरवासीलाई रोग लाग्नै नदिने प्रवर्धनात्मक कार्यमा जोड दिनु आवश्यक देखिन्छ। जस्तो; स्वास्थ्य मैत्री नगर नीति, सबै नगर नीतिमा स्वास्थ्य, स्वास्थ्य प्रवर्धनमैत्री पूर्वाधार, जोखिमयुक्त स्वास्थ्य व्यवहार र उपभोग्य वस्तुको नियमन, नियन्त्रण एवं कर वृद्धि, योग, कसरत, खेलकुद तथा मनोरञ्जनको लागि खुला ठाउँ तथा उपयुक्त पूर्वाधारको विकास गरिनुपर्छ ।

यस्तै खानेपानी, फलफूल, तरकारी, खाद्यपदार्थ एवं वातावरणको नियमित निगरानी, गुणस्तर परीक्षण, सचेतना शिक्षा मार्फत स्वास्थ्य साक्षरता, नियमित स्वास्थ्य परीक्षण, व्यक्तिगत स्वास्थ्य प्रोफाइल तथा भरपर्दो ट्रयाकिङ प्रणाली विकास, समुदायको सहभागितामूलक स्वास्थ्य स्याहार प्रणाली, स्वास्थ्य बीमा एवं सामाजिक सुरक्षा योजना मार्फत नगरका सबैको स्वास्थ्य स्याहारको प्रबन्ध गर्नु नगरको भावी कार्यदिशा हुनुपर्छ।

आम नगरवासीको स्वास्थ्य प्रवर्धन गर्दै विकसित स्वस्थ शहरमा स्वस्थ नागरिकको बसोबास सुनिश्चित गर्ने महाअभियानमा अग्रसर हुन ढिला गर्नुहुँदैन।

(पौडेल बागमती प्रदेश, हेटौंडाका स्वास्थ्य शिक्षा प्रशासक हुन्।)

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -